शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्तनपानकै लागि छाड्नुपर्दैन आमाले जागिर

शनिबार, १८ कात्तिक २०७४, १२ : ३५
शनिबार, १८ कात्तिक २०७४

डा. रामहरि चापागाईं बालरोग विशेषज्ञ कान्तिबाल अस्पताल

जागिरे महिला हुनुहुन्छ ? यो अवस्थामा बच्चा जन्माउनुभयो । एक–दुई महिनासम्म त जुनकुनै अफिसमा पनि छट्टी मिलिहाल्छ । तर, यसपछि पनि बच्चाको केयर त खुबै गर्नुपर्छ । तर, केही तारतम्य मिलाउन सक्नुभयो भने दूध चुसाउने समस्याकै कारण भने जागिर छाड्नुपर्दैन । घरमा बच्चाको केयर गर्ने वैकल्पिक कोही व्यक्ति छ भने आफ्नै दूधको व्यवस्था गरेर दिनभर अफिस या काममा निस्किन सक्नुहुन्छ :

६ महिनामुनिका बच्चालाई आमाको मात्रै दूध चुसाउनुपर्छ । तर, जागिरे आमाले बच्चालाई दूध चुसाउनुपर्ने बाध्यताका कारण जागिर छाड्ने जोखिम पनि मोल्नुपर्दैन । जागिरको बहानामा आमाको बाहेक गाई–भैँसी या प्याकेटको दूध पिलाउनु पनि पर्दैन ।

कामकाजी महिलाले बच्चाको हेरचाह गर्ने एकजना वैकल्पिक व्यक्ति खडा गर्न सके आफ्नै दूध पिलाउने सवालमा समस्या नै पर्दैन । अधिकांशलाई अझै पनि थाहा छैन कि आमाको दूध दुहेर बच्चालाई दिनभर खुवाउन सकिन्छ ।

दुहेर राखेको चार घन्टासम्म दूध त्यत्तिकै खुवाउँदा कुनै फरक पर्दैन । योभन्दा बढी समय या दिनभरका लागि हो भने फ्रिजमा राखेर खुवाउन सकिन्छ ।

दुहेर फ्रिजमा राखेको आमाको दूध बच्चालाई आवश्यक पर्दा फ्रिजबाट निकालेर केही समय बाहिरी वातावरणमा राखेपछि खुवाउन सकिन्छ । यो विकल्प छाडेर आमाबाहेक अन्य स्रोतको दूध पिलाई बच्चाको स्वास्थ्यमाथि खेलबाड गर्ने गल्ती नगर्नुहोस् ।

६ महिनामुनिका बच्चालाई २४ घन्टामा कम्तीमा आठपटक दूध पिलाउनुपर्छ । बच्चाले भोक लागेको महसुस गर्छ भने योभन्दा बढीपटक पनि खुवाउन आवश्यक पर्छ ।

बच्चाले खानका लागि झगडा गर्छ कि गर्दैन भन्ने ख्याल गरेर दूध पुगे–नपुगेको पत्ता लगाउन सकिन्छ । बच्चाले २४ घन्टामा पाँच पटकभन्दा बढीपटक पिसाब फेर्नु पनि दूध पुगेको संकेत हो ।

नयाँ पत्रिकाबाट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप