शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाम गठवन्धनको सैद्धान्तिक पक्ष

मङ्गलबार, ०७ कात्तिक २०७४, १३ : ५९
मङ्गलबार, ०७ कात्तिक २०७४

     वि.सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको इतिहास त्यति सुखद् छैन । २०१९ सालको तेस्रो महाधिवेशनपछि प्रारम्भ भएको फुटको शृङ्खला अझै यथावतछ । फुट, विग्रह र गुटबन्दी यसको पर्याय जस्तै भइसकेको छ । मानव समाजका हरेक सत्ताहरू गतिशील र परिवर्तनशील रहिरहने सार्वभौमिकता अनुरूप पार्टीमा पनि एकता र फुट अवश्यंभावी हुन्छ । सबै एकता सही र सबै फुट गलत हुँदैन । यो एकता र फुटको द्वन्द्ववादी साश्वत पक्ष हो ।

ऐतिहासिक भौतिकवादी प्रस्थापना अनुरूप कुनै पनि एकता र फुट जसले समाजको गतिशीलता र परिवर्तनशीलतालाई आत्मसात गर्दछ भने त्यसलाई सही मान्न सकिन्छ । परिवर्तन र गति सापेक्ष नभएको एकता र फुटमा हौसिनु र दुखित हुनुको कुनै अर्थ रहँदैन । किनकि यस्तो एकताले राष्ट्रिय राजनीतिमा गुणात्मक रूपान्तरण नभएर औसत वा यथास्थितिको मात्र हैसियत राख्दछ । 
   

पछिल्लो वामपन्थी गठवन्धनले नेपाली राष्ट्रिय राजनीतिमा अनपेक्षित तरङ्ग पैदा गरेको छ । नाटकीय रूपमा राजनीतिक सरगर्मी बढेको छ । एमाले र माओवादी केन्द्रबीच अप्रत्यासित रूपमा भएको मोर्चाबन्दीले परम्परागत सोच्ने तरिका र मनोविज्ञानहरूलाई चुनौती दिएको देखिन्छ । यो घटनाक्रमले राष्ट्रिय राजनीतिलाई तीव्र दलीय ध्रुवीकरणको दिशातर्फ धकेलेको छ । परिणामस्वरूप उता लोकतान्त्रिक लगायतका दलहरूमा पनि तीव्र ध्रुवीकरण भइरहेको छ । यसले विश्वव्यापी रूपमा बढ्दै गएका रूपमा बहुदल तर सारमा द्विदलीय लहरलाई पक्डेको देखिन्छ । स्मरण रहोस, आजको विश्वमा बहुदल भनिए पनि व्यवहारतः दुइटा दलको उपस्थिति हाबी रहेको छ । यिनीहरू एउटा वामपन्थी र अर्को दक्षिणपन्थी भनेर पनि चिनिने गरेका छन् । तर त्यस्ता दुई ध्रुवीय दलहरूको शासकीय वर्गचरित्र, पद्धति र नीतिगत दृष्टिकोणमा तात्विक फरक देखिँदैन । अमेरिका, बेलायत र भारत जस्ता मुलुकहरूमा विद्यमान रहेको द्विदलीय वर्गचरित्रलाई हेर्दा यसको सदृश्यता पुष्टि हुन्छ ।

     चुनावलाई केन्द्रमा राखेर भर्खरै भएको  वाम गठवन्धनले पनि चौतर्फी बहस र छलफलको तरङ्ग पैदा गरेको छ । यसले धेरैलाई आश्चर्य र आतङ्कित पारेको छ । कतिपयलाई हाउगुजी र निदहराम भएको छ । तर यो गठवन्धनलाई अस्वाभाविक र असाधरण मान्न जरुरी छैन । मूलतः यो गठवन्धन किन र केका लागि भन्ने यक्ष पश्नहरूको वैज्ञानिक र वस्तुवादी उत्तरमा मात्रै यसको ऐतिहासिक तथा राजनीतिक औचित्य भेट्न सकिन्छ । अर्थात यो इतिहासको निर्मम आवश्यकता अन्तर्गत समाजको गतिशील पक्षहरूको अग्रगामी राजनीतिक हल खोज्न सहायक सिद्ध हुनुपर्छ । यस मानेमा यसको ऐतिहासिक महत्व अवश्य नै रहन्छ । अन्यथा गठवन्धनदेखि गठवन्धन अनि एकतादेखि एकता मात्रै हो भने परिणाममा औसत यथास्थिति मात्र हात लाग्ने निश्चितछ ।  यसले राष्ट्रिय राजनीतिमा कुनै दूरगामी प्रभाव पर्नेछैन । किनकि  जनताको चाहना अग्रगमनको मात्र नभएर समानता र सामाजिक न्याय सहितको समृद्धि र शान्तिको छ । उन्नत समाजवादी चेतनासहितको समाजवाद र साम्यवादको छ । यथास्थिति र औसत व्यवस्था अनि सरकार गठन वा विघटन मात्र आजको इतिहासको आवश्यकता र जनताका चाहना पटक्कै होइन ।

     मूलतः यो गठवन्धनले तय गर्ने भावी सैद्धान्तिक राजनीतिक धरातलले यसको औचित्य निर्धारण गर्नेछ । यो गठवन्धन र एकता प्रक्रिया सैद्धान्तिक वैचारिक कोणबाट हुने हो भने यसले राजनीतिक प्रक्रियामा रहेको थुप्रै अस्पष्टताहरूलाई चिर्नु पर्छ । अग्रगामी अधुरो राजनीतिक यात्रालाई तय गनुपर्छ । यसले मूलतः गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पूर्ण आकारमा लागू गर्नुपर्नेछ । यस्ता अग्रगामी राजनीतिक एजेन्डाहरू मार्फत संविधान कार्यान्वयन गर्न समानता र सामाजिक न्याय स्थापित गर्दै नेपाली मौलिकतासहितको समाजवादीकरणको दिशातर्फ मुलुकलाई दिशानिर्देश गर्नु यसको आधारभूत ऐतिहासिक कार्याभार हो । सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको भाग्य र भविष्य सुनिश्चिततासँग यो गठवन्धनको वैचारिक राजनीतिक साइनो सम्बन्ध हुनु जरुरी देखिन्छ । अर्थात यो तालमेल र एकता मूलतः सैद्धान्तिक तथा वैचारिक पृष्ठभूमिमा हुनु अनिवार्य देखिन्छ । यसको रसायन उत्पीडित वर्गसँग जोडिनुपर्छ । एकता सिद्धान्त, नीति, एजेन्डा र क्रान्तिकारी आदर्शमा हुनुपर्छ । त्यसैले यो तालमेलत र एकता सिद्धान्त र नीति केन्द्रित नभए व्यर्थ मात्र होइन हात्ती आयो हात्ती आयो फुस्सा हुनेछ ।
 

   यस अतिरिक्त यो परिवर्तनकारी राजनीतिक सङ्घर्षको निरन्तर प्रक्रियाको प्रतिनिधि एकता हुनुपर्छ ।  गतिशील इतिहासको अपरिहार्य आवश्यक्तालाई बल पुग्ने हुनुपर्छ । नेपाली समाजको अग्रगामी र वस्तुवादी व्यवस्थापनतर्फ परिलक्षित हुनुपर्छ । सबैखाले उत्पीडन र विभेदहरूको अन्त्यसँग जोडिनुपर्छ । अर्थात वर्गीय आधारमा उत्पीडित वर्गमैत्री हुनुपर्छ । जनताको परिवर्तनकारी मर्म र भावनामा एकाकार हुनुपर्छ । यो परिवर्तनलाई आत्मसात गर्ने, उन्नत समाजवादी चेतनासहितको साम्यवादी यात्रामा सहयोगी, समानता र सामाजिक न्याय, विकास, समृद्धि र शान्ति स्थापनाको साधन बन्नुपर्छ । वृहत्तर जनताको हित र न्यायमा केन्द्रित हुनुपर्छ । वामपन्थी एकता हुनुको नाताले यसले मुलुकलाई तीव्र समाजवादीकरण गर्दै साम्यवादी समाज रूपान्तरणको दिशातर्फ डोर्याउनु पर्छ । यसको मूलभूत सैद्धान्तिक, राजनीतिक तथा नीतिगत पाटो यही हो ।
   

 तर यो ध्रुवीकरण केवल नेतृत्वको महत्वाकाङ्क्षा, लहड, सनक, व्यक्तिगत स्वार्थ, इगो र प्रतिशोधमा सीमित भयो भने त्यो दुर्भाग्य हुनेछ । यो चुनाव जित्ने रणनीति, दलीय आयतन बढाउने कौशल, सरकार गठनविघटन र केही नेता कार्यकर्ताहरूलाई भौतिक अवसर जुराउने रणनीतिमा मात्र सीमित भयो भने यसको राजनीतिक मूल्य कौडी बराबर पनि हुने छैन । यसो भएपछि गठवन्धन र एकताको औचित्य हुँदैन अनि टिकाउ पनि हुँदैन । यो एकताको प्राविधिक पक्षहरू हुन् ।

त्यतिवेला राजनीतिक मूल्यको आधारमा यो काङ्ग्रसले नेतृत्व गरेको लोकतान्त्रिक गठवन्धनभन्दा भिन्न हुनेछैन । तब यसप्रति बहुसङ्ख्यक क्रान्तिकारी पङ्क्तिको विश्वास गुम्नेछ । प्राविधिक पक्षहरूमा सीमित गठवन्धन र एकताले औसत परिणाम मात्र दिनेछ । यसले केवल कुनै दललाई बहुमत प्राप्त होला । केही राजनीतिक स्थिरता होला । कसैलाई लाभको पद सुनिश्चित गर्ला । भौतिक परिवेश अनुकुल होला । दलगत, समूहगत, व्यक्तिगत र पारिवारिक स्वार्थहरू पूरा होला । तर उत्पीडितहरूले साँचो उन्मुक्ति पाउने सम्भावना रहँदैन । उत्पीडितहरू उन्मुक्त नभएसम्म जुनसुकै राजनीतिक प्रक्रिया, गठवन्धन र एकताहरूको अर्थ र औचित्य पुष्टि हँुदैन ।
 

   वास्तवमा एकता सबैसँग सबै अवस्थामा चाहना राख्नेवित्तिकै सम्भव हुँदैन । यो इतिहासको निर्मम घुम्तीहरूमा आवश्यकताा र आकास्मिकताको द्वन्द्वात्मकतामा हुनेगर्दछ । आत्मगत तथा वस्तुगत पक्ष परिपक्व हुनुपर्छ । सार्वभौमतः सैद्धान्तिक राजनीतिक रसायन मिले मात्र एकता सम्भव हुन्छ । राजनीतिक रसायन नमिली निहीत स्वार्थमा गरिएको टालटुले एकता दीर्घकालीन हुँदैन ।  भावनात्मक र प्राविधिक एकताले समस्याको समाधन दिन सक्दैन ।

समस्या व्यवस्थापनविना राजनीतिक निकास सम्भव हुँदैन साथै टिकाउ पनि हुँदैन । प्राविधिक एकताले गुणात्मक परिणाम सम्भव हुँदैन । त्यसैले यो वामपन्थी गठवन्धन र एकता पनि सिद्धान्त केन्द्रित नभएर सरकार गठन र विघटनमा सीमित भयो भने इतिहासमा पुनः अर्को गम्भीर गल्ती ठहरिनेछ । जनताले ठूलो धोका महसुस गर्नेछन् । त्यसैले सबै सरोकारवाला पक्षहरूले बेलैमा आफ्नो धारण स्पष्ट गरौँ । खुलेर बहस छलफल गरौँ । सम्भावना, चुनौती र समस्याको विषयमा ठूलो छाती र फराकिलो मनोविज्ञान बनाएर प्रस्तुत हुन सिकौँ । सानासाना बन्द कोठरीहरूको सीमा र पर्खालहरू तोडौँ । वृहत्तर राजनीतिक रणनीति प्राप्तिका लागि वैचारिक फोरमहरू सञ्चालन गरौँ । सिद्धान्त, विचार, राजनीति र नीतिमा समाधन खोजौँ । नयाँ र फराकिलो राजनीतिक मनोवैज्ञानिक संस्कृतिको विकास गरौँ । दलगत, समूहगत र व्यक्तिगत निहित स्वार्थका साँघुरो चेतनाहरू त्यागौँ । समाजवाद हुँदै साम्यवाद तर्फको उन्नत चेतना विकास तर्फ सोचौँ ।
   

 स्कुल अफ थटको आधारमा माओवादी र एमाले बीचको एकता निकै पेचिलो देखिन्छ । वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय अन्तरविरोधहरूको साङ्गोपाङ्गो समाधन खोज्न लडिएको दश वर्षे जनयुद्धको स्कुलिङ र एमालेको स्कुलिङ सारभूतरूपमै फरक रहेको छ । जवज र २१औँ शताब्दीको जनवाद बीचको वैचारिक खाडल गहिरो छ । जनयुद्ध र झापा विद्रोहको सङ्घर्षको चरित्र पनि फरक थियो । माओवादीले गरेको विज्ञानमा आधारित राजनीति र एमालेले गरेको कौशलतामा आधारित चुनावी राजनीतिमा पनि आकाश धरती अन्तर रहेको छ । नियमतः माओवादीको लाल र एमालेको निपुण स्कुलिङको समायोजन त्यति सहज हुँदैन । त्याग र बलिदानको राजनीति र साम, दाम, दण्ड र भेदमा आधारित स्वार्थको राजनीति बीचको मिलनविन्दु खोज्नु चानचुने सवाल होइन । यस्तो सैद्धान्तिक, प्राविधिक तथा व्यावहारिक विषमताको बीचमा पार्टी एकता नै गर्ने सवाल सजिलो छैन । 
 

 यद्यपि, विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक भइरहेको बेला वामपन्थी ध्रुवीकरण मार्फत समाजवादीकरण गर्ने अभियानको दूरगामी आवश्यकता र महत्व रहेको छ । यस मानेमा तालमेल हुँदै एकताको पहल ऐतिहासिक आवश्यकता भइसकेको प्रतित हुन्छ । यसका लागि दुवै दल सैद्धान्तिक वैचारिक रूपमा स्पष्ट हुनुपर्छ । यसले व्यापक र वृहत्तर चिन्तन, सोच र मनोविज्ञानको साथ अघि बढ्ने प्रण गर्नुपर्छ । अनि मात्र यसको राजनीतिक हैसियत रहनेछ । विचार, सिद्धान्त र नीतिमा गरिने एकताले ढिलोचाँडो प्रक्रिया मार्फत परिणाम दिने हैसियत राख्दछ । तर उता गणितीय जोडघटाउ र पदीय भागवण्डा सुनिश्चितताको पेरिफेरिमा गरिएको एकताले परिणाम सुनिश्चित गर्नसक्दैन । 

   सैद्धान्तिक आयाममा आधारित एकता जनताको चाहना हो । विचार र नीतिको एकता सत्य हो भने अन्य प्राविधिक आयाममा गरिएको एकता भ्रम र धोका हो । समाजवादप्रतिको आस्था, परिवर्तनप्रतिको निष्ठा, समानता र सामाजिक न्यायसहितको  समृद्धि र शान्ति, उन्नत चेतना, फराकिलो बुझाइ र व्यापक हितको गुरुत्वकेन्द्र वरिपरि सोच्ने तरिका र संस्कृति सहितको एकता आजको इतिहासको आवश्यकता हो । तर विचारविनाको प्राविधिक ध्रुवीकरण भनेको विश्वमा पछिल्लो समय बढ्दै गएको बहुदलभित्रको द्विदलीय आलोपालो सरकार सञ्चालन गर्ने प्रवृत्तिको नेपाली संस्करण मात्र हुनेछ ।

कहिले वामपन्थी कहिले दक्षिणपन्थी धारले सरकारको नेतृत्व गर्नेछ । हारजितको हल्लीखल्ली साथै सनसनीपूर्ण समाचार बन्नेछ । तर मुलुक र जनताको समस्या औसत यथावत रहनेछ । त्यसैले यो गठवन्धन र एकतालाई आलोचनात्मक दृष्टिकोणबाट हेर्न जरुरी छ ।     
     
     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराँती
राजेन्द्र किराँती
लेखकबाट थप