बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मधुमेहबारे यस्ता छन् १५ तथ्य

शनिबार, १८ कात्तिक २०७४, १२ : ४६
शनिबार, १८ कात्तिक २०७४

स्वामी ज्ञान मित्र  

आधुनिक युगमा मधुमेह रोग विश्वमै चुनौतीको रूपमा देखिएको छ । रोगीको संख्या बढ्ने क्रममा छ । विश्व स्वास्थ्य संगठनको सन् २०१४ को तथ्यांकअनुसार विश्वका ४२ करोडभन्दा बढी व्यक्ति यो रोगले पीडित छन् । रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुनु नै मधुमेह निम्तिने कारण हो । यो रोगबारे केही तथ्य यस्ता छन् :

१ मधुमेह तीन प्रकारका हुन्छन् । टाइप १ मधुमेहमा शरीरमा इन्सुलिन उत्पादन बन्द हुन्छ । यस्ता रोगीलाई इन्सुलिन चढाउनुपर्छ । यसलाई ‘इन्सुलिन डिपेन्डेट डाइबिटिज मेलिटस’ पनि भनिन्छ । मधुमेह रोगीमध्ये ५ देखि १० प्रतिशतलाई यस्तो खालको समस्या हुन्छ ।

२ टाइप २ मधुमेहमा इन्सुलिन उत्पादन भए पनि शरीरका कोषिकाले इन्सुलिनमाथि कुनै प्रतिक्रिया गर्दैनन् । यसलाई ‘नन इन्सुलिन डिपेन्डेट डाइबिटिज मेलिटस’ भनिन्छ । मधुमेह रोगीमध्ये ९० देखि ९५ प्रतिशतमा यो टाइपको समस्या हुन्छ । सन्तुलित भोजन र व्यायामबाटै टाइप २ मधुमेहलाई ८० प्रतिशतसम्म नियन्त्रण गर्न सकिन्छ ।

३ ‘गेस्टेसनल’ पनि अर्को टाइपको मधुमेह हो । यस्तो मधुमेह गर्भवती महिलालाई बढी हुन्छ । गर्भावस्थामा रगतमा ग्लुकोजको मात्रा बढ्नाले स्त्रीलाई ‘गेस्टेसनल डाइबिटिज’ हुन्छ । यो पछि गएर टाइप २ मधुमेहमा परिणत हुने खतरा हुन्छ ।

४मधुमेह कुनै पनि उमेर समूहका व्यक्तिलाई हुन सक्छ । बच्चालाई पनि हुन सक्छ । यो नियन्त्रणमा नराखिए हृदयाघात, अन्धोपन, अल्सर, स्ट्रोक र मिर्गौला नष्ट हुन सक्छ ।

५मधुमेह आनुवंशिक रोग हो । परिवारमा कसैलाई मधुमेह छ भने यो अर्को सन्ततिमा सर्न सक्छ । तर, यो सरुवा रोग होइन ।

६ स्वस्थ मानिसमा भोजनपूर्व रगतमा ग्लुकोजको मात्रा ७० देखि १०० एमजी÷डिएल हुनुपर्छ । भोजनपछि १२० देखि १४० एमजी÷डिएल हुनु सामान्य मानिन्छ । ग्लुकोजको मात्रा योभन्दा बढी भए मधुमेह रोग प्रारम्भ भएको मान्नुपर्छ । 
७ अत्यधिक तिर्खा र भोक लाग्नु, शरीरको तौल घट्नु, थकान एवं कमजोरी अनुभव गर्नु, शरीरमा भएका घाउ निको हुन धेरै समय लाग्नु, बारम्बार पिसाब आउनु आदि मधुमेहका लक्षण हुन् ।

८ मधुमेहका रोगीले धूम्रपान, मद्यपान, मिठाईजन्य गुलिया पदार्थ, क्रिम, जंकफुड, मैदा, बाक्लो दूध, चिसो पेय पदार्थहरू सेवन गर्नु हुँदैन । नुन, मासु, माछा, अन्डा, चिया, कफी, नरिवल, सी फुडजस्ता खाद्य पदार्थ सेवन कम गर्नुपर्छ । करेला, मेथी, जामुन, गेडागुडी, ब्रोकाउली, अनार, ब्ल्याकबेरी, स्याउ, अन्जिर, किवी तथा अमिलो प्रकृतिका फल, काँक्रो, सलादपात, प्याज, लसुन, मुला, गोलभेँडा, सागपात, काँचो केरा, गहुँ आदि खानु राम्रो हुन्छ । खासगरी रेसायुक्त खानेकुराले फाइदा गर्छ ।

९ भारतमा ७ करोड ५० लाखभन्दा बढी मधुमेहका रोगी छन् । चीनमा विश्वमै सबैभन्दा बढी ९ करोड व्यक्ति यो रोगबाट पीडित छन् । अमेरिकामा २ करोड मधुमेहरोगी छन् । प्रत्येक १० सेकेन्डमा मधुमेहका कारण एकजनाको ज्यान जान्छ ।

१०योगासनले मधुमेह नियन्त्रण गर्छ । सुखासन, अर्धमत्स्येन्द्रासन, ताडासन, मत्स्यासन र शवासन लाभकारी हुन्छ । कपालभाती, अनुलोम विलोम, शक्ति चालिनी प्राणायामले पनि नियन्त्रण गर्छ ।

११ सन् १९२१ मा क्यानडाका डा. फ्रेडेरिक बेन्टिङ र चाल्र्स एच बेस्टले प्यान्क्रियाटिक एक्सट्र्याक्टबाट इन्सुलिन हर्मोन निर्माण गरेका थिए । बेन्टिङले कुकुरलाई एउटा इन्जेक्सन लगाए, जसले कुकुरको रगतमा बढेको चिनीको स्तर सामान्य भयो । यो खोजका लागि उनीहरूले नोबेल पुरस्कार पनि पाए । सुरुसुरुमा गाई, सुँगुरजस्ता जनावरहरूबाट इन्सुलिन निर्माण गरिन्थ्यो ।
१२ इन्सुलिनको पहिलो प्रयोग टाइप १ मधुमेहपीडित १४ वर्षीय लियोनार्ड थाम्पसनमाथि ११ जनवरी १९२२ मा भएको थियो । इन्सुलिनकै कारण उनी मृत्युको मुखबाट जोगिएका थिए ।

१३ एलोप्याथिक चिकित्सा विज्ञानसँग मधुमेहलाई जरैबाट समाप्त पार्ने उपाय छैन, रोकथामका उपाय मात्र छन् । औषधिले रगतमा ग्लुकोजको मात्रा सामान्य कायम राख्न सहयोग गर्छ । टाइप १ का रोगीले बाहिरबाट शरीरमा इन्जेक्सनका माध्यमले इन्सुलिन पूर्ति गर्नुपर्छ । दिनमा कैयौँपटक लिनुपर्ने हुन सक्छ । यसरी लिइएको इन्सुलिनको मात्रा ठिक्क हुनुपर्छ । इन्सुलिनको मात्रा बढी भए रगतमा चिनीको स्तर सामान्यभन्दा घट्न सक्छ । यस्तो हुनुलाई हाइपोग्लाइसेमिया भनिन्छ । यसको तात्कालिक उपचार चकलेट खाएर हुन्छ । तर, रगतमा चिनीको मात्रा धेरै कम भएमा रोगी ‘कोमा’मा पुग्न सक्छ । यसलाई ‘इन्सुलिन सक’ भनिन्छ । यो टाइपका रोगीले जीवनभरि नै इन्सुलिन लिनुपर्ने हुन्छ । टाइप २ का रोगीले तौल घटाएर, डाइट कन्ट्रोल गरेर, व्यायामबाट रोग नियन्त्रण गर्न सक्छन् । यस टाइपका रोगीले प्रायः औषधि (ट्याब्लेट) सेवन गरेर रोग नियन्त्रणमा राख्न सक्छन् । औषधिले प्यान्क्रियाजलाई सक्रिय गराएर इन्सुलिनको उत्पादनमा वृद्धि गराउँछ । एलोपेथिक चिकित्सामा टाइप १ का रोगीझैँ टाइप २ का रोगीले पनि जीवनभर औषधि सेवन गर्नुपर्दछ ।

१४ महिलालाई मधुमेहका कारण सेक्सप्रति अरुचि, मासिक चक्रमा गडबडी, डिम्ब उत्पादनमा ह्रासको समस्या हुन्छ ।

१५ टाइप १ मधुमेहका रोगीले इन्जेक्सनबाट इन्सुलिन लिने बाध्यतामा सुधार आएको छ । ‘इन्हेल्ड इन्सुलिन’ प्रयोग गर्न सक्छन् । कैयौँ वैज्ञानिक इन्सुलिन चक्की बनाउने प्रयासमा लागेका छन् । यसलाई जिब्रोमुनि राखेर प्रयोग गर्न सकिन्छ ।  

नयाँ पत्रिकाबाट

 

                                                       

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप