निर्वाचन चिन्ह अंकित टोपी, टि–सर्ट र गम्छा प्रतिबन्ध

काठमाडौं– निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन चिन्ह अंकित टोपी, टि–सर्ट र गम्छा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
आयोगले आइतबार ७७ वटा जिल्लालाई लिखित निर्देशन दिँदै निर्वाचन चिन्ह अंकित टोपी, टि–शर्ट, गम्छाजस्ता साङ्केतिक सामग्रीहरू उत्पादन, विक्री वितरण र प्रदर्शन गर्न निषेध गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।
आयोगको आदेश विपरीत निर्वाचन प्रचारप्रसारमा उपरोक्त सामग्रीहरू प्रयोग गरेको पाइएमा त्यस्ता अवैध सामग्रीहरू जफत गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारबाही गर्नसमेत आयोगले निर्देशन दिएको छ ।
एक करोड १२ लाख समानुपातिको मतपत्र छापियो
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म एक करोड १२ लाखभन्दा बढी मतपत्र छपाइ गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आवश्यक सात प्रकारका मतपत्रको छपाइ कार्य यही असोज १७ देखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ । समानुपातिकतर्फ एक करोड ७४ लाख मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ ।
समानुपातिक सूची सच्उने समय कात्तिक १२ गतेसम्म
यस्तै, असोज २९ गते निर्वाचन आयोगमा पेश गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको समानु्पातिकतर्फको बन्दसूची सच्चाउने काम कात्तिक १२ गतेसम्म सम्पन्न हुने आयोगले जनाएको छ ।
तपाईको ईमेल गोप्य राखिनेछ