शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: कालमासको रूख

शनिबार, १८ कात्तिक २०७४, ०९ : ०२
शनिबार, १८ कात्तिक २०७४

एकै ठाउँ अनेकौँ फल पाइने
यो कालमासको रूख हो 

शताब्दीको उचाइ काखमा
धोद्रे रूखको टोड्कामा
एउटा विचारको टुसा
यसरी पलायो कि,
पछि आएर कालान्तरमा
कालमासको झ्याङ बन्यो ।

कसै–कसैले नचिनेर
यसलाई भटमास भने
कालोमास पनि भने
मस्याङ, मुङ्ग, बदाम, बोडी 
अनेक–अनेक नै भने 
एकै ठाउँ अनेकौँ फल पाइने
यो कालमासको रूख हो ।


रूखको टोड्कामा
यस्तो अनौठो अनाज,
फलहरू देखिए
एङ्गेल्सको एेंसेलु
स्टार्लिनको स्ट्राबेरी 
लेनिनको लौका
माओको मकै
यी सबै–सबै राता रङ्गका थिए
त्यसको सुदूर हारमा
चाउएन लाइको चाउचाउको रूख थियो
चेको चेरी लहरा छुट्टै मनमोहक थियो 
एकै ठाउँ अनेकौँ फल पाइने
यो कालमासको रूख हो ।

एक दिन यसको चर्चा
विश्वभरी पुग्यो
सर्वहारा वर्गको
किसान, मजदुरको
सर्वप्रिय रूख बन्यो ।
नेपालमा पनि पुग्यो
नेपालमा रूख पुग्न सकेन
तर,
रूखको फोटोकपी पुग्यो 
एकै ठाउँ अनेकौँ फल पाइने
यो कालमासको रूख हो ।

नेपालमा,
रूखको फोटोकपी 
कसैकसैले लौका हो भने,
कसैकसैले मकै हो भने,
कसैकसैले स्ट्राबेरी हो भनेका छन्,
कसैकसैले केही पनि होइन भनेकाछन्,
एकै ठाउँ अनेकौँ फल पाइने
यो कालमासको रूख हो ।

यो के हो ?
कसैलाई के थाहा ?
कसैलाई के थाहा भएन ?
रूखको हाँगा–हाँगा
जरा–जरा, पात–पात
बिहानै घाम जन्मेर पनि
समय समात्न दौडिरहेछ
बेमतलबीहरू
दिनहुँ
एकापस लडिरहेछन् 
फुटिरहेछन्
टुक्रिरहेछन्
बस् !

-मिलनकान्छा किराँती

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप