अक्टोबर क्रान्तिको सय वर्ष र त्यसको प्रभाव

person access_timeकात्तिक ८, २०७४ chat_bubble_outline0

तारामणि सापकोटा

सन् १९१७ मा भी.आई. लेनिनको नेतृत्वमा रुसमा सम्पन्न समाजवादी क्रान्तिले आज सय वर्ष पूरा गरेको छ । माक्र्सवादको पहिलो प्रयोगका रूपमा रुसी समाजवादी क्रान्तिले संसार हल्लाएको थियो । सोभियत सङ्घ विघटन भएको २८ वर्ष भइसकेको छ ।

हिजोको सोभियत समाजवादी व्यवस्था आज इतिहास बनिसकेको छ । यद्यपि रुसी क्रान्ति र सोभियत समाजवादी व्यवस्थाको महत्व र उपदेयता आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्यपूर्ण छ । कार्ल माक्र्सको सर्वहारा श्रमजीवी वर्गको अधिनायकत्वसहितको राज्य स्थापना गर्न सकिने विचारको व्यावहारिक प्रयोग थियो रुसी क्रान्ति । 

सन् १८७१ मा भएको पेरिस कम्युनको असफलता नै रुसी क्रान्तिको मुख्य आधार थियो । कार्ल माक्र्सको जीवनकालमा श्रमजीवी सर्वहारा वर्गले स्थापना गरेको पेरिस कम्युन प्रतिकृयावादी सड्यन्त्रबाट ७२ दिनमै असफल भयो । पेरिस कम्युन भिन्न सशक्त र सेनासहितको रुसी बोल्सेभिकहरूको नेतृत्वमा क्रान्ति सम्पन्न भएको हो । 

श्रमजीवी वर्ग निर्णायक शक्ति रहेको रुसी क्रान्तिमा किसान वर्ग क्रान्तिको शक्तिशाली सहयोगी बने । सन् १९०५ मा भएको विद्रोह असफल भए पनि सन् १९१४ बाट सुरु भएको पहिलो विश्व युद्धसँगै क्रान्तिका आधार खडा भएको थियो । लेनिनले विश्व युद्ध साम्राज्यवादीहरूका बीचको लडाइँ भएकाले त्यसमा संलग्न नहुन आह्वान गरेका थिए । रुसमा सन् १०१७ फेब्रेवरीमा पुँजीवादी प्रजातान्त्रिक क्रान्ति सम्पन्न भयो । यस क्रान्तिले जार शाहीको अन्त्य गरेको थियो । तर, त्यस क्रान्तिले पुँजीवादी तथा साम्राज्यवादीका जरा नउखेलिने भन्दै क्रान्तिकारीहरूले त्यसको विरोध गरे । फलस्वरूप सन् १९१७ अक्टोबर २५ तारिखमा लेनिनको नेतृत्वमा रुसी क्रान्ति सम्पन्न भएको हो ।

रुसी क्रान्तिले क्रान्तिको नयाँ स्वरूप निर्माण गरेको थियो । क्रान्तिका लागि नयाँ चेतनाको सञ्चार गरेको थियो । उत्पादनका साधान पहिलो पटक श्रमजीवी सर्वहारा वर्गको हातमा राखिदियो । 

साम्राज्यवाद विरोधी क्रान्तिः
अक्टोबर क्रान्ति मानव जातिको इतिहासमा नयाँ युगको सुरुवात थियो । यसले सर्वहारा क्रान्तिको मार्ग खोलिदियो । रुसी क्रान्तिको सफलताबाट अन्य कैयाँै देशमा क्रान्ति सम्पन्न भए । यो समाजवाद स्थापना गर्ने क्रान्ति मात्र थिएन, यो साम्राज्यवाद विरोधी क्रान्ति पनि थियो । रुसी क्रान्तिपछि संसार भरका न्यायप्रेमी तथा मुक्तिगामी समुदायले उपनिवेश र साम्राज्यवादको विरोध गरे । ती उपनिवेश र साम्राज्यवादको जाँतोमा पिल्सिएका देशले स्वतन्त्रता प्राप्त गरे ।

रुसी क्रान्तिले समाजवादी क्रान्ति मात्र होइन, पुँजीवादी जनवादी क्रान्तिको बिगुल पुक्यो । पुँजीवादी मौलिक तथा प्रजातान्त्रिक अधिकारका क्रान्तिहरू भए । 
रुसी क्रान्तिपछि स्थापित सोभियत सङ्घले विश्व साम्राज्यवादले टक्कर दियो । साम्राज्यवाद र उपनिवेशवाद चलाइरहेका पुँजीवादी देशका लागि रुसी क्रान्ति र त्यसले दिएको सन्देश चुनौती बन्यो । रुसी मोडलको आर्थिक, सामाजिक तथा राजनीतिक मोडल संसारका लागि अनुकरणीय बन्यो । शोषणरहित समाज निर्माणको आधार रुसी क्रान्तिले खडा गरेको थियो ।  
लेनिनवादको विकासः
रुसी क्रान्ति वा अक्टोबर क्रान्ति माक्र्सवादको पहिलो प्रयोग थियो भने लेनिनवादको प्रारम्भ थियो । लनिनको साम्राज्यवादसम्बन्धी विचार आज पनि त्यतिकै औचित्यपूर्ण छ । साम्राज्यवाद पुँजीवादको उच्चतम रूप हो भन्ने भनाइ आज पनि सान्दर्भिक छ । 

लेनिनले पार्टी सङ्गठानात्मक क्षेत्रमा प्रतिपादन गरेका सिद्धान्तलाई संसारका कम्युनिस्ट पार्टीले मात्र होइन बुर्जुवा र पुँजीवादी पार्टीले पनि स्वीकारेका छन् । अल्पमत, बहुमतको अधिनस्त, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्त, केन्द्रीय कमिटी महाधिवेशनको र महाधिवेशन पार्टी सदस्यको अधिनस्त हुने भन्ने लेनिनको विचार आज संसारभर प्रयोगमा छ । 

विचार र सिद्धान्तविहीन पार्टीले क्रान्ति गर्न सक्तैन । कम्युनिस्ट पार्टी विचारले लैस हुनुपर्छ । कम्युनिस्ट पार्टीका सदस्य सर्वहारा क्रान्तिमा सर्मपित हुँदा मात्र क्रान्ति सम्पन्न हुन्छ भन्ने विचार आज पनि त्यतिकै सान्दर्भिक छ । कम्युनिस्ट पार्टीको सेना निर्माणको सवाल होस वा पार्टी नेता र कार्यकर्ता भूमिगत भएर क्रान्तिमा खेल्ने भूमिकाको अभ्यास लेनिनले पहिलो पटक गरे । जुन आज पनि निरङ्कुशता विरुद्ध, क्रान्तिका लागि प्रयोगमा आउने गरेको छ । 

सोभियत समाजवादको विघटनः
माक्र्सले वर्ग रहेसम्म वर्गको अस्तित्व रहन्छ भनेका थिए । माक्र्सले साम्यवादी समाज मात्र वर्गविहीन हुने बताएका थिए । लेनिनले यसमा सचेत थिए । तर, साम्राज्यवादसँगको लडाइँ विजय प्राप्तसँग स्टालिनले सोभियत समाजवादमा वर्ग समाप्त भएको घोषणा गरे । यो नै सोभियत सत्तामा पुँजीवाद विचारको प्रवेश थियो । 

दोस्रो विश्व युद्धमा जर्मन फासिस्टलाई लखेट्ने क्रममा पूर्वी युरोपमा सर्वहारासत्ता कायम भएका थिए । उनीहरू राजनीतिक रूपमा सोभियत सत्तासँग भर पर्न थाले र सोभियत समाजवादको विघटनसँग पूर्वी युरोपको सर्वहारा सत्ता विघटन भएको हो । 

‘वार्सा सैनिक सङ्गठन र पारस्परिक आर्थिक सहायता परिषद’ गठनले रुसी निर्भरता झन बढ्यो । मिखाइल गोर्भाचोभको कार्यकालमा सोभियत सङ्घ आर्थिक सङ्कटमा पर्यो र गोर्भाचोभले ‘वार्सा सैनिक सङ्गठन र पारस्परिक आर्थिक सहायता परिषद’ विघटन गरिदिए । जसले पूर्वी युरोपका साशकलाई गम्भीर धक्का दियो । 

सोभियत सङ्घको छातामुनि रहेका पूर्वी युरोपका शासक पार्टीहरू खुस्चेभको संशोधनवादी लाइनको पछि लागे र अन्त्यमा गोर्भाचोभको कथित सुधारवादी कार्यक्रमसँगै बगे । 

सोभियत सत्ताले समाजको आवश्यक्त महसुस गरे पनि व्यक्तिका आवश्यक्ता, उसका इच्छा र मनोविज्ञान बुझ्ने प्रयास गरेन, जुन सोभियत सङ्घ विघटनको एक कारण बन्यो । 

नेपालमा अक्टोबर क्रान्तिको प्रभावः
रुसमा सम्पन्न अक्टोबर क्रान्तिको प्रभाव संसारभर गहिरो प्रभाव परेको थियो । रुसी समाजवादी व्यवस्थाको स्थापनासँगै संसारभर कम्युनिस्ट पार्टी स्थापना गर्ने क्रम बढ्यो । चीन, भारत, फिलिपिन्स, पेरु, भियतनामलगायतका देशमा कम्युनिस्ट पार्टी स्थापना भए । दोस्रो विश्व युद्धसँगै चीनमा चिनियाँ जनवादी क्रान्ति सम्पन्न भयो । नेपालमा पनि रुसी क्रान्ति र चिनियाँ क्रन्तिको प्रभाव परेको थियो । कम्युनिस्ट पाठ्य सामग्री नेपालीमा प्रकाशन गर्ने सोभियत सङ्घले गरेको सहयोगले नेपालमा कम्युनिस्ट कार्यकर्ता उत्पादनमा ठूलो सहयोग गरेको थियो । 

रुसी क्रान्तिमा मजदुर निर्णायक शक्ति र कृषक सहयोगी शक्ति बने भने चीनमा कृषक निर्णायक शक्ति र मजदुर सहयोगी शक्ति बने । रुसी क्रान्ति सहरमा सम्पन्न भएको थियो भने चिनियाँ क्रान्ति ग्रामीण इलाका हुँदै सहर घेर्ने योजनाबाट सम्पन्न भएको थियो । 

नेपालमा २००७ सालमा भएको जनक्रान्ति राजनीतिक अधिकार प्राप्तिका लागि पुँजीवादी प्रजातान्त्रिक क्रान्ति थियो । २०४६ सालमा कम्युनिस्टहरूको संलग्नतामा सम्पन्न आन्दोलनले पनि २००७ सालकै राजनीतिक चरित्र बोकेको थियो । यसमा मध्यम वर्ग, सहरिया बुद्धिजीवीको बाहुल्यता थियो । यो मूलतः सहर केन्द्रित आन्दोलन थियो । 

नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध ग्रामीण इलाकाबाट सुरु भएको थियो । ७ साल र ४६ सालमा भएको भन्दा भिन्न चरित्र जनयुद्धले बोकेको थियो । गाउँका गरिब, किसान, श्रमिक, आदिवासी, जनजाति, उत्पीडन र शोषणमा परेका जाति र समुदायको जनयुद्धमा मुख्य संलग्नता थियो । 
पञ्चायत कालमा विकास भएको ततकालीन नेकपा मालेले गाउँमा सङ्गठन निर्माण गर्ने र सहरमा आन्दोलन गर्ने नीति बनायो भने माओवादीले सङ्गठन गाउँमै सङ्गठन र गाउँमै क्रान्तिको नीति लियो । 

नेपालमा २००७ साल, २०४६ साल, जनयुद्ध या दोस्रो जनआन्दोलन सबैमा रुसी क्रान्ति, चिनियाँ क्रान्तिको प्रभाव देखिन्छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ