बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन सय ६३ उम्मेदवारबाट खर्च विवरण

शनिबार, १० असार २०७४, ०७ : ३०
शनिबार, १० असार २०७४

पोखरा - कास्कीका विभिन्न दलका तीन सय ६३ उम्मेदवारले निर्वाचनमा गरिएको खर्च विवरण बुझाएका छन् । 

क्षेत्रीय निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी तेजबहादुर गुरुङका अनुसार खर्च विवरण बुझाउनेमा नेपाली काँग्रेसका ९५, नेकपा एमालेका ८७, नेकपा माओवादी केन्द्रका ८२, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका ५३, राष्ट्रिय जनमोर्चाका ३६ र देशभक्त जनतान्त्रिक मोर्चाका १० जना उम्मेदवार छन् । 

उम्मेदवारले बिल भर्पाईसहित खर्च विवरण बुझाएको बताइएको छ । खर्च विवरण नबुझाउने उम्मेदवारलाई कार्यालयले बारम्बार ताकेता गरिरहेको बताउँदै गुरुङले तोकिएको मितिमा विवरण नबुझाउनेले जरिवानासहित विवरण बुझाउनुपर्ने जानकारी दिए । 

निर्वाचन आयोगले तोकेको खर्चकै सेरोफेरोमा रहेर न्यूनतम रु एक लाख ५० हजारदेखि रु सात लाख ५० हजारसम्मको खर्च विवरण कार्यालयमा प्राप्त भएको छ । गत वैशाख ३१ गते विभिन्न पदका लागि एक हजार चार सय २४ उम्मेदवार पहिलो चरणको स्थानीय निर्वाचनमा उत्रेका थिए ।

एक पोखरा–लेखनाथ महानगरपालिका र चार गाउँपालिकामा तीन सय ८१ पदका लागि निर्वाचन भएको थियो । निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले अनिवार्य रुपमा निर्वाचन कार्यालयलाई खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप