बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा पर्यटकलाई गिज्याउँदै बाटाहरू

सोमबार, १३ कात्तिक २०७४, ११ : ५५
सोमबार, १३ कात्तिक २०७४

 वासुदेव पौडेल 

पोखरा - ठाउँठाउँमा भत्के बिग्रेका बाटा, खोलामा धरापपूर्ण पुल, यसका बाबजुत पनि यतिबेला स्वदेशी एवं विदेशी पर्यटकको लर्को छ अन्नपूर्ण क्षेत्रमा । 

सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगको अन्नपूर्ण प्रथमको आरोहणसँगै चासो र चर्चा बनेको अन्नपूर्ण क्षेत्रमा पदयात्राकै शुरुवातको समय हेर्ने हो भने पनि ५१ वर्ष नाघिसकेको छ । 

समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरमा पहिलोपटक विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले सन् १९६६ मा पदयात्रा गरेको समाजसेवी एवं अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ का संयोजक ललित गुरुङले बताउनुभयो । 

पदयात्रा शुरु भएको यति लामो समय बितिसक्दा पनि अन्नपूर्ण क्षेत्रमा पदमार्ग अझै व्यवस्थित बन्न नसकेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार गत वर्षको तथ्यांकअनुसार अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्ने विदेशी पर्यटकको संख्या २८ हजार ५३१ रहेको थियो । 

पछिल्ला वर्षमा नेपालीमा बढ्दै गएको घुमफिर संस्कृतिको विकासका कारण प्रत्येक वर्ष उक्त क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी पर्यटकको संख्या पनि ह्वात्तै बढेको छ । 

उक्त क्षेत्रमा पदयात्रा गर्नका लागि विदेशी पर्यटकले पदयात्री सूचना व्यवस्थापन प्रणाली शुल्क ९टिम्स० बुझाउने गरे पनि पदयात्रा मार्गका बिग्रे भत्केका बाटाहरू बन्न नसकेको स्थानीय होटल व्यवसायी बताउँछन् । 

नेपाल पर्यटन बोर्डले नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० सँगको सहकार्यमा टिम्सबापत विदेशी पर्यटकले तिर्ने रकम पदयात्राकै क्षेत्रमा खर्चने भनिए पनि पछिल्ला दुई वर्ष नेपाल पर्यटन बोर्ड र टानबीच देखिएका व्यावहारिक समस्याका कारण उक्त रकम खर्च हुन सकेको छैन । 

नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाका अनुसार तेस्रो मुलुकबाट आउने विदेशी पर्यटकले व्यक्तिगतरुपमा पदयात्रा गर्दा रु दुई हजार, एजेन्सीमार्फत समूहगत पदयात्रा गर्दा प्रतिव्यक्ति रु एक हजार टिम्सबापतको शुल्क बुझाउँछन् । 

त्यस्तै सार्क मुलुकबाट आउने पर्यटकले समूहगतरुपमा प्रतिव्यक्ति रु ३०० र व्यक्तिगत रुपमा रु ६०० बुझाउने गर्छन् । 

“स्थानीय तहसमेत सक्रिय भइसकेका अवस्थामा देखिएका व्यावहारिक समस्या हल गर्दै नेपाल पर्यटन बोर्ड र टानले स्थानीय तहसँग सहकार्य गर्नु आवश्यक छ”, थपलियाले भन्नुभयो, “बिगे्रका पदमार्गको मर्मत सम्भारका साथै अन्य आवश्यक पूर्वाधार निर्माण तथा पदयात्रा सम्बद्ध क्षेत्रमा क्रियाशील मजदुर आदिका लागि धेरै काम गर्न सकिन्छ ।” 

पदयात्राका लागि विदेशी पर्यटकले टिम्स शुल्क तिर्ने गरेको र उक्त क्षेत्रकै संरक्षणका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० रहे पनि बिग्रे भत्केका बाटाहरू स्थानीय होटेल सञ्चालकले सहयोग जुटाएर मर्मतसम्भार गर्नुपरेको स्थानीय समाजसेवी एवं संरक्षण व्यवस्थापन उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङले बताउनुभयो । 

“अन्नपूर्ण पदमार्ग क्षेत्रमा हिमालबाट आएका धेरै खोला तथा नदी रहेका छन्”, उहाँले भन्नुभयो, “तिनीहरूका कारण वर्षेनी पहिरो जाने गरेका कारण पदमार्गका बाटा बिग्रने भत्कने गरेका छन्, यिनीहरूको मर्मतमा राज्य तथा अन्य सम्बन्धित निकायको खासै ध्यान पुगेको छैन ।” 

पदयात्रा मार्गमा पुग्ने जो कोही पर्यटकलाई बिग्रे भत्केका बाटाले गिज्याइरहेको उहाँले बताउनुभयो । 

पदमार्ग क्षेत्रको विकास तथा विस्तारलाई अन्नपूर्ण आफ्नो प्राथमिकतामा राखेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताउनुभयो । 

“अन्नपूर्ण पदमार्ग क्षेत्रमा ठाउँ ठाउँका बाटा भत्केका छन्”, उहाँले भन्नुभयो, “यस मार्गमा पर्ने १४ वटा काठे पुल, तीनवटा फलामे पुलका साथै विभिन्न ठाउँमा पहरो उकासेर बनाइएका बाटा तत्काल मर्मत गर्नुपर्ने देखिएको छ ।” 

यी पुल तथा बाटाहरूको दीर्घकालीन व्यवस्थापनका लागि यस क्षेत्रका पर्यटन व्यवसायीसँग तत्काल छलफल गरी समस्या समाधानको पहल गरिने बताउँदै उहाँले यस वर्ष घोरेपानीदेखि छोम्रुङसम्मको पदयात्रा मार्ग व्यवस्थित गर्न रु तीन लाख बजेट छुट्याइएको जानकारी दिनुभयो । 

पछिल्लो समयमा स्वदेशी एवम् विदेशी पर्यटकको अत्याधिक चाप बढ्दै गएका अवस्थामा पर्यटकलाई गिज्याउने यहाँका बाटाको तत्काल मर्मतसम्भार गर्न आवश्यक देखिएको स्थानीयवासीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप