बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निकट भविष्यमै नेपालमा उथलपुथल ल्याउँछौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको अन्तर्वार्ता

आइतबार, १२ कात्तिक २०७४, ११ : ५०
आइतबार, १२ कात्तिक २०७४

‘यो राज्यलाई हामी मान्दैनौँ, त्यसैले यसविरुद्ध लड्छौँ’

हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जनयुद्धका दिनहरूमा प्रचण्डको निकै प्रशंसा गर्नेमध्येका एक हुन् । तर उनै विप्लव आज प्रचण्डका खरो आलोचक भएका छन् । जनयुद्ध सुरु गर्ने दिनहरूमा गरिएको अठोटलाई प्रचण्डले बीच बाटोमै छोडेको भन्दै त्यो ‘अधुरो क्रान्ति’लाई आफूले पूर्णता दिने बताएका उनी अर्धभूमिगत शैलीमा पार्टी गतिविधि अगाडि बढाइरहेका छन् । राज्यको प्रमुख सुरक्षा निकायले उनको पार्टीलाई मुख्य सुरक्षा चुनौती भन्दै उनका पार्टीका विभिन्न गतिविधिमा रोक लगाइरहेको सन्दर्भमा उनको पार्टीले के गरिरहेको छ त भन्ने कुरा रातोपाटीको डिस्क्लोजर मार्फत जान्न चाहेका छन् युग पाठकले । पाठकसँगै रहेका नरेश ज्ञवालीले पाठकहरू माझ विप्लवको अन्तरवार्तालाई सम्पादनसहित प्रस्तुत गरेका छन् ।  

मानिसहरूमा तपाईंले साँच्चै क्रान्ति गर्न खोजेको हो कि होइन भन्ने चासो छ ?
क्रान्ति हाम्रो चाहनाभन्दा पनि आजको नेपालको वस्तुगत अवस्था हो । यो कुरालाई सबै समाजशास्त्री, विश्लेषक, राजनीतिक नेता तथा कार्यकर्ताले स्वीकार गरेको कुरा हो । त्यो आवश्यकतालाई नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो पार्टीको दृष्टिकोण हो । 

तर, दोस्रो जनआन्दोलनपछि एकथरीको भनाइ के छ भने अब राजनीतिक क्रान्तिको समय सकियो र आर्थिक क्रान्तिको समय आरम्भ भयो ?
यो आफ्नो आदर्श, विचार र मान्यताबाट स्खलित हुँदै विचलित भएका नेताहरूको तर्क मात्र हो । त्यो तर्कलाई नेपाली समाजले, समाजशास्त्रीले, राजनीतिक विश्लेषकले तथा राजनीतिमा समर्पित नेता, कार्यकर्ताले पनि स्वीकार गर्दैनन् । वास्तविकता त्यो होइन । त्यो विषयलाई विषयान्तर गर्ने कुरा मात्र हो । विचलन, विसर्जन र आफ्नो असफलतालाई ढाकछोप गर्न अगाडि सारिएकोे तर्क मात्र हो । 

तपाईंको विचारमा क्रान्तिको आवश्यकता र त्यो निर्माण हुने ठाउँ आज कहाँ छ त ?
क्रान्तिको घनत्व र त्यसको आवश्यकतालाई मापन गर्ने भनेको सामाजिक, राजनीतिक र राज्यको संरचनामा हो । राज्यसँग सम्बन्धित सम्पूर्ण अङ्गहरू हेर्नुभयो भने परिवर्तन नै भएन भन्ने त होइन । केही परिवर्तन अवश्य भयो तर त्यो पूर्ण भएन । न त सामाजिक रूपान्तरणले, न त सबै उत्पीडित वर्ग समुदायले गुणत्मक ढङ्गले परिवर्तनको महसुस गर्न पाए । समाज र राज्यको संरचना हेर्नुभयो भने स्पष्ट के देखिन्छ भने ६०–७० वर्ष पहिलेको संरचनामा अहिले पनि गुणात्मक परिवर्तन भएकै छैन । यो सबैले मानेको कुरा हो । त्यसपछि कानुन, अर्थतन्त्र अथवा सुरक्षा प्रणाली हेर्नुभयो भने पनि कतै कुनै परिवर्तन भएको छैन । यसले के देखाउँछ भने यो असफल आन्दोलन हो र यसले पूर्णता खोजेको छ । त्यही अपूर्णतालाई पूर्णता दिन क्रान्ति आवश्यक छ । 

जनयुद्ध र दोस्रो जनआन्दोलनमा जहाँ तपाईंहरू पनि हुनुहुन्थ्यो त्यसको बलमा नयाँ संविधानमा समावेशिता, समानुपातिकताको सुनिश्चितता गरियो, यहीँबाट देश सङ्घीयतामा पनि गयो । भन्नुको अर्थ राज्यका प्रणालीमा नयाँपन ल्याउने प्रक्रिया त सुरु भयो नि ?
अघि मैले भने नि, एक तहसम्म त अयो । तर क्रान्तिको दृष्टिकोणबाट यो परिवर्तन अन्तिम क्रान्ति होइन । सुधार पक्कै हो । सुधारत स्वतः पनि हुन्छ । तर जनयुद्धको नेतृत्व गरेको पार्टी र आन्दोलनका हिसाबले यो त्यसको पूर्णताको क्रान्ति होइन । क्रान्तिको अपूर्णताले गर्दा राज्यको अङ्गमा आंशिक परिवर्तन त भए, तर त्यसले आमूल परिवर्तन पाएन । जसले गर्दा नेपाली समाज फेरि पछाडि फर्केको छ र एउटाखाले अन्तरविरोध, अराजकता, असन्तुष्टिमा रुमल्लिएको छ । जनयुद्धको प्रस्तानविन्दु, प्रवेश र विकासको चरणसँग यसको सम्बन्ध छैन । 

के कुरा साँचो हो भने प्रचण्डप्रति मेरो मोह थियो । जनयुद्धका दिनहरूमा भावनात्मक र विचारधारात्मक कोणबाट प्रचण्ड बन्न नचाहने को मान्छे थियो र ? प्रचण्ड भन्ने मान्छेको छविलाई तपाईंले एकैछिन किनारामा राख्नुभयो भने त्यो नाम भनेको आन्दोलन र सङ्घर्षको उत्कर्ष हो । तर आज प्रचण्ड बन्ने मोह छैन ।

शान्ति प्रक्रियामा प्रवेश गरेर अगाडि बढ्दै गर्दा यो कुरा तपाईंहरूलाई थहा थिएन ?
हामीलाई थाहा थियो । थाहा भएरै लेखेर, छलफल, बहस गरेर यो–यो समस्या आउँछ र त्यसलाई यसरी हल गर्ने भनेर टुङ्गो लगाएर हामी आएका हौँ । त्यसबेलाको चुनुवाङ बैठक भन्ने सायद तपाईंहरूलाई थाहा छ । प्रचण्डजीले पेश गरेको दस्तावेज अझै पनि हामीसँग छ । हामीले त्यति नै बेला यसका सकारात्मक–नकारात्मक कुराको विश्लेषण गरेर अगाडि बढेका हौँ । हामीले त्यहाँ गणतन्त्रसम्म काङ्ग्रेस–एमालेसँग जाने र जनयुद्धको समापन चाहिँ राज्यसत्तालाई परिवर्तन गर्ने ठाउँमा पुगेर मात्र हुन्छ भनेर स्पष्ट थियौँ । त्यसपछि मात्र नेपालमा स्थिरखालको राज्य निर्माण हुन्छ भनेका थियौँ । त्यो वर्ग, विचार र संरचनाको दृष्टिकोणबाट नौलो जनवाद हुँदै वैज्ञानिक समाजवादसम्म पुगेर मात्र पुँजीवाद र संसदीय व्यवस्था अन्त्य हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा थियो । ०४७ देखि ०५२ सालसम्मको हाम्रो बहसले जन्माएको सार तत्व भनेकै नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो । तर प्रचण्डजी, बाबुरामजी फर्किनुभयो । 

प्रचण्ड, बाबुरामले यो कुरा नबुझेर यहाँ आइपुग्नु भएको हो त ? तपाईंको भनाइमा त उहाँहरूमा ठूलो विचलन देखियो होइन ?
विचलन हो भन्नेमा उहाँहरू आफै सहमत हुनुहुन्छ । प्रचण्डले धेरै पटक जोकमा, ठट्टामा, मान्छे हसाउँन भन्नु हुन्छ कि साँच्चै आफैलाई महसुस भएर भन्नु हुन्छ खोई तर भन्न चाहिँ भनिरहनु हुन्छ कि म बिग्रेकै हो । म फर्केकै हो । अब सुध्रिन्छु । तर यो भन्दाभन्दै उहाँले दुई–चार दर्जन पटक भनिसक्नु भयो । बाबुरामजी त अब जनयुद्धकै समीक्षा गर्नुपर्छ भनेर डाँडै काटेर हिँडिसक्नुभयो । 

एक जना नेताको हातमा सबै शक्ति केन्द्रित गरेपछि त्यो नेताले चाहेको दिन सिङ्गै पार्टीलाई विचलनमा लैजान सक्ने रहेछ होइन त ? यो बारेमा किन पहिलै विचार गरिएन ?
नेतृत्वलाई शक्ति चाहिन्छ तर नेतृत्व इमानदार हुनुपर्छ । नेतृत्व त्यसै बन्दैन त्यसको क्षमताले बन्छ र नेतृत्व त्यसै विचलित हुँदैन, त्यसको कमजोरीले हुन्छ । राम्रो भइरहँदा त्यो विश्वकै एउटा अधिकार प्राप्त नेतृत्वमा दरिन्छ । कमजोरीहरू हावी हुँदा उसले आफ्नो इतिहास अन्त्य गर्छ । विश्वमा यस्ता दृष्टान्तहरू छन् । अहिले उहाँहरूको हकमा पनि त्यही हो । त्यसैले प्रचण्डजीलाई बढी अधिकार दियौँ कि भन्ने मलाई लाग्दैन । क्रान्तिको नेतृत्व गर्ने नेतृत्वलाई त्यति विश्वास गर्नैपर्छ । त्यो विश्वास प्रचण्डजीलाई नभएर पार्टी, आन्दोलनलाई गरेको विश्वास हो । त्यसको दुरूपयोग गर्नुभएन । भष्मासुर हुनु भएन । बरदान लिनुसम्म लिने, बरदान पाएपछि आफ्नै थाप्लोमा हात राख्ने । यो नकारात्मक कुरा हो ।

नेपाल कम्युनिस्ट पार्टीको सबै अधिकार तपाईंमा केन्द्रित गर्ने गरी अगाडि बढ्दा भोलि तपाईंमा विचलन आउँदैन भन्ने के ग्यारेन्टी छ ?
यसको ग्यारेन्टीका लागि मैले तीनवटा कुरा भनेको छु । पहिलो, यो मेरो मात्र कुरा होइन । यसलाई नेपाली क्रान्तिकारी आन्दोलनको केन्द्रीकरणको रूपमा बुझौँ । त्यो अहिले सानो, ठूलो होला, आफ्नो ठाउँमा छ । यसमा क्रान्तिकारी समुदाय, कमरेडहरू, कमिटी छ जहाँ म पनि छु । भनेपछि यो सबै निकायबाट ‘चेक’ गर्नुपर्छ । दोस्रो, यसमा हामीले छलफल बहस गरेका थियौँ तर यो समस्या हामीले सोचेको भन्दा तीव्रतामा आयो । मैले पहिलो पटक ०६५ को बालाजु बैठकमा यो कुरा उठाएको थिएँ । त्यसबेला मैले कार्यशैलीमा कुरा उठाएको थिएँ । मानिसहरूले उचाल्ने पछार्ने, घिसार्ने गर्छन् तर पनि हामी त्यहाँ जानु हुँदैन र सचेततापूर्वक पाइला चाल्नुपर्छ भन्ने हाम्रो कुरा थियो । 

तेस्रो, कार्यदिशा हुँदै विचारमा बहस गरेर हामी अल्गियौँ । जे–जे कुराले विचलन देखापर्छ, हामीले त्यो छिचोलेर आएका छौँ । म दाबीका साथ भन्छु, हामी त्यता जान चाहेनौँ । त्यो सुविधा पनि उपलब्ध थियो । तर हामीलाई के लाग्यो भने हाम्रो त्यो अवसर र स्वतन्त्रता जनताको विरुद्धमा छ । यत्ति अवसरका निम्ति नेपाली जनतालई हामीले धेरै ठूलो बलिदानको बाटोमा हिँडाउनु हुँदैन्थ्यो । त्यो गलत कुरा हो । चौथो, भौतिक कुराले पनि विचलन आउन सक्छ । त्यसका लागि पार्टी, कमिटी, नेता, कार्यकर्ता दक्ष हुनुपर्छ । अध्ययन गर्नुपर्छ । उनीहरू सङ्गठनात्मक ढङ्गले मात्र होइन कि वैचारिक ढङ्गले नै तयार हुनुपर्छ । त्यस्तो भयो भने विचलनलाई थेग्न सकिन्छ । 

हामीले सीधा र स्पष्ट शब्दमा राज्यसँग लड्ने हो भनेका छौँ । यो कुरा हामीले बाहिरै भनेका छौँ र यो कुरा म यहाँ पनि भन्छु । यो राज्यलाई हामी मान्दैनौँ । यो जनविरोधी, प्रगतिविरोधी पुँजीवादी राज्य हो । पुँजीवादी पनि कस्तो भने दलाल पुँजीवादी राज्य । दिमागमा कमिसन खाने र भोगविलास गर्नेबाहेक केही छैन । त्यसैले हामी यसको विरुद्ध लड्छौँ । लड्दा घटनाक्रम कसरी जान्छ, त्यो राज्यसँग सम्बन्धित कुरा हो ।

तपाईंलाई दुईवटा आरोप छ । पहिलो, प्रचण्ड बन्न खोज्यो । दोस्रो, फेरि ०५२ सालकै जनयुद्ध दोहर्याउन थाल्यो, जुन अब कसरी सम्भव हुन सक्ला ?
निकै महत्वपूर्ण कुरा उठाउनु भयो । के कुरा साँचो हो भने प्रचण्डप्रति मेरो मोह थियो । जनयुद्धका दिनहरूमा भावनात्मक र विचारधारात्मक कोणबाट प्रचण्ड बन्न नचाहने को मान्छे थियो र ? प्रचण्ड भन्ने मान्छेको छविलाई तपार्इंले एकैछिन हटाउनुभयो भने त्यो नाम भनेको आन्दोलन र सङ्घर्षको उत्कर्ष हो । माओलाई हामी आफैले देखेको होइन । सँगै बसेर फोटो खिचेको पनि होइन । तर माओको योगदानबाट लाखौँ–करोडौँ मानिसहरू प्रेरित भए । कयौँ यस्ता गुमनाम माओहरू पनि जो माओ बन्न चाहँदा चाहँदै इतिहासको पानामा पटोक्षेप भए । माक्र्स, लेनिनलाई हामी आफैले भेटेको होइन । भन्नुको अर्थ एउटा आदर्शले कुनै न कुनै रूपले छोएको हुन्छ । तर आज प्रचण्ड बन्ने मोह छैन ।

हामी एउटा क्रान्तिको नेतृत्व गर्न चाहने पात्रचाहिँ अवश्य हौँ । तपाईंले दोस्रो जे कुरा सोध्नुभयो त्यसमा हामीले के भनेका छौँ भने ०५२ सालदेखि ०६२ सम्मको जनयुद्ध उत्कर्ष, विजयतिर गैरहेको नेपाली आन्दोलनकै इतिहासको सबैभन्दा उत्कृष्ठ सर्वोच्च आन्दोलन हो । त्यसलाई कसैले ढाकछोप गर्न सक्दैनन् । त्यो माओ र पेरुको पछिको ठूलो थियो । तर प्रचण्डजीहरू फर्किनुभयो । फर्किनुको कारण जनयुद्धको दबाब पनि हो । जनयुद्धमा आएका चुनौतीहरूलाई उहाँहरूले उचाइमा उठेर निष्कर्षतर्फ लान सक्नुभएन । उहाँहरूले जनयुद्धको राजनीतिक र सैन्य रणनीतिको ठीक समायोजन गर्न नसक्दा फर्किनुपर्यो । त्यसमा पनि दुई कारण छन् । पहिलो, उहाँहरूभित्रको आत्मिक विचलन । उहाँहरू तामझाम, सुविधा, चमकदमकबाट प्रभावित हुनुभयो र त्यसलाई छिचोल्न सक्नुभएन । दोस्रो, वस्तुगत ढङ्गले विश्वमा देखा परेको जटिलता र आएको परिवर्तनमा सिद्धान्त र रणनीति विकास गर्न नसक्नु । 

यसमा हामीले के भनेका छौँ भने अब माओको दीर्घकालीन जनयुद्ध अथवा लेनिनले प्रयोग गर्नुभएको सहरी विद्रोहबाट मात्रै क्रान्ति सम्पन्न हुँदैन् । त्यस कुरालाई समाजले र विरोधीको नयाँ रणनीतिले पनि पछाडि छोडी सकेको छ । त्यसैले अब क्रान्ति सम्पन्न गर्न यो दुवैबाट माथि उठेको राजनीतिक कार्यदिशा र सैन्य रणनीति चाहिन्छ । त्यसैलाई हामीले एकीकृत जनक्रान्ति भनेका छौँ । क्रान्तिसम्भव छ तर पुरानै तरिकाले होइन, आजको आवश्यकता अनुरूप । क्रान्तिलाई नयाँ उचाइमा उठाउने कुरा महत्वपूर्ण हो । 

तपाईंहरूले एकीकृत जनक्रान्ति भनेको दुई वर्ष भयो तर के गर्दै हुनुहुन्छ भन्ने अझै पनि मानिसमा अस्पष्टता छ । साँच्चै तपाईंहरू के गर्दै हुनुहुन्छ ?
यसमा अलिक स्पष्टता पनि छ र अस्पष्टता पनि छ । तपाईंले भनेको दुवै कुरा हो । अस्पष्टता यिनीहरूले लड्ने तरिका के हो भनेर होला । यिनले भनेको एकीकृत जनक्रान्ति ०५२ सालकै जस्तो गुराँसको पाखामा पुग्ने खालको हो कि भन्ने पनि मानिसहरूमा होला । अथवा यिनले सहरमै गड्याङगुडुङ गर्न खोजेका हुन् कि भन्ने पनि होला । तर यसका बाबजुद एउटा स्पटता पनि होला । मलाई लाग्छ हामले संसदीय व्यवस्था अस्वीकार गर्छौँ भन्नेमा आजको पुँजीवादी व्यवस्था अस्वीकार गर्छौँ भन्ने कुरामा फेरि स्पष्टता नै होला । 

स्पष्ट छैनन् भन्नेमा पनि दुइटा कुरा छन् । एउटा साँच्चै अन्तत्र्रिmया, छलफलको अभावमा भने अर्काथरी मान्छे भनेको जानाजान थाहा नभएको पार्दैछन् । जब कि त्यो कुरा उनीहरूले बुझेका छन् । प्रचण्ड, बाबुरामलाई त्यो कुरा थाहा छैन भन्नुस त ? माकेका सबैजसो नेतालाई थाहा छ । कम्तिमा न्यूनतम कुरा थाहा छ । हामीसँगै लड्दै भिड्दै सहकार्य गर्दै आएको हुनाले उहाँहरूलाई थाहा छ । तर उहाँहरूले आफ्नो कमजोरीबाट एकछिन भए पनि आराम पाउन उनीहरू स्पष्ट छैनन् भन्नु हुन्छ । त्यो जानाजान गरेको कुरा हो । हामी नेपालको अधुरो क्रान्तिलाई पूर्णता दिन, नेपाली समाजलाई आमूल परिवर्तन गर्न चाहन्छौँ । हामी नेपालको संसदीय व्यवस्था र दलाल पुँजीवादको पूर्ण अन्त्य चाहन्छौँ र त्यसको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छौँ । बाँकी अन्य कुरा हामीले स्पष्ट गर्दै जाने हो । 

दुई वर्ष भइसक्दा समेत परिणाममा केही नदेखिएपछि तपाईंहरू कुरा चाहिँ क्रान्तिको गर्ने, काम चाहिँ चन्दा उठाउने मात्र गर्नु हुन्छ भन्ने टिप्पणी छ । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
चन्दा त उठाउन परिहाल्यो । मलाई लाग्छ हामीले जति व्यवस्थित गरेका छौँ, त्यसमा कसैले केही भन्न सक्दैनन् । अर्को कुरा हामीले दुई वर्षमा जे गर्यौँ, मैले नै धेरै भन्ने कुरा भएन । तर राज्य धेरै तरङ्गित छ । कतिखेर के गरौँ भन्ने अन्तरद्वन्द्वमा राज्य छ । हरेक पटक हामीलाई नै मुख्य चुनौतीका रूपमा देखाइन्छ । स्थानीय निकायको निर्वाचनका बेलामा मात्र हाम्रा लगभग ८ सय साथीहरू गिरफ्तार पर्नुभएको छ । दुई जना सहिद हुनुभएको छ । तीनजना साथीहरूलाई गोली लागेको छ । हामीले केही नगरेको भएराज्यले यो किन गरेको त ? पार्टीले जनताको पक्षमा आन्दोलन नछेडेको भए राज्य किन यति धेरै पूर्वाग्रही र आक्रामक हुन्थ्यो ?

यहाँ त राज्य मात्र होइन सबै मान्छे जो भ्रष्टाचारमा संलग्न छन्, उनीहरु हैरान र बेचैन छन् । यसको पक्कै पनि केही कारण त छ । नेपालमा राज्य र अधिकारको दुरूपयोग गरेर भ्रष्टाचार गरी आफ्नो निजी जीवनलाई विलासी बनाउने मान्छेविरुद्ध को लडेको छ ? त्यति मात्र होइन माओवादी आन्दोलनमा देखिएको विचलनको विरुद्धमा को लडेको छ ? समाजमा जनतालाई अन्याय, अत्याचार गर्दा त्यसविरुद्ध को लडेको छ ? यो कुरा कसैबाट छिपेको छैन । परिवर्तनको आशा जनतामा छ । यति धेरै मुद्दा, कुराहरू हाम्रो पार्टीमा जम्मा भएका छन् कि हामीले त्यसलाई एक–एक गरेर हल गरेर जान्छौँ । 

यो निर्वाचनलाई तपाईंहरू बहिष्कार गर्दैहुनुहुन्छ, योबाहेक केही एक्सनसमेत गर्दैहुनुहुन्छ भन्ने हल्ला छ, के यो साँचो हो ?
हो, हामीले निर्वाचनलाई खारेज गरेका छौँ । अघि तपार्इंले सोध्नुभएको र यो कुरा गम्भीर छ । मलाई दुवै छ भन्ने लाग्छ । यदि हाम्रो पार्टीले चन्दा मात्रै उठाउँथ्यो भने यो हल्ला किन भयो होला ? त्यसैले त्यस्तो कुरा होइन । हामीले सीधा र स्पष्टशब्दमा राज्यसँग लड्ने हो भनेका छौँ । यो कुरा हामीले बाहिरै भनेका छौँ र यो कुरा म यहाँ पनि भन्छु । यो राज्यलाई हामी मान्दैनौँ । यो जनविरोधी, प्रगतिविरोधी पुँजीवादी राज्य हो । पुँजीवादी पनि कस्तो भने दलाल पुँजीवादी राज्य । दिमागमा कमिसन खाने र भोगविलास गर्नेबाहेक केही छैन । त्यो कुरा व्यवहारमा सावित हुन्छ नि । त्यसैले हामी यसको विरुद्ध लड्छौँ । लड्दा घटनाक्रम कसरी जान्छ त्यो राज्यसँग सम्बन्धित कुरा हो । म के भन्दिन भने हामी अहिले नै ७५ जिल्ला नियन्त्रण गरिहाल्छौँ भन्दिन । तर के भन्छौँ भने राज्यलाई हामी एउटा उचाइमा सामना गर्छौँं । 

नेपालमा ००७ सालदेखि नै राजनीतिज्ञ राजनीतिक क्रान्ति गर्न सफल र कुशल तर जब राजनीतिक क्रान्ति राज्यमा स्थापित गर्ने सवाल हुन्छ, तब असफल देखिन्छन् अथवा भनौँ न त्यसको वैठानमा असफल देखिन्छन् । कुनै दिन तपाईंहरूले राज्यसत्ता आफ्नो हातमा लिनु भयो भने तपाईंहरू त्यसरी अगाडि बढ्नु हुन्न भन्ने के ग्यारेन्टी छ ?
तपाईंले उठाएको कुरा पूर्ण सत्य होइन । नेपालको मुख्य समस्या आन्दोलन बैठान गर्न नसक्नु नभएर नेताहरूले राजनीतिक आन्दोलनलाई नै पूर्णता दिन नसक्नु हो । 

डेमोक्रेसीको परिभाषा नै काङ्ग्रेससँग छैन् । चुनाव मात्र भन्छन् र चुनावमा पैसा खर्च गर्ने हो भन्छन् । पैसा खर्च गरेर जितेको मान्छे डेमोक्रेसीको माध्यमबाट आएको नेतृत्व हो ? दलालहरू, ठेकेदारहरू, पुँजीपतिहरूले पैसा खर्च गरेको भरमा चुनाव जित्ने कुरा पनि कही डेमोक्रेसी हुन्छ ?काङ्ग्रेस त यति रद्दी थोत्रिएको पार्टी छ, योसँग कुनै सोच नै छैन । विभिन्न विदेशीहरूले उचालेको भरमा चलिरहेको छ ।

आन्दोलनलाई पूर्णता नदिने ?
हो । आन्दोलनलाई पूर्णता नदिनु नै यहाँको मुख्य समस्या हो । काङ्ग्रेसले पूर्णता दिन सकेन । त्यसो त वास्तवमा काङ्ग्रेसले कस्तो व्यवस्था ल्याउन चाहेको हो भन्ने नै म देख्दिन । बीपीको दिमागमा अलिकति अवधारणा भएको म देख्छु । उनले धेरै ठूलो सम्झौता पनि गरेनन् । पछि फर्के त्यो अर्कै कुरा हो । तर एकपटक प्रधानमन्त्रीबाट पक्राउ परेर जेल पर्नेसम्मलाई उनले पचाए । अरू नेताहरूले त्यो पचाउन सकेका छैनन् । म त के देख्छु भने नेपालमा आफैले आफैलाई मलाई मार्छन् भन्ने मान्छेहरू मात्र छन् । त्यति धेरै आफ्नो चिन्ता गर्ने मान्छेले यत्रो बलिदानको बाटोमा हिँडाउने कुरा जटिल कुरा हो । आफ्नो राजनीतिक आदर्शमा समर्पित हुने कुरा महत्वपूर्ण हो नि । मार्छन् मार्दैनन् त्यो भिन्दै कुरा हो । काङ्ग्रेसमा बीपीपछि कुनै पनि नेतृत्वले राजनीतिको खाका दिन सकेका छैनन् । मलाई लाग्छ काङ्ग्रेसमा बौद्धिकहरूको अभाव छ । 

डेमोक्रेसीको परिभाषा नै काङ्ग्रेससँग छैन् । चुनाव मात्र भन्छन् र चुनावमा पैसा खर्च गर्ने हो भन्छन् । पैसा खर्च गरेर जितेको मान्छे डेमोक्रेसीको माध्यमबाट आएको नेतृत्व हो ? दलालहरू, ठेकेदारहरू पुँजीपतिहरूले पैसा खर्च गरेको भरमा चुनाव जित्ने कुरा पनि कही डेमोक्रेसी हुन्छ ? काङ्ग्रेसत यति रद्दी थोत्रिएको पार्टी छ कि योसँग कुनै सोच नै छैन । विभिन्न विदेशीहरूले उचालेको भरमा चलिरहेको छ । यसको सापेक्षमा कम्युनिस्टहरूले एउटा दृष्टिकोण दिए तर तीनले पनि पूर्णता दिन सकेनन् । त्यसो त केपीजी, झलनाथजी, प्रचण्ड–बाबुरामजीले पनि न्यु डेमोक्रेसी र समाजवादको व्याख्या दिन सक्नुहुन्छ । व्याख्यासम्म यिनीहरूसँग एउटा धारणा छ तर यिनले पूर्णता दिन सकेनन् । 

क्रान्तिलाई पूर्णता नदिएकै कारण नेपाली समाज फेरि भूमरीमा परेको छ । अहिले जनता रणभुल्ल छन् । यो ठीक हो भन्दा त्यहीीिठक लाग्ने । होइन त्यो गलत हो भन्दा गलत जस्तै लाग्ने । त्यसैले जनतालाई हामीले प्रशिक्षित गर्नुपर्छ । त्यसैले प्रचण्डजीले यो (राज्यसत्ता) कसरी चलाउन सक्नु हुन्छ ? उहाँले जति फुर्ति लगाए पनि सक्नु हुन्न । उहाँ डुब्ने नै हो । पहिले मलाई कस्तो लाग्थ्यो भने प्रचण्ड भनेको नेपाली समाजको वास्तविक नेतृत्व हो । उहाँसँग छुट्टै नयाँ राज्यको अवधारणा छ । उहाँले नै सबैलाई आफूभित्र विलय गरेर जानु हुन्छ तर आज त उहाँ जनताको बहुदलीय जनवादको झोला भिरेर हिँडेको एमालेको झोलामा माओवाद लगेर हिँड्न थाल्नु भयो । यो त कस्तो भयो भने आफैले खनेको बाटोमा आफै हराए जस्तो भयो । 

तपाईंले वाम गठबन्धनलाई दाम गठबन्धन भन्नुभयो, के यो गठबन्धन ठ्याक्कै वाम होइन ?
कदापि होइन । यसको अलिक गलत व्याख्या गरिएको छ । कम्युनिस्टहरूलाई पछिल्लो समयमा वाम भन्ने चलन आयो । कम्युनिस्टहरूले त वाम सुरु गरेको होइन । वाम पुँजीपतिहरूले सुरु गरेको कुरा हो । त्यतिबेला ब्रिटेनमा यथास्थितिमा रहेको राज्यसत्तासँग लड्ने शक्तिलाई वाम भनिएको हो । नेपालमा  कम्युनिस्टलाई वाम भन्ने चलन छ । वाम भनेकोमा आनन्द मान्ने मान्छे पनि छन् । त्यो बेकार कुरा हो । हामी कम्युनिस्ट हो । के–को वाम–साम ? कम्युनिस्ट भनेको पुँजीवादको, संसदीय व्यवस्थाको विरुद्धमा उभिएको विचारधारा हो । नैतिक ढङ्गले त्यति भन्न सक्नु पर्यो नि । अब वाम भएकोमा गर्व गर्ने कम्युनिस्ट भएपछि त्योभन्दा धेरै कम्युनिस्टको बेइज्जत के हुन्छ ? कम्युनिस्ट भनेको वैज्ञानिक समाजवाद, साम्यवादको आदर्शमा हिँड्ने आन्दोलन हो । तर प्रचण्ड र केपी ओलीको जोड केमा छ भने हामी लोकतन्त्रभन्दा यताउता हुँदैनौ । कोई नतर्सनु होला, हामी यो व्यवस्थाभन्दा बाहिर जान खोजेको होइन । गठबन्धन पनि गर्ने अनि तर्क यस्तो गरेर हामीलाई नमार्नु होला, दमन नगर्नु होला भन्ने यस्तो हुतिहारा तालले पनि आन्दोलन हुन्छ । 

तर त्यो ठूलै शक्ति बन्ला जस्तो छ देखिन्छ नि ?
केही बन्दैन, त्यो भ्रम हो । त्यो भनेको बेलुन जस्तो हो । हावा फुस्कन्छ अनि सकिन्छ । हेर्दै जानुस न । 

प्रचण्डजीले यो (राज्यसत्ता) कसरी चलाउन सक्नु हुन्छ ? उहाँले जति फुर्ति लगाए पनि सक्नु हुन्न । उहाँ डुब्ने नै हो । पहिले मलाई कस्तो लाग्थ्यो भने प्रचण्ड भनेको नेपाली समाजको वास्तविक नेतृत्व हो । उहाँसँग छुट्टै नयाँ राज्यको अवधारणा छ । उहाँले नै सबैलाई आफूभित्र विलय गरेर जानुहुन्छ तर आज त उहाँ जनताको बहुदलीय जनवादको झोला भिरेर हिँडेको एमालेको झोलामा माओवाद लगेर हिँड्न थाल्नुभयो ।

तपाईंले संसदीय व्यवस्था बदल्नुभयो भने त होला, नभए त्यो नै शक्तिका रूपमा देखापर्ने हुन्छ होला नि ?
म पूरै विश्वासका साथ के भन्छु भने हामीले यो व्यवस्था बदल्छौँ । हामी यसलाई बदल्ने भनेर नै हिँडेका हौँ । नत्र आफ्नो आदर्शमा किन यति प्रतिबद्ध भएर लाग्ने ? अर्को कुरा उहाँहरू अहिलेकै प्रतिस्पर्धामा टिक्नु हुन्न । त्यो टिक्नका लागि के चाहिन्छ तपाईंलाई थाहा छ ? त्यसको लागि ‘डिटर्मिनेसन’ चाहिन्छ । आफ्नो आदर्शमा हरदम प्रतिबद्ध चाहिन्छ । अन्तिम मूल्य चुकाउन तयार हुनुपर्छ । सक्नु हुन्छ उहाँहरू ? प्रचण्डजी जसमा १७ हजार सहिदहरूको रगत बगेको छ त बचाउन सक्नु भएन । त्यो बचाउनका लागि उहाँले जुन योगदान गर्ने कुरा थियो त्यो गरेको भए जोगिन्थ्यो नि । त्यसो हुन सकेको भए एमाले हामीमै समाहित हुन आउँथ्यो । जनयुद्धबाट फर्केर बहुदलीय जनवादभन्दा पनि तल गिरेर केपीले प्रचण्डलाई थाम्नुपर्ने ठाउँमा पुगेपछि यो मूल्य बचाउन उहाँले सक्नु हुन्छ ? कसैले पनि सक्नुहुन्न । किनभने देशका लागि उहाँहरू मूल्य चुकाउन तयार हुनुहुन्न । मूल्य चुकाउन तयार नभएपछि यो गठबन्धन बच्छ ? धुलोपीठो हुन्छ । हेर्दै जानु होला । मान्छेहरू छिन्न भिन्न हुन्छन् । 

नेपाल पुँजीवादमा प्रवेश गरिसकेको हुनाले अब यो पुँजीवादी व्यवस्थाभित्रबाटै समाजवाद जाने बाटो खोज्नुपर्छ र पुँजी निर्माण गर्नुपर्छ भनिएको छ । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
त्यसलाई पुच्छरवाद भनिन्छ । आफ्नै विचारप्रति हदैसम्मको अविश्वास हो त्यो । लेनिनलाई त्यही भनिन्थ्यो । क्रान्ति जर्मन, फ्रान्स, ब्रिटेनमा गर्न छोडेर उता रुसतिर गर्न पाइन्छ । यो लेनिनको महत्वकाङ्क्षा हो, तानाशाह हुने कुरा हो । यो कुरा एङ्गेल्सका हितैसी कार्ल काउत्सकीको भनाइ हो । तर लेनिनले अन्तरविरोधले जहाँ क्रान्तिको वातावरण बनाउँछ त्यसलाई पक्रने हो भन्नुभयो । पुँजीवादले नै स्वतः सामाजवाद जन्माइदेला र खाउँला भनेर बस्नेहरू किन कम्युनिस्ट हुनु पर्यो । त्यति त अमेरिकन डेमोक्र्याटले पनि भन्छन् । त्यसैले हामीले के भन्नु पर्छ भने नेपलामा पुँजीवाद आएको छैन । 

नेपालमा दलाल पुँजीवाद चाहिँ आएको छ । दलाल पुँजीवादले कहिलै पनि देशलाई समृद्ध गर्न सक्दैन् । उसले राज्यलाई नै टाट पल्टाउने हो । यसको चरित्र भनेकै अलिकति भएको राष्ट्रिय पुँजी, जनशक्तिलाई पनि पलायन गर्ने हो । दलाल पुँजीवाद रहेसम्मन देश स्वाधीन हुन्छ न जनता माथि उठ्छन् । पूरै गोलचक्करमा घुमाएर शोषण गर्ने हो । जसले यसलाई चिर्न सकेका छन् उनीहरू माथि गएका छन् । ६०–७० वर्षअघि चीन कहाँ थियो ? नेपाल जति पनि थिएन । आफ्नो श्रीमती बेचेर बाँच्नुपर्ने अवस्था थियो । अहिले चीन कहाँ पुग्यो ? माओत्सेतुङले निर्माण गरेको समाजवाद नभएको भए त्यहाँ पुग्ने थियो ? आर्थिक वृद्धिदर भारतले समेत बढाएको छ तर भारतको एक तिहाई जनसङ्ख्या हेर्नु त कहाँ छ । चीनको किसान र भारतको किसानलाई हेर्नु त के छ अवस्था ?

यो अन्तर भनेको समाजवादको देन हो । अहिले जेसुकै भए पनि उत्तरकोरियाको कुरा गर्नुस् न । नागरिकहरूमा गर्व हुनुपर्यो हाम्रो देश भनेर । नेपालमा यो व्यवस्थाबाट समाजवाद आउँछ भन्नेहरू दास हुन् । पुँजीवादका दास । त्यो भलै बुद्धिजीवी नै किन नहुन् ती दास मानसिकता भएका बुद्धिजीवी हुन् । यस्तो विचार फैलाउने कुराले के गर्छ भने हामीलाई पुँजीवादको पुच्छर बनाउँछ । यत्रो उत्पीडन गर्ने दलाल पुँजीवाद, यति अमानवीय दलाल पुँजीवाद, यति तानाशाही दलाल पुँजीवाद, यति विकृत र शोषणकारी दलालपुँजीवादभित्र यो तर्क गर्न मिल्छ ? त्यसैले यो भनेको पुच्छरवाद हो । 

जनयुद्धबाट फर्केर बहुदलीय जनवादभन्दा पनि तल गिरेर केपीले प्रचण्डलाई थाम्नुपर्ने ठाउँमा पुगेपछि यो मूल्य बचाउन उहाँले सक्नु हुन्छ ? कसैले पनि सक्नु हुन्न । किनभने देशका लागि उहाँहरू मूल्य चुकाउन तयार हुनुहुन्न । मूल्य चुकाउन तयार नभएपछि यो गठबन्धन बच्छ ? धुलोपीठो हुन्छ । हेर्दै जानु होला । मान्छेहरू छिन्नभिन्न हुन्छन् ।

तपाईंहरूले संसदीय व्यवस्थाको अन्त्य गर्ने, वैज्ञानिक समाजवादमा जाने र कम्युनिस्ट अन्तर्राष्ट्रियवादको कुरा गर्ने तर तपाईंहरूको आन्तरिक राष्ट्रवाद चाहिँ पुरानै खालको देखिने यस्तो किन ?
होइन, हाम्रो त विल्कुलै नयाँ खालको हो । हामीले सर्वहारा वर्गीय राष्ट्रवाद भनेका छौँ । समाजवादी राष्ट्रवाद हो । हामीले त्यति हदसम्म मात्र राष्ट्रवादको कुरा गरेका छौँ । जुन हदसम्म हाम्रो देशमा साम्राज्यवादीहरूको उत्पीडन छ । पहिले जसरी भारतीय विस्तारवाद भन्थ्यौँ त्यो आज साम्राज्यवादमा पुगेको छ । भारतीय साम्राज्यले जुन हदसम्म हाम्रोमा हस्तक्षेप गरेको छ, त्यो चाहे राजनीतिमा होस अथवा अर्थतन्त्रमा त्यो विल्कुलै ‘पोस्ट टे«न्ड’मा गइसकेको छ । त्यसैले हामीले उत्तरसाम्राज्यवाद पनि भनेका छौँ । यस्तो साम्राज्यवादी स्वरूपको अन्तरविरोधलाई परास्त गर्ने तहसम्म हामी राष्ट्रवादी हो । 

तर विश्वव्यापी रूपमा चल्ने मुक्ति आन्दोलनको हिसाबले हामी अन्तर्राष्ट्रयवादी हो । त्यसमा हामीलाई कुनै भ्रम छैन । देशमा जनतामाथि भएको समुदायको उत्पीडनसम्म आन्तरिक राष्ट्रवादी हो । तर त्यो राष्ट्रियताको हल चाहिँ समाजवादले गर्छ । त्यसर्थ हामी नेपालमा पनि हामी अन्तर्राष्ट्रियवादी हो । कुनै जाति विशेष, समूह विशेषमा तानिएर खुम्चिए त्यो अन्धराष्ट्रवाद हो । त्यसले मुक्ति दिँदैन । त्यसले विध्वंश ल्याउँछ । हाम्रो नेपालको मात्र कुरा गर्ने हो भने त्यो अन्धराष्ट्रवाद हो ।

भनेपछि तपाईंहरू राष्ट्रवादको विचार राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादबीचको ‘डाइलेक्टिक्स’बाट बनेको छ ?
हो । 

त्यसो हो भने राजावादी शक्तिसँग किन सहकार्य गर्न खोज्नु हुन्छ ?

नेपालमा राजावादी भन्ने नै छैन । हामीले त राष्ट्रवादीसँग भनेका छौँ । तपाईंले भन्नुभएको कुरा कसले उठाइरहेको छ भने जो नेपालमा संसदवादलाई परिवर्तन गरेर जान चाहने राष्ट्रिय शक्ति छ । त्यसको र हाम्रो बीचको अन्तरविरोध बनाई फुटाएर फाइदा लिनका लागि उनीहरूले हत्त न पत्त राष्ट्रवादी, राजावादी भनेको हो ? त्यो न्यूनतम राजनीति नजानेको मान्छेको कुरा भयो । अथवा विषयलाई तोडमोड गरेर भ्रम छर्ने कुरा हो । हामीले भनेको राष्ट्रवादको कुरा राष्ट्रिय शक्तिको कुरा हो । राष्ट्रभित्र जो कम्युनिस्ट छैनन् तर उनीहरू देशलाई माया गर्छन् परिवर्तनलाई माया गर्छन् र कम्युनिस्टसँग सहकार्य गर्छन्, उनीहरूलाई साथ लिने भनेको हो । यस्तो प्रचार गर्नेमा माकेका केही मान्छे छन् । प्रचण्डजी आफै यस्तो प्रचारमा लाग्नु भएको छ । उहाँले हिजो राजाको बारेमा के भन्दै हुनुहुन्थ्यो र हामीले के भनेका छौँ ?

नेपालका धेरैजसो कम्युनिस्टहरू सबैको आजसम्म हेर्दा उनीहरूले दरबार छउन्जेल दरबारलाई राष्ट्रवादी मान्ने ?
अब त दरबार नै छैन । अब त्यो अध्याय नै सकियो । राष्ट्रवादी चाहिँ छन् ।

दरबार निकटका मान्छेलाई राष्ट्रवादी भन्न खोज्नुभएको ?

निकट सिकटको कुरा छोडिदिनुस् । मैले के पनि भनेको छु भने ज्ञानेन्द्र राष्ट्रवादी बनेर, नागरिकको हिसाबमा परिवर्तनलाई स्वीकार गर्छन् र साथ दिन्छन् भने राम्रो कुरा हो । हामीले पहिले नरोद्म सिंहानुकको कुरा पनि राखेका थियौँ । प्रचण्डजी यदि त्यो कूटनीतिमा सफल भएको भए त्यहाँ पुग्नु हुन्थ्यो । देश त्यहाँ पुग्ने थियो । उहाँले दर्जन पटक भनिसक्नु भएको छ, हामीले वीरेन्द्रसँग सहकार्य गर्न खोजेका थियौँ भन्ने । अब त झन दरबार नै छैन भने केको राजावादीको कुरा गर्नु पर्यो । जतिबेला थियो त्यतिबेलाको कुरालाई छोडेर नभएको कुरामा हाम्रो बारे भ्रम छर्ने के जरुरत छ ? हामीले लुकाई छिपाई होइन स्पष्ट भनेका छौँ । यदि नेपालका कुनै पनि नागरिक उनीहरू हाम्रो देशलाई रक्षा गर्न, परिवर्तनको आन्दोलनमा सहभागी हुन चाहन्छन् भने ओके । हामी खुला छौँ । 

सबैलाई निषेध गरेर अगाडि बढ्ने त हामीले भनेको होइन । तर उनीहरूले हाम्रो मान्यता, विचारलाई स्वीकार चाहिँ गर्नुपर्छ । अर्काको कुरा किन प्रचण्डजी, बाबुरामजी अथवा केपीजी आउनुस् सँगै जाऊँ । अब त झन् कस्तोसम्म भयो भने ज्ञानेन्द्रले समेत राष्ट्रघात भयो, देश जोखिममा पर्यो भन्नुपर्ने अवस्था आयो । तर नेताहरू चाहिँ ठीक छ, चुनावमा भाग लिनु लोकतन्त्र हो भनेर लाज लाग्ने कुरा गर्दा हामीले जबाफ दिनुपर्छ जस्तो लाग्दैन । 

हामीले निकट भविष्यमै नेपालमा उथलपुथल हुने देखेका छौँ । हामी त्यो ल्याउँछौँ । जनताले साथ दिनुपर्छ ।

तपाईंको एकीकृत जनक्रान्तिको मोडेलभित्र नेपालका उत्पीडित समुदायहरू मधेसी, जनजाति, दलित, महिलाहरू सबैको मुद्दालाई जुन यो संविधानले पनि ठीकसँग सम्बोधन गरिसकेको छैन्, त्यसलाई सम्बोधन गर्ने तपाईंसँग के योजना छ ?

हाम्रा सातवटा बुँदाहरू छन् । पहिलो, नेपालमा क्रान्ति गर्दा गाउँबाट अथवा सहरबाट कहाँबाट लड्ने, गाउँका किसानका लागि कि सहरका मजदुरका लागि क्रान्ति गर्ने ? भन्ने जस्ता कुरा हामीले गर्नु हुँदैन । यदि नेपालमा क्रान्ति गर्ने हो भने दलाल पुँजीवादी सत्तासँग उत्पीडनमा परेका सबै नेपाली जनतालाई एक ढिक्का बनाएर सत्ताका विरुद्धमा लड्नुपर्छ । त्यसैले पहिले नै जनतालाई विभाजित गरिदिनु हुन्न । नेपालको हकमा आज सहरको जनता पनि त्यति नै उत्पीडित छन् जति गाउँको जनता । 

दुई, किसान र मजदुर भनेर मात्र अहिले क्रान्ति हुँदैन । नेपालमा क्रान्ति गर्ने हो भने जसलाई हामीले नयाँ श्रमिक वर्ग भनेका छौँ, त्यसलाई साथ लिनुपर्छ । त्यो भनेको विद्यालय र विश्वविद्यालयमा पढिरहेका र पढाइ सकिसकेका लाखौँ युवाहरू हुन् । तिनीहरू पनि श्रमिक जनताकै छोराछोरी हुन् । तीनलाई नसमेटेसम्म क्रान्ति हुँदैन । सबै बुद्धिजीवीलाई अहिले के नठान्नु भने उनीहरू बुर्जुवा हुन् । आजको मजदुर, किसान भनेको हिजोको जस्तो तानमा र खेतमा काम गर्ने मात्र छैनन् । आज कलेज पढेको पनि मजदुर र किसान हुन् । शिक्षा जनताको हातमा पुगेसँगै श्रमिक वर्गमा आएको परिवर्तनलाई हामीले समात्नु पर्छ । 

तेस्रो, नेपाल जस्तो देशमा चारवटा समुदाय छ । मुख्य रूपले उनीहरूसम्म पूर्ण अधिकार पुगेको छैन । जसमा– बाहुन, क्षेत्री, जनजाति, मधेसी र दलित पर्छन् । यो चारवटा समुदाय भनेको नेपालको आधाभूत समुदाय हो । यो चारवटै समुदायलाई क्रान्ति हाम्रो हो भन्ने नबनाएसम्म क्रान्ति हुँदैन । त्यसैले यो परिवर्तनमा सबै आउनुपर्छ । 

चौथो, विज्ञान र प्रविधिको जमानामा विद्रोह गर्दा सबै प्रविधिको ठीक–ठीक समायोजन गर्दै क्रान्तिमा सहयोगी बनाउनुपर्छ । पाँचौँ, नेपाल जस्तो देशमा क्रान्ति गर्दा जनताको भावनालाई ठीक ढङ्गले समेटनु पर्यो । दलाल पुँजीवादी अर्थतन्त्रको समयमा राष्ट्रिय पुँजीपति वर्गलाई पनि सँगै लिएर क्रान्तिमा जानुपर्छ । अनि हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो हुनुपर्छ । यी कुरा भनेको नेपाली क्रान्तिका आधारभूत सर्त हुन् । त्यसका लागि नै क्रान्ति चाहिने हो ।
 
भन्नुको अर्थ तपाईंको बाटो लामै छ ?
होइन, यो छोटो पनि छ, लामो पनि छ । दुवै छ भन्नुस् न । जनताले यो कुरा बुझनु पर्यो । लड्ने कुरा त भैहाल्यो । लामै लड्ने हो । माक्र्स आजीवन लड्नु भयो । तर राजनीतिक आन्दोलनका हिसाबले यो लामो होइन । हामीले निकट भविष्यमै नेपालमा उथलपुथल हुने देखेका छौँ । हामी त्यो ल्याउँछौँ । जनताले साथ दिनुपर्छ । मैले त जनतालाई भनेको पनि छु, तपाईंहरूले यो व्यवस्था पनि मन नपराउने र नयाँ गर्छु भन्नेलाई साथ पनि नदिने हुँदैन । तपाईंहरूले साथ दिनुभएन भने यो विसर्जनतिर जान्छ । हामीले त्यो सम्भव देखेका छौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश ज्ञवाली
नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

लेखकबाट थप