शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकका भरिया मृत भेटिए, एक बेपत्ता

आइतबार, ०५ कात्तिक २०७४, १९ : ४३
आइतबार, ०५ कात्तिक २०७४

पोखरा– कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ९ उल्लेरीमा एकजना भरिया मृत अवस्थामा भेटिएका छन् । 

पोखराबाट घोडेपानीतर्फ पर्यटकको भारी बोकी गएका उदयपुर जिल्लाको ओख्ले–४ का २८ वर्षीय टेकबहादुर आलेमगर आइतबार बिहान मृत अवस्थामा भेटिएको प्रहरी कार्यालय प्रदेश नम्बर ४ को प्रेस विज्ञप्तिमा उल्लेख छ । साँझ खाना खाएर सुतेका आलेमगर बिहान मृत अवस्थामा भेटिएका हुन् । 

त्यसैगरी, पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ बसपार्कस्थित कृष्ण टोलका ५७ वर्षीय रामबहादुर भुजेलको उपचारका क्रममा मृत्यु भएको छ । 

शनिबार राति लगभग १ः०० बजेको समयमा सडकमा लडेर टाउकामा गहिरो चोट लागी गम्भीर घाइते भुजेलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 

दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मोटरसाइकल पल्टिँदा एक बेपत्ता 

यसैगरी, शुक्रबार राति पोखरामा परेको वर्षाका कारण एक मोटरसाइकल नालीमा पल्टिँदा एक जना बेपत्ता भएका छन् भने अर्का एकजना घाइते भएका छन् । 

उपल्लो दीपस्थित गोर्खा बोर्डिङ स्कुल नजिकको नालीमा खसेर पोखरा लेखनाथ महानगरपालिका वडा नं १९ का १८ वर्षीय पिजन गुरुङ बेपत्ता भएका छन् भने घाइते दीपक पुर्जाको उपचार भइरहेको प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । 

राति करिब ९ः०० बजेको समयमा भएको सो घटनामा परेको मोटरसाइकल लगभग २० मिटर तल नालामा भेटिएको र बेपत्ताको खोजी कार्य भइरहेको छ । 

पोखरामा खाली जग्गाको अभाव, खुला नाली र वर्षाको पानीको भल एकीकृत हुँदा सडकमा दिनप्रतिदिन जोखिम बढ्दै गएको छ । अघिल्लो साल भलकै कारण विभिन्न स्थानबाट चार जनाले ज्यान गुमाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप