गठबन्धनहरूका पक्षमा

person access_timeकात्तिक ९, २०७४ chat_bubble_outline0

पृष्ठभूमि:
आगामी मङ्सिर १० र २१ गते सम्पन्न हुने सङ्घीय तथा प्रान्तीय संसदको निर्वाचनका सन्दर्भमा नेपाली राजनीतिले ध्रुवीकरणको नयाँ बाटो समातेको छ । वाम तथा लोकतान्त्रिक दुई ध्रुवमा जारी रहेको गठबन्धनहरूको विषयमा जारी बहसहरूकै बीचमा अनावश्यक आशङ्का तथा भय र त्रासपूर्ण अभिव्यक्तिहरू सार्वजनिक भैरहेका छन् । राजनीतिलाई सम्भवनाहरूको खेल भन्ने गरिन्छ र राजनीतिमा कोही पनि स्थायी सत्रु वा मित्र हुँदैनन् भन्ने गरिन्छ । 
सैद्धान्तिक वा विचारधारात्मक रूपमा नेपाली राजनीतिको ध्रुवीकरणलाई अत्यन्त स्वभाविक रूपमा लिन सकिन्छ । त्यसका लागि विश्व राजनीतिका अनेकौ प्रसङ्ग वा घटनाहरूलाई प्रमाणका रूपमा खोज्नु जरुरी छैन । नेपालकै राजनीतिलाई सात–आठ दशक अघिबाट केलाउँदा प्रष्ट छ । नेपालमा दलीय राजनीतिको सुरुवात दुइवटा पार्टीहरूबाटै भएको हो । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको सन्दर्भले यसलाई प्रष्ट पार्छ । 
समयक्रममा नेपालको सत्ता राजनीतिमा जुन जुन शक्तिहरू हाबी हँुदै आए, ती सबै शक्तिहरूको राजनीतिक रणनीति भनेको ‘फुटाउ र शासन गर’ नै रह्यो । राजा, राणा, काङ्ग्रेस सबैको सत्ता राजनीतिले दलीय राजनीतिलाई छिन्नभिन्न पारेर ‘सत्ता टिकाउने खेलहरू’ लामो समयसम्म जारी रहे । परिणाम स्वरूप राजनीतिक अस्थिरताले जनमतलाई कमजोर बनाउने र धमिलो पानीमा ‘माछा मार्ने’ खेलहरूको निरन्तरता सन् १९९० को दशकसम्म जारी रह्यो । 
निर्दलीयताले नागरिक तहमा ‘विभाजन’को स्थितिलाई कायम राख्दै तीन दशकभन्दा लामो समय राजाको निरङ्कुश र प्रत्यक्ष शासनले मुलुकलाई दुर्गतिभन्दा अघि बढाउन सकेन । २०४६ सालको जनआन्दोलनको आधार तय गर्ने शक्ति पनि दुई दलीय गठबन्धनहरू नेपाली काङ्ग्रेस र वाममोर्चा नै थिए । २०४८ सालको निर्वाचन, नेपाली काङ्ग्रेसको बहुमतीय शासन, काङ्ग्रेसभित्रकै सर्वसत्तावादका कारण विभाजन हुँदै २०५१ सालको निर्वाचनले पहिलो पटक नेपालमा अल्पमतको कम्युनिस्ट सरकार र त्यसले लिएको जनपक्षीय कार्यक्रमको कार्यान्वयनको जगले नेपालमा वामपन्थी जनमतलाई बलियो जग प्रदान गरेको तथ्य सबैका सामु विद्यमान रहेको छ ।
२०४८ देखि २०५८ सम्मको एकदशक नेपालमा राजनीतिक अस्थिरताको स्वर्ण दशकभन्दा अनुपयुक्त नहोला । २०५१–०६१ को एक दशक नेपाली राजनीतिले भोगेको दुर्दसा, आन्तरिक सशस्त्र सङ्घर्ष र त्यसले सिर्जना गरेको ध्वंश र विनासले नेपाललाई विकासका दृष्टिले सर्वनाश गर्ने कार्य गरिरह्यो । अन्तमा फेरि वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त सङ्घर्षले नेपालबाट राजतन्त्रको बिदाइ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना जस्ता महत्वपूर्ण राजनीतिक उपलब्धिहरू प्राप्ती भए । 
दुईवटा संविधानसभाको निर्वाचनपछि नेपालमा पहिलोपटक जनताका प्रतिनिधिहरूले नेपालको संविधान निर्माण गरी जारी गरेका छन् र सैद्धान्तिक, रणनीतिक र कार्यक्रमका हिसाबले नेपाली राजनीतिका ‘प्रधान सत्रु’ समाप्त भएका छन् । अबको नेपाली राजनीतिले नेपाललाई समृद्धि र प्रगतिको दिशामा अघि बढाउनका लागि आर्थिक, सामाजिक क्रान्ति एक सूत्रीय काम गर्नु आवश्यक छ । यसका लागि नेपालको राजनीतिमा स्थिरता आवश्यक छ । स्थिरताबिना मुलुकको विकास सम्भव छैन । राजनीतिक स्थिरताका लागि नेपाली राजनीतिमा ध्रुवीकरण आवश्यक थियो र छ । 

राजनीतिक स्थिरताका लागि गठबन्धन ः
नौ महिनाभन्दा बढी एउटा राजनीतिक दलको सरकार टिक्नै नसक्ने अवस्थाले राजनीतिक स्थिरता होइन, अस्थिरताको बीउ रोप्दै गएको छ र यो राजनीतिक अस्थिरताको अन्त्य नभएसम्म नेपालको विकास सम्भव छैन । राजनीतिक स्थिरताबिना नेपालको सरकार पूरा समय टिक्नै सक्दैन र एउटा पार्टीले अघि सारेका विकास निर्माणका नीति कार्यक्रमहरू हरेक वर्ष परिवर्तन हुँदै जाने अवस्थाले मुलुकमा सीमित व्यक्तिहरूका लागि अकुत सम्पत्ति आर्जन गर्ने बाटो तय गर्नेबाहेक अर्को काम गर्न सक्दैन । 
राजनीतिक स्थिरता कायम गर्नका लागि नेपालजस्तो सानो मुलुकमा सयौँ पार्टीहरू निर्वाचन आयोगमा दर्ता हुने र सङ्घीय संसद तथा प्रान्तीय संसदभित्र १५÷२० वटा पार्टीहरूको उपस्थिति हुनुभनेको अस्थिरतालाई कायम राख्नु नै हो । विभिन्न गुट, उपगुट र टुटपूmटको शृङ्खलालाई जारी राख्दै सत्ता प्राप्ती एक मात्रै लक्ष्य बोकेका व्यक्ति तथा पार्टीहरूले समग्र मुलुकको हित र समृद्धि प्रगतितिरको चिन्तन राख्ने कुरैहँुदैन । परिणाम स्वरूप फेरि पनि निरन्तर सत्ता र सरकार परिवर्तनका खेलहरू जरी रहने र यसबाट मुलुकको आर्थिक सामाजिक अवस्थामा कुनै परिवर्तन नहुने स्थिति कायम नै रहन्छ । यो अवस्थाको अन्त्यका लागि नेपालको राजनीति दुई ध्रवीय हुनु अहिलेको आवश्यकता हो । यही आवश्यकताको जगमा विद्यमान गठबन्धनहरूको सुरुवात भएको छ र यसले नेपालको राजनीतिमा स्थिरता प्रदान गर्नेछ । 
राजनीतिक स्थिरतासँगै नेपालको विकास प्रयासहरूलाई अल्पकालीन तथा दीर्घकालीन योजना मार्पmत आम नागरिकहरूको सहभागितामा वृद्धि भई आर्थिक समृद्धि र प्रगतिको दिशामा मुलुक अघि बढ्नेछ । सङ्घीय तथा प्रान्तीय सरकारहरू कम्तीमा आवधिक निर्वाचनसम्म सञ्चालन हुने प्रकृयाको थालनी हुनेछ र यसले नेपालको विकास प्रयासमा कार्यक्रमहरूको निरन्तरता, स्रोतसाधनहरूको सही परिचालनमा ध्यान दिन सक्नेछ र कर्मचारीतन्त्र सरकारको स्थिरतासँगै गतिशील हुन सक्नेछ । ‘नौ महिनाका लागि त हो नि’ भन्ने मानसिकताबाट कर्मचारीतन्त्र माथि उठ्नेछ ।

वामपन्थी गठबन्धन ः
इतिहास साक्षी छ, नेपाली राजनीतिमा अनेकौँ अप्रत्यासित घटनाहरू घटेका छन् । यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनको एकीकरणको ऐतिहासिक प्रयासको सुरुवात भएकोछ । यसको पक्ष र विपक्षमा थुप्रै टीकाटिप्पणी हुनुलाई स्वाभाविक मान्न सकिन्छ । २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीले झण्डै सात दशकको यात्रा तय गर्दासम्म एकीकरण र विघटन, गुट, उपगुट तथा विभाजनका सयौँ शृङ्खलाहरू पार गर्दै यहाँ आइपुगेको छ । 

यो ऐतिहासिक अवसरलाई नेपालको वामपन्थी आन्दोलनका मुख्य दुई ठूला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणको ऐतिहसिक शृङ्खला सुरु गरेको छ । यो घटना नेपालको नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन तथा राजनीतिक स्थिरता एवं मुलुकको स्वाधीनताको संरक्षण गर्दै नेपाली जनताको सामाजिक न्यायको आन्दोलनलाई गति र बल प्रदान गर्ने विश्वास लिन सकिन्छ । 

अस्थिरताको राजनीतिमा वर्षौंसम्म अल्झिएको नेपाली राजनीतिलाई स्थिरताको बाटोमा लैजानका लागि पनि नेपालमा जति थोरै दलहरूको सङ्ख्या हुन सक्यो त्यति नै राम्रो हुन सक्छ । हाम्रो जस्तो सानो मुलुक, त्यो पनि दशकौँको राजनीतिक स्वतन्त्रताका लागि लडिरहनु पर्ने अवस्थाको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसको संस्थागत विकासका लागि पनि दलहरूको सङ्ख्या घट्नु, पार्टीहरू एकीकृत र बलियो हुँदै जानुले नै फाइदा गर्छ । 

नेपालमा लामो समयसम्म राजनीतिक स्वतन्त्रताको आन्दोलनको मारमा देशको आर्थिक तथा सामाजिक एवं सांस्कृतिक अधिकार कुण्ठित हँुदै आएको छ । अबको देशको समग्र आन्दोलन आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार स्थापनाका क्षेत्रमा अग्रसर हुनु आवश्यक छ । यसका लागि देशको समग्र विकास प्रणालीलाई विकसित गर्दै आर्थिक समृद्धि, सामाजिक मर्यादा र सम्मानपूर्ण जीवनयापनका लागि देशको ध्यान जानु आवश्यक छ । यसका लागि पनि नेपालमा बलियो कम्युनिस्ट पार्टीको स्थापना आवश्यक छ ।

ढिलै भए पनि नेपालमा वामपन्थी राजनीतिक पार्टीहरू एक ठाउँमा आउने प्रयास र प्रयत्नलाई कहीँबाट पनि निरुत्साहित गर्नु हुँदैन । जनमोर्चा नेपाल, नेकपा माले, नेकपा माओवादी, नेपाल मज्दुर किसान पार्टीसहितको एकीकरण अभियानमा संलग्न हुन सकून् । यसले नै नेपालको लोकतन्त्रलाई बलियो र समृद्ध बनाउँदै लैजानेछ । वैद्य, विप्लव जस्ता समूहहरू निर्माण गरेर नेपालमा समाजवाद स्थापना गर्न सकिँदैन । तसर्थ बृहत् वामपन्थी एकता आजको आवश्यकता हो । 

लोकतान्त्रिक गठबन्धन ः
नेपाली काङ्ग्रेस जुन नेपालको राजनीतिमा निरन्तर क्रियाशील लोकतान्त्रिक पार्टी हो । नेपाली काङ्ग्रेसको कुनै खास विचारधारा वा वादलाई बोकेर सिद्धान्तको राजनीति गर्नेभन्दा पनि बेलायती तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरको ‘डेमोक्रेटिक सोसिलिज्म’को नेपाली अनुवाद गर्दै उसले आपूmलाई ‘प्रजातान्त्रिक समाजवाद’को पक्षधर बताउँदै आएको छ । विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्राई हुँदै गिरिजाप्रसाद कोइरालासम्म आइपुग्दा कोइराला परिवारको नेतृत्वदायी भूमिका खेल्दै आएको छ । 
पछिल्लो समय सुशील कोइराला पार्टी सभापति र प्रधानमन्त्री दुवै हँुदै अहिले कोइराला परिवारको हातबाट नेतृत्व शेरबहादुर देउवाको हातमा आइपुग्दासम्म काङ्ग्रेस निकै कमजोर भएको र कोइराला परिवारका सदस्यहरू सङ्गठित भई आगामी नेतृत्व लिनुपर्ने आवाज काङ्ग्रेसभित्रै दरो रूपमा उठिरहेको छ । गुटफुट र विभाजनको शृङ्खलाबाट काङ्ग्रेस पनि अछुतो छैन र पछिल्लो समय विभिन्न शक्तिकेन्द्रहरूमा विभाजित नेपाली काङ्ग्रेसका पुराना नेताहरू विभिन्न अन्य पार्टी खोलेर बसिरहेका छन् । 
सत्तालाई नै सर्वोपरि ठान्ने र बीपीवाद बोकेर देशको नेतृत्वमा हाबी रहेको नेपाली काङ्ग्रेसले अहिले आएर विभिन्न पार्टी समूहहरूलाई लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा जाँदैछ । यसले मुलुकमा राजनीतिक स्थिरताका लागि महत्वपूर्ण योगदान नै गर्नेछ ।
नेपाली काङ्ग्रेस वामपन्थी गठबन्धनबाट भयभीत र त्रसित हुने वा लोकतन्त्र समाप्त हुने वा अन्य खालका भ्रमको खेतीमा लाग्नुभन्दा उसले हिजो काङ्ग्रेसबाट अलग भएर बसेका र काङ्ग्रेसप्रति सद्भाव राख्ने राजनीतिक दल वा व्यक्ति समूहहरूलाई मोर्चामा ल्याएर सँगसँगै हिँडाउनमा ध्यान केन्द्रित गर्नु आवश्यक छ । महन्त ठाकुर, विजय गच्छदारहरूले छुट्टै पसल खोल्नुको अर्थ छैन  । धेरै पार्टी बनाएर नेपालमा राजनीतिक स्थिरता सम्भव छैन । विभाजनले लोकतन्त्र बलियो हुनै सक्दैन ।
अन्त्यमा
नेपाल र नेपाली जनताको हितमा रहेको दुई ध्रवीय गठबन्धनबाट कोही त्रसित नबनौँ, यसले राजनीतिक स्थिरता र नेपालको आर्थिक सामाजिक समृद्धिका लागि ठूलो योगदान गर्ने हुँदा गठबन्धनलाई बलियो र मजबुत बनाउँदै इमानदार प्रयासमा लागौँ र आगामी निर्वाचनमा मुलुक र जनताको हितमा रहेको वामपन्थी गठबन्धनलाई बलियो बनाउँदै विपक्षमा बलियो प्रतिपक्षका रूपमा लोकतान्त्रिक गठबन्धनलाई स्थापित गर्ने अभियानमा सरिक बनौँ । लोकतन्त्रको संस्थागत विकाससँगै देशको आर्थिक समृद्धिको दिशामा नेपालमा समाजवाद स्थापनाको महाअभियानमा सहभागिता र सहयोग गरौँ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ