दस नेताका रोग

person access_timeकात्तिक ७, २०७४ chat_bubble_outline0

कार्यवहाक प्रधानमन्त्री, दुईपटक उपप्रधानमन्त्री र पाँचपटक मन्त्रीको भूमिका निर्वाह गरिसकेका भरतमोहन अधिकारीलाई दमले समातेको छ । पूर्वमन्त्री अधिकारीले भने, ‘मुटुमा समस्या छ । ग्यास्ट्रिकले सताएको धेरै भयो । पिसाबमा पनि समस्या छ । समय÷समयमा स्वास्थ्य परीक्षण गराउँदै आएको छु ।’

विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेल ‘मल्टिपल प्रब्लम’ बाट गुज्रिरहेका छन् । त्यसलाई ‘केयर’ गर्दै आएका उनी आफूलाई स्वस्थ र सक्रिय राख्न प्रयत्नरत छन् । ‘दीर्घरोग भन्ने शब्द÷पदावली नै मन पर्दैन,’ उनले सुनाए, ‘रोग नभएको कोही पनि छैनन् । रोगलाई सकारात्मक ढंगले लिने र मैत्रीपूर्ण व्यवहार गर्ने गर्नुपर्छ । मधुमेहका कारण तीन÷तीन महिनामा नियमित चेक–जाँच गराउँछु ।’ ‘ब्लड प्रेसर लो’ रहेको उनलाई पहिले पेटको समस्या थियो । मन्त्री भएपछि डाइबिटिजले समेत समातेको उनले बताए । 

हिजोआज उच्च रक्तचापले नसमातेको को होलान् र ? संघीय समाजवादी फोरम वरिष्ठ नेता अशोक राईसमेत यसबाट अछुतो छैनन् । वरिष्ठ नेता राईलाई उच्च रक्तचापले समातेको छ । ‘औषधि सेवन गर्दै आएको छु । वर्षमा एकपटक ‘होलबडी चेकअप’ गराउँछु,’ उनले भने, ‘सामान्य चेकअप पनि गराइरहन्छु । उच्च रक्तचापबाहेक अन्य दीर्घ रोग छैन । म तनाव लिँदै लिन्न । जीवनलाई तनावमुक्त राख्नुपर्छ । हाँसीखुसी जिउने प्रयत्न गर्नुपर्छ भन्ने मान्यता राख्छु ।’ 

उनी खानपानमा पनि त्यत्तिकै सचेत छन् । उनले स्वास्थ्यलाई हानि हुने खानेकुरा खाँदैनन् । झुक्याएर वा झुक्किएर खाएमा अर्कोपटक दोहोर्याएर खाँदै खाँदैनन् ।

कहिलेकाहीं दाँत दुख्नेबाहेक पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही स्वस्थ छन् । मन्त्री शाहीको आँखा हिउँले खाएको छ । स्वास्थ्यप्रति सचेत उनले सालिन्दा एकपटक होलबडी चेकअप गराउँछन् । 

सहरी विकासमन्त्री दिलनाथ गिरीलाई समेत रक्तचाप र मधुमेहले समातेको छ । ‘उत्ताउलो खानेकुरा खान्न । धूमपान, मद्यपान गर्दिनँ,’ मन्त्री गिरीले सचेत रहेको उदाहरण दिए, ‘चिल्लो पिरो सकेसम्म खान्न । त्यसैले दुवै रोग सन्तुलनमा राखेको छु ।’ उनले जुन बेला, जुन रोग देखापर्छ, त्यतिबेला त्यही रोगको उपचार गर्ने गरेका छन् । 

नेपाली भाषणवाजका रूपमा चिनिएका लीलामणि पोखरेल स्वास्थ्यलाई ध्यान होइन पेलपाल गरेर हिँड्ने व्यक्ति हुन् । नेता पोखरेललाई ब्रोङ्काइटिस छ । ढाडसमेत दुख्छ । ‘पहिले बढी हिँडेकाले होला, घुँडा खिइएको छ,’ माओवादी केन्द्र नेतासमेत रहेका उनले भने, ‘रक्तचापले समातेकाले एमलोठ फाइभ सेवन गर्दै आएको छु ।’ 

नेता पोखरेल मानसिक तनाव लिँदैनन् । उनी बढी हिँड्ने, डुल्ने र उफ्रने भएकाले उमेर र स्वास्थ्यका हिसाबले फरक देखिन्छन् । ‘मेरो पाचन क्रिया बलियो छ । म अकबरे खुर्सानी खान्छु,’ उनले उदाहरण पेस गरे, ‘अकबरे खुर्सानी खाँदा फाइदा हुन्छ भनेर कसैले सुझाएपछि मैले नियमित खाँदै आएको छु । यसले पाचन क्रियालाई सघाउँछ । अन्य खुर्सानीले पाचन क्रिया कमजोर बनाउँछ । अकबरे खुर्सानीले ग्यास्ट्रिकलाई फाइदा गर्छ ।’ उनले दैनिक आठवटासम्म अकबरे खुर्सानी खान्छन् । 

८३ वर्षमा हिँड्दै गरेका नेकपा (मसाल) महामन्त्री मोहनविक्रम सिंहलाई केही समयअघि ज्वरो आयो । मसाल महामन्त्री सिंहले सुनाए, ‘त्यसपछि ग्रान्डी अस्पताल भर्ना भएँ । चेकजाँच गर्दा मुटुको भल्भमा लिकेज भएको, फोक्सोको दुवैपट्टि पानी जमेको, पिसाब र रगतमा समेत समस्या देखियो । विभिन्न समय गरी झन्डै महिना दिन ग्रान्डीमा उपचारपछि स्वास्थ्य सामान्य बन्दै गएको छ ।’

संवत् २०१० देखि कम्युनिस्ट आन्दोलनमा सक्रिय सिंहलाई मधुमेहले पनि समातेको छ । स्वास्थ्यमा सचेत उनी सालिन्दा ‘होलबडी चेकअप’ गर्न बिर्संदैनन् ।
रक्तचापले समातेपछि नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले औषधि सेवन गर्दै आएका छन् । अध्यक्ष बिजुक्छेलाई घुँडाको समेत समस्या छ । 

पूर्वसांसद रामहरि खतिवडालाई समेत समय उच्च रक्तचापले समातेको छ । पूर्वसांसद खतिवडाको रक्तचाप १४०÷९० हुन थालेको छ । ‘रक्तचाप बढे पनि अहिलेसम्म हिँड्दा, डुल्दा त्यसको असर देखापरेको छैन,’ उनले खुसी व्यक्त गरे, ‘निद्रा राम्रै लाग्छ । खाएको पचेकै छ । बोल्न अप्ठ्यारो परेको छैन ।’ 

ग्यास्ट्रिक नभएको नेपाली पाउन कठिन छ । ग्यास्ट्रिकपछि रक्तचापपीडित नेपालीको बाहुल्य छ । रक्तचापपीडित नेता पनि बाक्लै भेटिन्छन् । नयाँ शक्ति केन्द्रीय परिषद् पूर्वसदस्य पासाङ शेर्पालाई उच्च रक्तचाप र युरिक एसिडले समातेको छ । ‘औषधि सेवनपछि १४०÷९० मा झरेको छ,’ उनले सुनाए, ‘औषधि सेवन नगर्दा १५०÷१०० हुन्छ ।’ उनले फुटबल, ब्याडमिन्टन खेल्ने, स्वीमिङ गर्ने भएकाले ज्यान ठीकठाक राखेका छन् । 
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ