बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाहिर चुनाव बहिस्कार, भित्रभित्रै राजेन्द्र महतोको अनौंठो कनेक्सन

शुक्रबार, ०९ असार २०७४, १७ : ४८
शुक्रबार, ०९ असार २०७४

ओम शर्मा/शम्भु दंगाल

 मर्चवार (रुपन्देही)– असार ४ गते उम्मेदवारी दर्ता गराउने दिन राजपा नेपालका नेताहरु रुपन्देहीको भैरहवा पुगे । चुनाव वहिस्कार गर्ने उद्घोषका साथ काठमाडौंबाट नवलपारसी हुँदै  उनीहरु ५ नम्बर प्रदेशको मुख्य शहर भैरहवा पुगेका थिए ।  यसरी उम्मेदवारी दर्ता गराउने दिन भैरहवा पुग्नेमा  चुनावको चर्को विरोध गर्ने राजेन्द्र महतोदेखि महन्थ ठाकुर, राजकिशोर यादवसम्मका नेताहरु दिए । 

उम्मेदवारी दर्ता गराउने अघिल्ल्लो दिन नवलपरासीको  परासीमा आयोजित विरोधसभामा  राजपा नेताहरुले भनेका  थिए, ‘हाम्रो माग सम्बोधन नभएसम्म चुनावमा सहभागि हुन सक्दैनौं । हामी  विथोल्छौं ।’ 

उनीहरुले विरोधसभाबाट चुनावविरोधी अभिव्यक्ति दिँदै कार्यकर्तालाई समेत  सोहि अनुसार लाग्न सर्कुलर जारी गरेपनि भित्रभित्रै भने  रुपन्देहीका मर्चवार क्षेत्रका गाउँपालिकामा राजपाले उम्मेदवार खडा गराएको पाइएको छ ।  रोचक त के छ भने चुनावको चर्को आलोचना गर्ने  राजेन्द्र महतोकै अगुवाईमा ती उम्मेदवारहरुले असार ४ गते  स्वतन्त्र हैसियतामा उम्मेदवारी दर्ता गराएका पाइएको हो ।  
राजेन्द्र महतो तिनै हुन् जसले सार्वजनिक कार्यक्रमहरुमा आफूहरुलाई पेलेर  चुनावमा गइए ‘रगतको खोले बग्ने’सम्मको गैरराजनीतिक अभिव्यक्ति दिएका थिए । 


यस्तो छ राजेन्द्रको चुनावी कनेक्सन

राजेन्द्र महतोको चुनावी कनेक्सन कसरी रह्यो भन्ने कुरा  यहाँ उल्लेख गरिँदै छ । सर्वेन्द्रनाथ शुक्ला  तमलोपाको पूर्व नेता तथा हाल गठन भएको राजपाका  प्रभावशाली नेता हुन् ।   गत संविधानसभाको दोस्रो निर्वाचनमा  मर्चवार क्षेत्र (रुपन्देही क्षेत्र नम्बर–६) बाट उनी विजयी भएका थिए । 
  मर्चवार क्षेत्रका साविकको १८ गाउँपालिका मिलेर अहिले तीन गाउँपालिका बनेको छ भने ती सबै स्थानमा सर्वेन्द्रको पकड रहेको बताइन्छ । आफ्नो पकड कायमै राख्नको लागि उनले पार्टीको  चुनाव वहिस्कार गर्ने नीति भएपनि स्वतन्त्र उम्मेदवार खडा गरी जनाततै उम्मेदवारी दिन लगाए ।
सर्वेन्द्रले  आफ्ना मान्छेलाई उम्मेदवारी दिन थालेपछि एकाएक राजेन्द्र महतोले पनि आफूलाई शक्तिशाली देखाउन आफू निकटकालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको एक नेताले रातोपाटीलाई जानकारी दिए । 

कोटहीमाई गाउँपालिकामा सशक्त उम्मेदवारको रुपमा स्वतन्त्रबाट राजपाका स्थानीय नेता राघवेन्द्र प्रताप त्रिपाठी (बिट्टु बाबु) ले उम्मेदवारी दिएका छन् ।    त्रिपाठी राजपाका नेता हुन् भने तत्कालिन सद्भावना पार्टीको लडाकु संगठन रक्षाबाहिनीका सदस्य समेत हुन्  ।  यतिमात्र नभई उनी  राजपा नेता राजेन्द्र महतोको विश्वासपात्र समेत भएको बताइएको छ ।   राजेन्द्र महतो विश्वासपात्र समेत रहेको  त्रिपाठीले पुष्टि गर्दै भने, ‘मेरो उम्मेदवारीमा स्वाभाविक रुपमा अध्यक्षजी(राजेन्द्र महतो) को  सहयोग रहने नै भयो । म चुनाव जित्छु ।’ ‘चुनाव वहिस्कार गर्नेले गर्दै गर्ने र चुनावमा भाग लिनेले लिँदै गर्ने’ भन्ने अभिव्यक्ति दिँदै उनले  राजेन्द्र महतोले आर्थिकदेखि सबैखालको सहयोग गरेको समेत बताए । 

कोटहीमाईमा मात्रै नभएर राजेन्द्र महतोको समर्थनमा मर्चवार क्षेत्रमा रहेका सम्मरीमाई  र मर्चवारी गाउँपालिकामा पनि स्वतन्त्रमा उल्लेखनीय उम्मेदवारी परेको स्थानीय नेताहरुले बताए ।  त्यसमा कसैले चुनावमा भागलिनुपर्ने मनसायले त कतिले नेताहरुबीचकै प्रष्तिष्ठाको सवालका कारण स्वतन्त्रबाट उल्लेख्य संख्यामा उम्मेदवारी दिएको स्थानीय नेताहरुको भनाई छ । 
विशेषतः राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्लाले भित्रिरुपमा सहयोग गरेर उम्मेदवार उठाएका हुन् ।  राजेन्द्र  ६ पार्टी मिलेर  राजपा गठन हुनुअघिको सद्भावना पार्टीका अध्यक्ष हुन् भने शुक्ला तमलोपाका प्रभावशाली नेता हुन् । 

उम्मेदवारी दिँदा राजपाभित्र विवाद
संविधान सशोधन हुनुपर्ने, मधेसमा स्थानीय तहको संख्या बढाइनुपर्ने लगायतका माग राख्दै सरकारसँग बार्गेनिङमा रहेको राजपा अन्ततः असार १४ को लागि तोकिएको चुनावमध्ये २ नम्बर प्रदेशको चुनाव असोज २ गतेका लागि सार्न त तयार भयो तर उसले आफ्ना प्रभाव रहको ५ नम्बर प्रदेशका  कपिलबस्तु, नवलपरासी र भैरहवाको माग राख्यो ।  सरकारले  २ नम्बर बाहेक अरु प्रदेशको  चुनाव  सार्न अस्विकार गरिदिएपछि राजपा  माग पूरा नभएको कारण देखाउँदै  चुनाव बहिस्कार गर्ने निश्कर्षमा पुगेको थियो । तर, नेताहरुको स्वार्थकै कारण   तीन जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा राजपाले स्वतन्त्रबाट उम्मेदवारी दिएको हो । जुन मर्चवार क्षेत्रका गाउँपालिकामा पनि रातोपाटी पुग्दा प्रष्ट देखियो । 
अहिले चुनाव वहिस्कार गर्ने निर्णय गरेर पनि राजपाका शीर्ष नेताहरुले नै स्वार्थका कारण भित्रभित्रै उम्मेदवार खडा  गरेको भन्दै पार्टीभित्र तीब्र विवाद भएको बताइएको छ । 


अध्यक्षमा १५ जनाको उम्मेदवारी, स्वतन्त्रमानै ७ को उम्मेदवारी

कोटहीमाई गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार  सो गाउँपालिकामा अध्यक्ष पदमा १५ जनाको उम्मेदवारी परेको छ । जसमा स्वतन्त्र उम्मेदवारी नै ७ जनाको परेको छ । स्वतन्त्र उम्मेदवारी दिने अधिकांश चुनाव बहिस्कार  गर्ने निर्णयमा पुगेका राजपाका स्थानीय नेताहरु  भएको बुझिएको छ । 

यी हुन् कोटहीमाईका उम्मेदवार

कोटहीमाई गाउँपालिकाको प्रमुख पदमा ७ स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको छ ।  प्रमुखहरुमा कांग्रेसका विरेन्द्र कलवार, एमालेका विन्ध्याचल यादव, माओवादी केन्द्रका गुरु चरण प्रसाद केवट र संघीय समाजवादी फोरमबाट चन्द्र भूषण यादवको उम्मेदवारी परेको छ ।  यस्तै फोरम लोकतान्त्रिक पार्टीबाट बलीराम यादव, राप्रपाबाट चन्द्र प्रकाश शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट  महेश्वर मुराव र  बहुजन शक्ति पार्टीबाट रामकेश पासीको उम्मेदवारी परेको छ ।
 यस्तै स्वतन्त्रबाट  अशोक कुमार कलवार, कुशलतादेवी कलवार, गणेशमणि त्रिपाठी, प्रह्लाद चमार, बालकृष्ण त्रिपाठी, राघवेन्द्र प्रसाद त्रिपाठी र  सर्वेन्द्र कुमार यादव अध्यक्षका उम्मेदवार रहेका छन् ।  स्वतन्त्र मध्ये राघवेन्द्र राजेन्द्र महतोको निर्देशनमा उम्मेदवार बनेको  यसअघि नै उल्लेख रातोपाटीले उल्लेख गरिसकेको छ भने बालकृष्ण सर्वेन्द्रनाथ शुक्लाको निर्देशनमा उम्मेदवार बनेका  हुन् ।  यस्तै उपाध्यक्ष र  बडाध्यक्षमा पनि उल्लेख्य उम्मेदवारी परेको छ । 

कसले मार्ला बाजी ?
कोटहीमाईमा  कांग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रीत दलहरुबीच तीब्र प्रतिश्पर्धा हुने देखिएको छ ।  जसमा स्वतन्त्र उम्मेदवारी दिएका बालकृष्ण र राघवेन्द्र पनि बलियो प्रभाव बनाएका उम्मेदवार रहेको बताइएको छ ।  यता एमाले उम्मेदवार विन्ध्याचल यादवले मर्चवारमा एमालेले उम्मेदवारी दिनु नै ठूलो कुरा भएको बताए ।  चुनाव विथोल्ने धम्की दिने राजपाका नेताहरुकै  उम्मेदवारी परेसँगै मर्चवार क्षेत्रको चुनावी माहोल ह्वात्तै बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप