शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमै मात्र चितुवाले पाँच वर्षमा लियो १३ जनाको ज्यान, किन भयो यस्तो ?

मङ्गलबार, ०७ कात्तिक २०७४, १२ : १५
मङ्गलबार, ०७ कात्तिक २०७४

तेजेन्द्र के.सी

बुटवल– अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका–७ (साविक खाँचीकोटबार्ड–६) भालुखोलाका मनिष के.सी. आफ्नै करेसाबारीमा खेल्दै  थिए । 
 
४ वर्षीय केसी प्रायः साझबिहान करेसाबारी तथा घरको आगनमा खेल्ने गर्थे । यही २०७४ भदौ २७ गते साँझको ती बाललको खेल जीवनकै अन्तिम बन्यो ।
 
नजिकैको जङ्गलबाट आएको चितुवाले उनलाई लतार्दै करेसाबारीबाट लग्यो । आफन्तहरूले खोजतसाल गर्दा घरदेखि ३ सय मिटर तलको जङ्गलमा फेला परे ।
 
चितुवाले मनिषको एउटा साप्रो तथा शरीरका अन्य अङ्ग खाएर छाडेको अवस्थामा फेला पारेको बुबा रमेश के.सी.ले बताए ।

अर्घाखाँची जिल्लाको सन्धीखर्क वडा नम्बर २ कुरका प्रशन्ना नेपाली  घरको आगनमा खेल्दै थिइन् ।
 
२०७४ कै असोज १६ गतेसाँझ ६ बजे ७ वर्षीया नेपालीलाई केसीलाई जस्तै नजिकै जङ्गलबाट आएको चितुवाले लिएर गयो । अर्को दिन बिहान जङ्गलमा मृत अवस्थामा फेला परिन् । चितुवाले केही अङ्गहरू खाइसकेको थियो ।

 
केसी र नेपाली जस्तै अर्घाखाँचीका पछिल्ला ५ वर्षमा चितुवाले १७  जना माथि आक्रमण  गरेको छ । जसमा ४ जना घाइते छन् भने १३ जना बालबालिकाको मृत्यु भएको छ ।
 
पछिल्ला वर्षमा चितुवा मान्छे खाने जिल्लाको रूपामा अर्घाखाँचीलाई चिनिन थालेको छ । पछिल्लो चार वर्षमा यहाँ १३ जना बाँधको शिकार भएका छन् ।
सामान्यतय चितुवाले मान्छेमाथि आक्रमण नगर्ने स्वाभव हो । पछिल्लो एक दशक अर्घाखाँची जिल्ला परिचय नै बदल्ने गरी बालबालिकमाथि आक्रमण  किन गरेको छ ? सबैले चासोपूवर्क लिएका छन् ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका प्रमुख दीपक ज्ञवाली भन्छन्– ‘अन्य जिल्लाभन्दा यहाँको अवस्था फरक छ ।’

भौगोलिक अवस्था र चितुवाको सङ्ख्या वृद्धिले धेरै आक्रमणका घटना भएका उनको भनाइ छ ।

अधिकारीहरूका अनुसार जिल्लामा वन वृद्धि भए पनि चितुवाको आहाराको लागि चित्तल, बेदल, बाँदर जस्ता जनावर कम छन् । ती नभएपछि भोकाएको चितुवाले मान्छेमाथि आक्रमण गरेको हो । जङ्गल नजिक घर बनाएका छन् । घरवारिपरि झाडी छ । यो पनि एउटा कारण मानिएको छ ।

अर्कोतिर गाउँका घर छाडेर धेरै मानिसहरू सदरमुकाम बस्छन् । जसले गर्दा यहाँ चितुवाले एक्ला बालिबालिका भेटाउँदा आक्रमण गरेको पनि हुन सक्छ भन्ने अधिकारीहरूको बुझाइ छ ।

आहाराको खोजी तथा चितुवाको सङ्ख्या वृद्धिले बालबालिकामाथि आक्रमण गरेको हुन सक्ने बाघविद् प्रा.डा. झमकबहादुर कार्की बताउँछन् ।

उनले भने– ‘वन जङ्गलमा चितुवाको आहार सकिएपछि घर–घर आउन थालेको हो । उसलाई पनि बाँस, आहारा र पानी चाहिन्छ ।’
 
तथ्याङ्कमा हेरौँ चितुवाको आक्रमणबाट अर्घाखाँचीमा ज्यान गुमाउनेहरू


 
स्थानीयहरू त्रासित
जिल्लामा गएको ५ वर्षभित्र १७ जना बालबालिकालाई चितुवाले आक्रमण गरेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका–९ गञ्छेबजार नजिक मर्काखोलामा चितुवाको आक्रमणबाट अस्मिता मुखियाको ज्यान गयो ।

घरमै बसेर पढिरहेका अवस्थामा सात वर्षिया मुखियालाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिप्रका अर्घाखाँचीले रेकर्डमा छ ।

सोही ठाउँ नजिक सन्धिखर्क नपा–९ खाँचीकोटको कुर दुवारमा सूर्यबहादुर विककी पाँच वर्षिया छोरी ललिता विकको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो ।

यस्तै यस्तै घटनामा तेह्रजनाको चितुवाले ज्यान लिएपछि स्थानीयवासी निकै त्रासित बनेका छन् ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका  अनुसार चितुवाको आक्रमणबाट घाइते हुनेहरू पनि छन् । अन्जु गैरे, परि दमासे  आदित्य नेपाली र गोपाल  सुनार घाइते भएका छन् ।

स्थानीयलाई अहिले लागेको छ, ‘विद्यालय आउँदा जाँदा होस् कि साँझ बिहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरूको सुरक्षा छैन ।’

स्थानीयको आक्रोस

चितुवा आतङ्क बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडालगायतका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ३ वर्षदेखि बारम्बार जिउधन रक्षाका लागि आग्रह गरिरहेका छन् ।

उनीहरूले नरभक्षी चितुवालाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेका छन् ।

सन्धिखर्क, खाचिकोट, ढिकुरालगायतका स्थानीयवासीले अर्घाखाँचीमा निरन्तर चितुवाको आक्रमणबाट ठूलो मानीवय क्षति भएपछि जिल्लालाई सङ्कटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका हुन् ।

सरकारले बाघलाई पक्रन वा मार्नको निम्ति पहल नगरे गाउँ छाड्न बाध्य हुने उनीहरूको भनाइ छ । 

चितुवा मार्न सेना र प्रहरी परिचालन गरिए पनि चितुवा फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाको भनाइ छ । 

चितुवाको बिगबिगी जिल्लाका अन्य क्षेत्रमा भन्दा सन्धिखर्क बजार क्षेत्रले समेटिएको वरिपरि नै बढी आक्रमण गरेको छ ।
 
आफूहरू गाउँमा चितुवाबाट असुरक्षित भएको र नरभक्षी चितुवा नमारेसम्म  मृत्यु भएकी अस्मिताको शव नउठाउने भन्दै गाउँले जिल्ला प्रशासनमा आएर निवेदन दिएका थिए ।

उनीहरूले दिएको निवेदनपछि जिल्लाका विभिन्न स्थानमा घरमै आएर चितुवाले बालबालिका आक्रमण गरेर आतङ्क मच्चाउने चितुवा खोज्न प्रशासनले प्रहरी परिचालन गरेको थियो ।

सन्धिखर्क, ढिकुरा र नुवाकोटका बासिन्दाले नरभक्षी चितुवा मार्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीसँग निवेदन दर्ता गराएपछि प्रशासनले चितुवा खोज्न प्रहरी परिचालन गरेको थियो ।

यहाँ जब चितुवाको आक्रमाणबाट बालबालिको मृत्यु हुन्छ अनि मात्र स्थानीयबासी, दलका कार्यकर्ता तथा प्रशासन खोजीका लागि काम गर्छ । तर, दीर्घकालीन रूपमा चितुवाको आक्रमण रोक्न ठोस काम भएको देखिँदैन । बाघको आक्रमणबाट छोरा गुमाएका रमेस के.सी. भन्छन्, ‘अन्य बालबालिकामाथि हुने आक्रमण रोक्न लागि अर्घाखाँचीमा ठोस काम भएन । प्रशासनले गम्भीरता देखाएन । भविष्यमा यस्ता घटना दोहरिन सक्छन् ।’

बच्चाहरू विद्यालय जाँदा आउँदा होस जाहाँ जङ्गलको बाटो भएर कतै जाने बेला डराउने गरेको नेपाल पत्रकार माहसङ्घ आर्घखाँचीका पूर्व सभापति शोभाकर पन्थीले बताए ।

‘चितुवाको त्रास कायमै छ । दलका भातृसङ्गठन प्रहरी प्रशासन केही दिन तातिन्छन् । दुई चार दिनपछि फेरि सेलाउँछन् ।’ उनले भने– ‘स्थानीयले तीन वर्षदेखि जिउधनको रक्षाका लागि आग्रह गरिरहेका छन् । उनीहरूले  चितुवालाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरिरहेका छन् । तर, काम भएन ।’
 
यस्तो काम भइरहेको छ ।

पछिल्ला वर्षमा चितुवाले मान्छेमाथि आक्रमण गर्न थालेपछि स्थानीय प्रशासनले मान्छे खाने चितुवा मार्न आदेश दिएको छ ।  मार्न वा खोजीका लागि सेना, प्रहरी, वन कर्मचारी र स्थानीयवासी लागेको प्रशासनको भनाइ छ ।
 
चितुवा मार्नका लागि सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोटलगायतका क्षेत्रमा हतियारसहित सेना, प्रहरी र जिल्ला वनको टोली परिचालन गरिएको छ ।

विभिन्न ठाउँमा बाघ खोर निमार्ण गरिएको छ । जसमा बेलुकापख बाख्रो राखेर  छाडिन्छ । चितुवा बाख्रो खाने लोभमा भित्र छिर्दा उक्त खोरमै अड्किन्छ ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका अनुसार सन्धीखर्क नपा–२ व्योहरे–७ दोहार–७, मर्कामुख, भूमिकास्थान न.पा.–९ ढिकुरालगायतका स्थानमा गरिएको छ । यस्तै रात्रि गस्ती र बाघ ढुक्ने काम भएको छ ।

जिल्ला वन कार्यालय अर्घाखाँची प्रमुख दीपक ज्ञवालीअनुसार बाघ आक्रमण एरियामा घरवरिपरि झाडी सफा गर्ने काम सकिएको छ ।

पछिल्लो  घटनाले चितुवा मार्न या प्रकाउ गर्नका लागि विज्ञटोली, सेना प्रहरी, खटिएको दुई हप्ता भयो । तिनबाट सामुदायिक वनका सयौँ मान्छे पनि खटिएका छन् ।

प्रमुख ज्ञवाली भन्छन्– ‘हामीलाई स्थानीयको सहयोग छ । स्थानीय र हामी दुवै मिलेर खोजी कार्य जारी राखेका छौँ ।’

चितुवाले आक्रमण गर्ने क्षेत्र लुकेको हुन सक्ने सामुदायिक वनलाई लक्षित गरेर खोजी कार्य जारी राखिएको छ ।

बोओरे सामुदायिक वन, रिपा पहाड सामुदायी वन उजेली सामुदायीक लगायतका उपभोक्ताहरू सक्रियता बढेको छ ।

केही ठाउँमा साँझको बेला चितुवा ढुक्ने काम भएको छ । सेना, प्रहरी, वन कर्मचारी, स्थानीयसहितको टोलीले  चितुवा हिँड्न सक्ने गौंडाहरूमा  ढुकेर बस्ने गरेका छन् ।

पश्चिमाञ्चलका अन्य जिल्लाको अवस्था

नेपाल प्रायः सबै जिल्लामा पाइने चितुवाले पश्चिमाञ्चल अन्य जिल्लाहरूमा पनि दुःख दिएको छ । चितुवाले अर्घाखाँची जिल्लाबाहेक अन्य यस क्षेका जिल्लाहरूका मानिस माथि आक्रमण गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक बुद्धिसागर पौड्यलका  अनुसार पश्चिमाञ्चल  क्षेत्रमाको पछिल्लो ५ वर्षको तथ्याङ्कअुनसार सबैभन्दा धेरै  चितुवाको आक्रमणबाट मानिसको मृत्यु भएको अर्घाखाँची जिल्ला हो । 

अन्य जिल्ला पनि चितुाले मानिसमाथि आक्रमण गरेको छ ।

चितुवाले  निरन्तर आक्रमण नपलपरासी, स्यास्जा,कास्की, लमजुङ जिल्लामा गरेको छ ।

पश्चिामाञ्चल क्षेत्रीय वन निर्देशालय पोखराका अनुसार अर्घाखाँची बाहेका आर्थिक वर्ष २०७१ मा लमजुङमा एक जनाको मृत्यु भएको छ । २०७३ मा चितुवाको आक्रमणबाट पर्वतमा १ जनाको मृत्यु भएको छ ।

आर्थिक २०७३ । ७४ मा नवलपरासीमा ५ जनाको मृत्यु भएको छ । यहाँ  चितुवा र बाघ कारण मृत्यु भएको रेकर्ड छ । यस्तै स्याङ्जा १ जनाको  चितुवाको आक्रमण परी ज्यान  गएको छ ।

यस्तै चितुवाको आक्रमणबाट घाइतेहरू  पश्चिामाञ्चल क्षेत्रमा जिल्लामा आथिर्क वर्ष २०७० । ७१ मा १० घाइते भएका छन् । आथिर्क वर्ष २०७२। ७३ मा कास्कीसहित ४ जिल्लामा थप १० जना चितुवाले घाइते बताएको छ । यस्तै २०७३ । ७४ मा ७ जना घाइते भएका छन् ।

चितुवाले मानिसमाथि आक्रमण गर्नुको कारण के ?
प्रा.डा.झमक कार्की

मलाई  चितुवा र मानिस द्वन्द्व ठूलो रूपमा नएको जस्तो लाग्दैन । चितुवाले आहाराको खोजी र बासको  तथा अन्य सुरक्षित स्थानको खोजीमा आउने क्रममा  यस्ता घटनाहरू  धेरै भएको हुन्छन् ।

विगतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काम गरेको अनुभवसमेत रहेका प्रा. कार्की कहिलेकाहीँ सहरमा पनि चितुवा छिरेको बताउँछन् ।

उनी भन्छन्– काठमाडौँ, पोखरा जस्ता सहरहरूमा दिउँसो चितुवा आएको छन् । ती बास अथवा आहारको खोजी गर्दै गर्दा आएका  हुन् । कतिपय अवस्था उनीहरू बाटो बिराए पनि आएका छन् । तर मानिसमाथि आक्रमण गर्नका लागि सहर आएका होइन् । अफ्ठ्यारो अवस्थामा मुसाले समेत आक्रमण गर्छ ।  चितुवा स्वाभवले मांशकारी जनावर हो । उसले आहाराको लागि समेत आक्रमण गर्न परेको हुन सक्छ ।

चितुवाले लुकेर आक्रमण गर्ने हो । रतुवा, बादर, मृग, बदेल उसका मुख्य आहारा हुन् ।

पछिल्लो समय सामुदायिक वन वृद्धिसँगै रूखहरू बढेका छन् । ठूला रूखहरूको वृद्धिसँगै तल ससना रूखहरू कम छन् ।

तथर्स जगलमा चितुवाले खान मन पराउने जनावर कमी भएका छन् । स्वाभवले बाघ या चितुवाले मानिस खाने होइनन् ।

जङ्गली जनावर क्रमशः कम हुँदै जाँदा चितुवाले  गाई, बाख्रामाथि आक्रमण सुरु भएको हो भने घरघर आएर कुकुर खाने थालेको हो ।

केही वर्ष पहिले बैतडी जिल्लामा बच्चाहरूमाथि आक्रमण गरेको केस मैले हरेको थिएँ । यहाँले उठाएको जस्तो अर्घाखाँची जिल्लामा डिटेल मलाई जानकरी छैन । त्यहाँको भौगोलिक अवस्था, वन क्षेत्र, आदिले पनि चितुवाको आक्रमणको भर पर्छ ।

आहारा खोजी गर्दै जाँदा लुकेर बस्ने चिुतवाले गाउँघरतिर कुकर खाँदा खाँदै बच्चाहरूमाथि आक्रमण गर्न सुरु गरेको हो । चितुवाले सुरुमा जङ्गली जनावरको खोजी गर्छ । 

जङ्गलमा भेडा, बाख्रा, गाई पनि चराउन लैजाने पहाडी जिल्लाहरू  प्रचलन छ । जङ्गल चराउँदा उसलाई आक्रमण गर्न सहज हुन्छ । किनकी घरपालुवा जनावर चितुवाको आक्रमण गर्दा जङ्गली जनावरजस्तै भाग्न सक्दैनन् । उनीहरू चाँडो आतिन्छन् ।  

अर्को चिुतवाले आफ्नो मुख्य आहारलाई २० पटकसम्म पनि आक्रमण गरेर खाने गर्दछ । उसलाई मनपर्ने चित्तल, मृग, बाँदर जस्ताका  लागि हो । मान्छेमाथि त्यो अवस्था आउँदैन ।

 बच्चाबच्चीलाई मुख्य आहारा बनाएको छैन ।

चितुवाको आक्रमणाबाट कसरी सुरक्षित हुने ?

खासगरी बच्चामाथि आक्रमण रोक्नका लागि उसको आहारामा ध्यान दिनुपर्छ ।

 उनले आहारा नपाएपछि  बाध्यात्मक रूपमा बालबालिका माथि आक्रमण गरेको हो । वनको वृद्धिसँगै जङ्गली जनावरहरू बस्ने बतावरण बनाउनुपर्छ ।
बाघलाई पानीको आवश्यता पर्छ, पानि खाने क्रममा पनि कहिले काहीँ गाउँ पसेर बालबालिका माथि आमक्रमाण गरेको छ ।

रोक्नका लागि  सचेतना कार्यक्रम आवश्यक छ । बालबालिकामाथि बिहान बेलुका आक्रमण गर्दछ । घरनजिकैसम्म रहने जङ्गल कम गर्नुपछर्, पहाडमा आगनको

१० मिटर सम्म पनि मकै तथा अन्य झाडी राख्ने चलन छ । बच्चालाई साँझबिहान  एक्लै  छाड्नु हुँदैन् । उज्यालोका व्यवस्था पनि गर्नुपर्छ । सकिन्छ भने ठाउँठाउँमा सोलार जडान गर्दा हुन्छ  ।

नेपालमा बाघको सङ्ख्या यकिन, चितुवाको कुनै ठेगान छैन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नेपालमा बाघको सङ्ख्या १९८ रहेको रहेको जनाएको छ । यो सन् २०१३ गरिएको गाणना १४ मा सार्वजनिक गरिएको सङ्ख्या हो । 

अहिले सन् २०१७ मा पनि फेरि गणना गर्ने सरकारले घोषणा गरेको छ । अहिले थप वृद्धि हुने अपेक्षा बाघ संरक्षण क्षेत्रमा लागेकाहरूको रहेको छ । उनीहरूले विगतको तुलनमा बाघको बासस्थान बढ्नु र चोरी सिकारीमा केही कमी आएकाले बाघको सङ्ख्या अहिले बढ्ने अनुमान  गरेका छन्  ।

गणना गरेको अर्को वर्ष बाघको सङ्ख्या सार्वजिक गरिन्छ । अहिले  नोभम्बर महिनाबाट सरकारले गणना गर्ने तयारी गरेको छ । अहिले पनि यसको सङ्ख्यामा वृद्धि हुने अपेक्षा छ  ।

 सन् २०१३ को गाणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा मात्रै १ सय २० बटा बाघ रहेका  छन् ।

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ५० वटा, शुक्लाफाँटा वन्य जन्तु आरक्ष क्षेत्रमा १७ वटा, पर्सा वन्यजन्तु अरक्ष र मध्यवर्ती क्षेत्रमा ७ वटा र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा बाघ फेला परेका हुन् ।

सरकारले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने अभियानअन्तर्गत  विभिन्न काम सरकारले गरेको छ ।

पछिल्लो समयमा कपिलवस्तु र दाङमा पनि बाघको बासस्थान रहेको बताइएको छ ।

विश्वका १३ मुलुकमा बाघ पाइन्छ । विश्वभरमा रहेका तीन हजार बाघमध्ये भारतमा सबैन्दा बढी बाघ छन् । नेपाल आठौँ स्थानमा पर्छ । नेपालमा बाघको जस्तै चितुवाको गणना भएको छैन तथर्स नेपाल कति चितुवा  छन् एकिन तथ्याङ्क छैन ।

दुई दशक पहिले एउटा विदेशी संस्थाले गरेको अध्ययनमा नेपालमा दुई जिल्लाबाहेक अन्य सबै जिल्लामा चितुवा पाइने अध्ययन देखाएको छ ।
 
 उक्त अध्ययनमा घनुषा र मुस्ताङ बाहेकका जिल्लामा चितुवा पाइएको थियो । तर यो निकै पुरानो अध्ययन हो । अहिले  चितुवाको अवस्था के छ स्पष्ट्र भन्न सक्ने आधार छैन् ।

चितुवाको सरकारले कुनै चासो दिएको छैन् । गणना गर्ने, बासस्थान आदिको खोजी गरेको पाइँदैन् । सकारले चितुवाको सङ्ख्या बढेको या घटेको कुनै आघिकारी तथ्याङ्ग राख्ने  कामसमेत गरेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप