गोरखामा भिड्दैछन् बाबुराम र नारायणकाजी, यस्तो छ उनीहरूबीचको सम्बन्ध

person access_timeकात्तिक ५, २०७४ chat_bubble_outline0

गत असोज १७ गते तीन दल एमाले, माओवादी र नयाँ शक्तिबीच वामगठबन्धनको घोषणा हुँदा राष्ट्रिय सभागृहमा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँगै थिए, एकअर्काको हात समाएर उठाएका थिए । त्यस दिनको घटनाक्रम हेर्दा यी दुई नेताबीच विगतको तिक्ततापूर्ण सम्बन्ध अब समुधुर होला भन्ने अनुमान गर्न सकिन्थ्यो । तर, प्रतिनिधिसभाका लागि गोरखा–२ मा एकले अर्कालाई छाड्न मानेनन् ।
 
अन्तत: यही कारण बाबुरामले बामगठबन्धन छाडेर काँग्रेससँग हात अगाडि बढाए । परिणाम अब बाबुराम काँग्रेससँगको गठबन्धनमा र नारायणकाजी एमालेसँगको गठबन्धनमा एउटै क्षेत्रमा चुनाव लड्दैछन् । दुवैले आज आफ्नो मनोनयन गरेका छन् । स्थानीय तहको चुनावी परिणाम हेर्दा यहाँ दुई नेताबीच निकै कडा टक्कर हुने अनुमान छ ।
 
आखिर बाबुराम र नारायणकाजी एकले अर्कालाई किन गोरखा–२ छाड्न मानेनन् ? यसभित्र केही आजका दिनमा केही नयाँ घटनाक्रमहरू अवश्य नै छन् । यसमाथि हामीले भिन्दै रिपोर्टिङ गर्नेछौँ । एकले अर्कालाई निषेध गर्ने बाबुराम र नारायणकाजीको सम्बन्ध कस्तो छ ? आज हामी पाठकहरूलाई यही विषय पस्कदैछौँ ।
 
बाबुरामले माओवादी छाडेर नयाँ राजनीतिक कोर्स अगाडि बढाएपछि प्रचण्ड र बाबुरामको सम्बन्ध तथा माओवादी आन्दोलनमा बाबुरामको भूमिका लगायतका विषय समेटेर पत्रकार नेत्र पन्थीले ‘डिभोर्स’ नामक पुस्तक लेखेका थिए ।
 
२०७२ सालमा प्रकाशित उक्त पुस्तकमा एउटा पाटो बाबुराम र नारायणकाजीको सम्बन्धसँग जोडिएको थियो । त्यही सामग्री हाम्रा पाठकहरूका लागि पत्रकार पन्थीको पुस्तक ‘डिभोर्स’ बाट तानिएको हो । 

०००

माओवादी परित्याग र सांसद पदबाट राजीनामा गर्नुपूर्व बाबुरामले सम्पर्क गरेका चार–पाँच जना नेतामा पर्थे नारायणकाजी श्रेष्ठ । त्यस दिन बाबुरामले आफूले पार्टी छाड्न थालेको कुरा सुनाएपछि नारायणकाजी झसङ्ग भए ।
 
पार्टीलाई रूपान्तरण गर्ने विषयमा उनीहरूबीच केही समयदेखि बाक्लो संवाद पनि भएको थियो र प्रचण्डलाई घेराबन्दी गर्ने विषयमा उनीहरू एक ठाउा देखिन थालेका थिए । प्रचण्ड–वैद्य, प्रचण्ड–बाबुराम, प्रचण्ड–बादल र वैद्य–बाबुरामको जस्तै बाबुराम–नारायणकाजीको सम्बन्ध पनि बढो बिचित्रको छ । एकले अर्कालाई सहज स्वीकार नगर्ने र प्रचण्डसँग नजिक बन्ने विषयमा उनीहरूबीच रस्साकस्सी हुन्थ्यो । तैपनि पछिल्लो समय निटता बढ्दै थियो । तर, बाबुरामको पार्टी परित्याग कदमले नारायणकाजीसँग पनि  राजनीतिक रूपमा सम्बन्ध–विच्छेद भयो । यद्यपि त्यसपछि पनि उनीहरूबीच कुराकानी हुन भने छाडेका छैन । प्रचण्ड र पार्टी रूपान्तरणवारे उनीहरूबीच पछिल्लो पटक बुझाईमा निकटता बन्दै गएको थियो ।
 
बाबुराम–नारायणकाजी दुवैको गृहजिल्ला गोरखा । ०६५ पुसमा तत्कालीन नेकपा माओवादी र एकताकेन्द्रबीच पार्टी एकता हुनुपूर्वसम्म उनीहरूबीच बाक्लो भेटघाट र संवाद हुादैन्थ्यो । तर, जब एकीकरण भयो, त्यसपछि एउटै कमिटीमा बसेर काम गर्न थाले दुवैले । गृहजिल्ला एउटै र पार्टीको हाइकमान्डमा बसेरसँगै काम गरे पनि बाबुराम–नारायणकाजीबीच सम्बन्धमा दुरी नै देखिरह्यो । यस्तो दूरी पार्टी कार्यकर्ता र केन्द्रीय तहका नेताहरूले पनि महसुस गर्थे । जस्तो कि पार्टी नेतृत्व हस्तान्तरणसम्बन्धी प्रचण्डको ०७१ मङ्सिर २८ को प्रस्तावमाथि नारायणकाजीको व्यङ्ग्य देखेर अरू नेता अचम्मित भए । उनले बाबुरामलाई भावी अध्यक्षका रूपमा स्वीकार गर्ने बताउँदा बताउँदै पनि आफ्नो असन्तुष्टि पोखे । कुरा ०७१ पुस १३ को हो । त्यस दिनको केन्द्रीय समिति वैठकमा नारायणकाजीले भनेका थिए, ‘बाबुरामजी अध्यक्ष हुनहुन्न भन्ने कहाँ छ र धेरै कुरा पारदर्शी छैन, सबै कुरा मलाई थाहा पनि हुँदैन ।’ यसको सीधा अर्थ थियो प्रचण्ड–बाबुरामबीच के लेनदेन भएको हो, मलाई थाहा छैन । गोप्य कोठामा दुई नेताबीच लेनदेन भएको भए पनि स्वीकार गर्न तयार रहेको नारायणकाजीको सङ्केत थियो । भावी अध्यक्षका लागि बाबुरामको नाम चर्चामा आउादा नारायणकाजी त्यति खुसी थिएनन् ।
 
बाबुराम–नारायणकाजी दुवैको बाल्यकाल गोरखामै विते । बाबुराम ब्राह्मण परिवारमा जन्मे भने नारायणकाजी नेवार परिवारमा । बाबुराम र नारायणकाजी भिन्दाभिन्दै पृष्ठभूमिबाट कम्युनिस्ट राजनीति आए । तर, दुवैको पारिवारिक पृष्ठभूमि भने काङ्ग्रेसकै थियो भन्दा हुन्छ । बाबुराममा राजतन्त्र विरोधी भाव थियो भने नारायणकाजी बीपी पथमा नै थिए ।
 
बाबुराम–नारायणकाजीबीच व्यक्तिगत रूपमै केही समानता र केही फरकपन छन् । पारिवारिक पृष्ठभूमिदेखि राजनीतिक उतार–चढाव, शिक्षा र निजी जीवनमा उनीहरूबीच दूरीकै सम्बन्ध छ । एकले अर्कालाई सहज स्वीकार्न नसक्ने अवस्थामा पनि दुवै माओवादीको केन्द्रीय र महत्वपूर्ण भूमिकामा थिए । माओवादीमा रहँदा दुवैले आफ्नो समूहको भाग खोज्दै प्रचण्डसँग राजनीतिक–वैचारिकदेखि सङ्गठनात्मक अन्तरसङ्घर्ष गर्थे । धेरै असमानताबीच पनि बाबुराम–नारायणकाजीबीच एकरूपता पनि छन् । दुवै प्रचारमुखी स्वभावका छन् । उनीहरूका लागि मिडिया नभई नहुने चिज हुन् ।
 
कहिले दलितबस्तीमा बसेर, कहिले बलात्कारपीडित युवतीसँगै डाको छाडेर रोएर त कहिले सामाजिक सञ्जालमा विवादास्पद तस्बिर राखेर बाबुरामले चर्चालाई समाइरहेका हुन्छन् भने नारायणकाजी पनि कमी छैनन् । उनले कहिले सार्वजनिक गाडी चढेर, कहिले थरि–थरिका पोसाक लगाएर त कहिले रोएर भए पनि आफूलाई चर्चामा राखिरहन्छन् । यद्यपि यसको बचाउमा दुवै अब्बल छन् । उनीहरूबीचको सबैभन्दा बढी निकटता ०६८ को धोविघाट भेलामा देखियो, जसलाई माओवादीको संस्थापनपक्षले अप्राकृतिक गठबन्धन भनेर टिप्पणी गरेको थियो ।
 
पहिलो संविधानसभा विघटन हुनेभएपछि बालुवाटारमा मिडियासँग कुरा गर्दै नारायणकाजी रोएका थिए । पछि एमाले नेता माधव नेपालले ग्लिसिङ लगाएर रोएको समेत भने । ‘पहिलो संविधानसभा विघटन हुँदै गर्दा बालुवाटार बैठकबाट बाहिर आएर तपाईं क्यामराका अगाडि धुरुधुरु रुनुभयो । तपाईंको रुवाइ कुनै भावुकता नभएर ढोंग मात्र हो । जनताको अगाडि म मात्र सही छु भनेर देखाउने चेष्टा मात्र हो नि ? ।’ ०७१ पुसमा अन्तर्वार्ता लिादा मैले प्रश्न तेस्र्याएको थिएँ ।
 
नारायणकाजीको जवाफ थियो, ‘समाज, जनता र देशलाई असाध्यै ठूलो क्षति पुऱ्याउने घटना भयो भने म निकै गम्भीर हुन्छु । आफूले देख्दादेख्दै केही गर्न सकिएन भने, यसो गर्नुपर्छ भन्ने थाहा पाउँदा–पाउँदै गुणात्मक भूमिका खेल्न सकिएन भने, देश र जनताले ठूलो क्षति बेहोर्नुपर्ने भयो भने मलाई ठूलो पीडा हुन्छ । म अलि भावुक प्रकृतिको नै छु । जीवनको अरू पक्षमा पनि हुन्छन् । मुख्य कुरा यही हो । त्यसबेला म बोल्दाबोल्दै भक्कानिएको थाहै पाइनँ । संविधानसभा हाम्रो असावधानीका कारण विघटनतिर जाने भयो भनेर बहस गरिएकै थियो । हामी ठूलो षड्यन्त्रको सिकार भयौँ भनेको थिएँ । त्यही दिन बिहान प्रधानमन्त्री बाबुराम र प्रचण्ड भएकै वेला बालुवाटारमा मैले भनेको थिएँ, ‘हामी ठूलो षड्यन्त्रको सिकार हुँदै छौँ । हामी फस्दै छौँ । संविधानसभा विघटनको खतरा छ ।’ अध्यक्षले एकपटक भन्नुभयो, ‘नारायणकाजीजीले भनेजस्तै षड्यन्त्र होला त ?’ तर, पनि उहाँहरू अन्तिममा सिरियस हुनुभएन । त्यो अनुसार नीति योजना बनेन । मधेसी मोर्चाका साथीहरूलाई तपाईंहरू दोहोरो चरित्र देखाउँदै हुनुहुन्छ भनेँ । उहाँहरूले ‘तपार्इंले गम्भीर कुरा गर्नुभयो’ भन्नुभयो । सबै ताल हेर्दै छु, हेर्दाहेर्दै संविधानसभा विघटन हुने भयो बा । मिडियामा कुरा गर्दै जाँदा संविधानसभा विघटन हुने भयो, बचाउन सकिएन भनेर रोएाछु । मेरो उक्त भनाइमा केहीले टिप्पणी पनि गरे । मैले मात्र भनेको थिएँ– विघटन हुँदै छ भनेर । हेर्दाहेर्दै विघटन त भयो नि ।’
 
बाबुराम–नारायणकाजी दुवै पुराना पत्रकार । दुवैले किताब लेखेका छन् । दोस्रो संविधानसभामा दुवैले चुनाव हारे । बाबुरामले गोरखाबाट जिते पनि रूपन्देही–४ बाट चुनाव हारे भने नारायणकाजीले मकवानपुर–४ बाट चुनाव हारे । पहिलो संविधानसभामा बाबुराम गृह जिल्लाबाट चुनाव जितेर संविधानसभा पसेका थिए भने नारायणकाजी २६ जनाको कोटामा मन्त्री परिषदबाट मनोनित भएर । नारायणकाजी आफूलाई बाध्यतामा लेख्ने लेखक ठान्छन् भने बाबुराम फुर्सद भए नियमित जसो लेख्न रुचाउँछन् ।
 
भूमिगत हुँदा नारायणकाजीका प्रज्ज्वल, नरेन्द्रमान, दीपक, सन्देश जस्ता नाम थिए । बाबुराम भूमिगत कालमा कमरेड लालध्वज नामबाट चर्चित थिए । क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति भाग–१, माघ–१९ र क्रान्तिकारी कार्यनीति, माओवादी र माओवादी जनयुद्धबारे तथा क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति भाग–२ नामक पुस्तक नारायणकाजीले लेखेका छन् । दुवैमाथि गुटलाई बढावा दिने गरेको आरोप लाग्थ्यो ।
 
०२६ को एसएलसीका बोर्ड फस्ट बाबुराम । त्यसपछि उच्च शिक्षा हासिल गर्न काठमाडौा छिरेका ।  सरकारले दिने एक सय रूपियाँ छात्रवृत्ति अनि घरबाटै आउने चामलले पढाइ अगाडि बढाएका थिए बाबुरामले । नारायणकाजीले १० कक्षासम्म गाउाकै परोपकार आदर्श माविमा पढे । उनी पनि बाबुरामजस्तै कक्षामा प्रथम हुन्थे । ०३२ मा एसएलसी गर्दा गणित विषयमा १०० मा सय नै नम्बर ल्याएका थिए । नारायणकाजी एसएलसीपछि काठमाडौा आएका हुन् बाबुरामजस्तै ।
 
०१७ मा बहुदलीय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि काङ्ग्रेसले स–शस्त्र सङ्घर्ष सुरु गऱ्यो । त्यति बेला बाबुरामका मामा कृष्णप्रसाद न्यौपाने काँग्रेसका नेता थिए । उनी वारेन्टेडमा थिए । बाबुरामको घरमा भूमिगत बसेका थिए । बाबुराम त्यतिबेला ६–७ वर्षका थिए । उनको घरमा भूमिगत बसेका मामाले राजतन्त्र विरोधी कुराहरू गरिरहन्थे, त्यहीबाट नै उनीमा राजतन्त्र विरोधीको मनोविज्ञान देखा पऱ्यो । तर, त्यो बामपन्थी विचारको जग बसिसकेको थिएन ।
 
बाल्यकालको मनोविज्ञान बाबुरामले अमृत क्याम्पसमा पढ्दा महसुस गरे । त्यति बेला स्नातकतर्फबाट राष्ट्रिय पञ्चायत सदस्यमा रामराजाप्रसाद सिंहले चुनाव जिते । सिंहलाई शपथग्रहण गर्न दिइएन् । उनको गिरफ्तारी भयो । त्यसको विरोधमा अमृत क्याम्पसमा भएको विरोध कार्यक्रममा बाबुरामसहभागी भए । यो नै उनको पहिलो राजनीतिक काममा सक्रिय सहभागीता बन्यो । ०२७ र ०२८ तिर राजनीतिक दलहरू प्रतिबन्धित थिए । राजनीति भनेको विद्यार्थी गतिविधि मात्रै थिए, नेविसङ्घ र अखिल भर्खर गठन भएका । अखिल र नेविसङ्घ भनेर चुनाव लड्ने । बाबुरामको राजनीतिक चेतना राजतन्त्र विरोधी त थियो । तर, त्यतिबेला काँग्रेस वा कम्युनिस्ट भन्ने छुट्टिएको थिएन ।


 
आईएस्सीमा पनि सर्वप्रथम भएपछि बाबुराम कोलम्बो प्लानमा इन्जिनियरिङ पढ्न भारतको चन्डीगढ गए । त्यहाँ उनले गान्धीदेखि चेसम्मका जीवनी पढे । सबैभन्दा बढी चेको जीवनीले प्रभावित पाऱ्यो बाबुरामलाई । उनी चेको सशस्त्र सङ्घर्षको बाटो नै नेपाली दु:खी गरिबहरूको बाटो हो भन्ने निष्कर्षमा पुगे । बाबुरामकै पहलमा अखिल भारत नेपाली विद्यार्थी सङ्घ बनाइयो । त्यसको पहिलो सम्मेलन चन्डिगढमै भयो र त्यसले पहिलो अध्यक्ष बाबुराम नै बने ।
 
भारतमा बाबुरामले नेपाली विद्यार्थी सङ्घ गठन गर्दा नारायणकाजी ०३३ मा नेपालकै जेलमा परे । १६ वर्षकमै उमेरमा उनलाई पञ्चायतविरुद्ध विद्यार्थी गतिविधिमा लागेको भन्दै सेन्ट्रल जेल राखियो । पञ्चायती शासनविरुद्ध लागेको आरोपमा ०३६ मा उनी गोरखा जेल बसे । जनआन्दोलनको तयारीकै बेला ०४५ मा नारायणकाजीमाथि राजकाजको अर्को मुद्दा लाग्यो । केही दिन ललितपुर डीएसपी कार्यालयको हिरासतमा बसे उनी । त्यसपछि नारायणकाजीलाई हिरासत र जेलमा बस्नु परेको छैन । जब कि ०३६ मा राजा वीरेन्द्र दिल्ली गएको बेला उनलाई कालो झण्डा देखाउँदा बाबुराम पहिलो पटक गिरफ्तार भएका थिए ।
 
नेपाल र भारतमा बसेर विद्यार्थी राजनीति गरेका बाबुराम र नारायणकाजीबीच पहिलो भेट ०३५ मा काठमाडौामा भयो । भेट नारायणकाजीका शिक्षकले गराएका थिएँ, जो बाबुरामका साथी थिए । ‘मेरो शिक्षकले हामीबीच चीनजान गराउने गरी भेट गराउनुभएको थियो । उहाँ बाबुरामजीको साथी हो र मेरो शिक्षक ।’ नारायणकाजीले  पहिलो भेट सम्झन्छन्, ‘म राजनीति आन्दोलनमा लागिसकेको थिएँ तर बामपन्थी होइन, प्रजातान्त्रिक आन्दोलनमा । बाबुरामजीको साथी पनि डेमोक्र्याट । उहाँहरू दुवै जना खुवै मिल्ने । उहाँले तपाईंहरू दुई जनाको भेट हुन जरुरी छ भन्नुभयो । अनि क्षेत्रपाटीमा भेट गराउनुभयो ।’ त्यसबेला दुवैमा निरङ्कुशता विरोधीभाव थियो । नारायणकाजी एक पटक जेल परिसकेका थिए । निरङ्कुशतन्त्र विरोधी, विद्रोहीभावले दुवैलाई निकट बनाएको थियो त्यो बेला ।
 
०३७ तिर नारायणकाजीले जागिर गरे । मेडिकल साइन्स पढेकाले हेल्थपोस्टमा डेढ वर्ष काम पाएका थिए । केही वर्ष शिक्षक भएको अनुभव पनि थियो उनीसँग । त्यसबेला उनले माओले भनेझै ‘विरोधीका पुस्तक पनि पढ्नुपर्छ, त्यसले सचेत गराउँछ र प्रतिरोध क्षमता बढाउँछ’ भन्ने मान्यतामा विश्वास गर्थे । त्यसै अनुसार अध्यात्मिक र गैर–माक्र्सवादी पुस्तक पनि पढे उनले । नारायणकाजीले जनप्रशासन विषयमा स्नाकोत्तर र अर्थशास्त्रमा स्नातक नारायणकाजीले दर्शनशास्त्र, राजनीतिक–अर्थशास्त्र र वैज्ञानिक समाजवादसम्बन्धी दर्शनमा राम्रो अध्ययन गरे ।
 
०३७–०३८ नै बाबुराम र नारायणकाजी लागि राजनीतिक जीवनका शुरुवात थिए भन्दा पनि हुन्छ । उनीहरूबीच कम्युनिष्ट पार्टीको सदस्यता पाएको समय एक वर्षको फरक छ । ०३७ मा चीनमा ‘राजनीतिक उथलपुथल’ भएपछि तत्कालीन मालेले समर्थन र चौमले विरोध गऱ्यो । बाबुराम दोस्रो कित्तामा देखिए । माओको देहान्तपछि ‘प्रतिक्रान्ति भयो’ भन्ने विचार चौमसँग मिल्यो । यसै आधारमा बाबुरामले ०३७ मा पार्टी सदस्यता लिए । मोहनविक्रम सिंहका भनाइमा बाबुरामले दिल्लीमै पार्टी सदस्यता पाएका थिए । भारतमा रहादादेखि नै मोहनविक्रमसँग बाबुरामको चिनजान थियो ।
 
जतिबेला नारायणकाजी सेन्ट्रल जेल थिए, त्यहाँ मृत्युदण्डको सजाय सुनाएका यज्ञबहादुर कप्तानसँग उनको भेट भयो । काङ्ग्रेसको होनाहार कार्यकर्ता उनी मृत्युदण्डको फैसलासँगै गोलघरमा थिए । नारायणकाजीसहितका केही विद्यार्थीले उनलाई त्यहाँ भेटे । कलिला युवाहरूलाई देखेपछि यज्ञबहादुर भनेछन्, ‘तपाईं युवाहरूको हातमा भविष्य छ ।’ मृत्युदण्डको सजाय सुनाएको व्यक्ति हसिलो, मृत्युको कुनै प्रभाव देखेनन् र त्यसले नारायणकाजीलाई उत्पेरित गऱ्यो । त्यति नै बेला बीपीलाई उपचार गर्न राजाले अमेरिका पठाए । बीपी अमेरिका भएकै बेला काठमाडौामा यज्ञबहादुरलाई मारियो । त्यसपछि नारायणकाजीको मनमा नयाँ बहस सुरु भयो ।


 
अनि बीपी अमेरिकाबाट फर्कनासाथ चावहिल गएर भेटे । उनले बीपीसँग सोधे, ‘तपाईंलाई उपचार गर्न अमेरिका पठाउने अनि यता यज्ञबहादुर मार्ने, कसरी राष्ट्रिय मेलमिलाप सम्भव छ ?’ अनि आफ्नो मत राखे, ‘यसरी राजासँग मेलमिलाप हुँदैन ।’ नारायणकाजीको कुरा सुनेपछि बीपीले भनेछन्, ‘यो राजाले गरेको होइन, उनका वरिपरिका हार्डलाइनरले गरेका हुन् ।’ बीपीको जवाफले नारायणकाजीको चित्त बुझेनछ । त्यसपछि उनले मनमा प्रश्न उठेछन्, ‘के काँग्रेस सम्झौतामुखी छ ?, कहीा न कहीा यसले सम्झौता गर्छ कि ?,  काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक क्रान्ति सम्भव छैन कि ?’
 
नारायणकाजीले तरुण पत्रिकामा छापिएको बीपीको लेख पढेका थिए, ‘आवश्यक परे जो पर्चा लिएर हिाड्दैन, बमबारुद बोकेर हिाड्दैन, त्यो युवा भन्न पनि लायक छैन ।’ जनमत सङ्ग्रहसम्म बीपीकै धार समाते । जनमत संग्रहपछिको बीपीको अभिव्यक्तिले उनलाई फेरि सोच्न बाध्य पाऱ्यो, ‘अब यो हुनेवाला छैन । विकल्प खोज्नुपर्छ क्रान्तिका लागि ।’
 
त्यो बेला एकीकृत चौथो महाधिवेशन (चौम) ले देशव्यापीरूपमा आफ्नो सङ्गठन  विस्तार गरिसकेको थियो । मोहनविक्रम र निर्मल लामा त्यसको नेतृत्वकर्ता थिए । नेतृत्व परिपक्व छ र छिट्टै क्रान्ति हुनेछ भन्ने नारायणकाजीलाई लागेछ । अनि उनी कम्युनिस्ट बने । ०३८ मा गोरखा जिल्लाका श्रीनाथ अधिकारीबाट पार्टी सदस्यता लिए ।
 
०३५ मा व्यत्तिगत रूपमा भएका भेटेका बाबुराम–नारायणकाजी तीन वर्षपछि राजनीतिक रूपमै एकै ठाउा भए । उनीहरू ०३८ मा एउटै पार्टीमा आबद्ध भए, तत्कालीन चौथो महाधिवेशनमा । एउटै पार्टीमा आएका उनीहरू एक वर्षपछि फेरि फरक–फरक पार्टीमा जानुपर्ने अवस्था आयो । नारायणकाजी पार्टीको सेल कमिटीमा थिए । मोहनविक्रम र निर्मल लामाबीचको मतभेदले ०३९ मा चौथो महाधिवेशन पार्टी विभाजन भयो । बाबुराम, मोहनविक्रम र नारायणकाजी लामातिर भए । यद्यपि त्यतिबेला बाबुराम भारतमै थिए ।
 
लामा समूहबाट नारायणकाजी काठमाडौा जिल्ला समितिको सदस्य हुँदै ०४२/४३ सालतिर केन्द्रीय सदस्य नै भए । ०४२ मा बाबुराम काठमाडौं फर्के । भारतमै रहँदा पूर्णकालीन राजनीति गर्ने सोच बनाएका बाबुराम नेपाल आएपछि तत्कालीन मसालको काठमाडौं जिल्ला सेक्रेटरी र वाग्मती ब्युरो सदस्य भए ।
 
मसालमा रहँदा नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले लैजानुपर्छ भन्ने बाबुरामको मत र पुरानै ढाँचामा चल्न चाहने मोहनविक्रमबीच मतभेद देखिन थाले । यद्यपि सिंह बाबुराममा अवसरवादी चरित्र देखा परेको बताउाथे । त्यति नै बेला बाबुरामले दूध काण्ड, रङ्गशाला काण्ड, मेघालयका शरणार्थी विषयमा उनी सङ्घर्ष गर्न थाले । साझा मञ्च बनाएर पद्मरत्न तुलाधर लगायतसँग पञ्चायती शासनविरुद्धको आन्दोलनमा सरिक भए बाबुराम ।
 
०४६ को जनआन्दोलनताका मसाल, मसाल, सर्वहारा श्रमिक सङ्गठन, शम्भुराम समूह, कृष्णदास समूह आदि मिलेर संयुक्त राष्ट्रिय जनआन्दोलन नामक मोर्चा बन्यो । यो कार्यगत एकतामा नारायणकाजी पनि थिए । त्यसको प्रवक्ता चाहिँ बाबुराम बने । संयोग नै मान्नुपर्छ सोही मोर्चाले ०४६ चैत्र २४ गते गरेको नेपाल बन्द नै त्यो आन्दोलनको उत्कर्ष बन्यो । पञ्चायत ढल्यो ।
 
०४६ पछि बाबुराम पार्टी एकताको पहलमा लागे । सिन्धुनाथ प्याकुरेल, दिलबहादुर श्रेष्ठ, सीताराम तामाङलगायत मिलेर पार्टी एकताका लागि ०४७ जेठमा ‘फोरम फर युनिटी’ बनाए । एकता केन्द्र ०४७ मङ्सिरमा बनेको थियो ।  पार्टीगत रूपमा मोहन विक्रमसँग विद्रोह गर्न ढिला भएकाले एकता केन्द्र निर्माणका क्रममा भने बाबुराम अलि ढिलो समावेश भए । क्रान्तिका लागि नयाँ ढङ्गले जानुपर्छ भन्दै बाबुरामले एकताकेन्द्रसँग पार्टी एकता गरेको बताउँदै आएका छन् ।  ०४७ मा मोटो मसाल, चौम र सर्वहारावादी श्रमिक सङ्गठनकाबीचमा एकता गर्ने बेला नारायणकाजी पार्टी एकता संयोजन समितिको सदस्य थिए । ०४८ मा एकता महधिवेशनबाट नेकपा एकताकेन्द्रको पोलिटब्युरो सदस्य भए । उनी ३१ वार्षमै एकताकेन्द्रको पोलिटब्युरो सदस्य बनेका थिए ।
 
एकताकेन्द्र निर्माणपछिका तीन वर्ष बाबुराम र नारायणकाजी एउटै पार्टीमा भए । एकतापछि बाबुरामले नेतृत्व गरेको संयुक्त जनमोर्चा नेपाल नै एकता केन्द्रको जनसङ्घर्ष र चुनावी प्रयोगको मोर्चा बन्यो । यसले ०४८ को चुनावमा ९ वटा सिटमा विजय हासिल गऱ्यो र तेस्रो ठूलो दल भयो । तर, बाबुराम–नारायणकाजी दुवै संसदमा थिएनन् ।
 
एकतापछि पनि बाबुराम–नारायणकाजीबीच जीवन्त छलफल थोरै मात्र भयो । ‘बाबुरामजी अलिकति तार्किक हिसाबले ठीक ठानेर कम्युनिस्ट आन्दोलनमा आउनुभएको हो । त्यसै कारण म उहाँसँगै वैचारिक बहस गर्न रुचाउाथे । उहाँ विषयलाई आलोचनात्मक ढङ्गले हेर्नुहुन्छ भन्ने कोणबाट अलि छलफल गर्न चाहन्थे । तर, उहाँको अन्तरमुखी स्वभावले प्रचण्डजीसँग जति जीवन्त बहस हुन्थ्यो, त्यो बाबुरामजीसँगै हुादैन्थ्यो । तर, म छलफल गर्न चाहन्थेँ ।’ नारायणकाजी ०४७/०४८ तिरको सम्झन्छन् ।
 
बाबुराम र नारायणकाजीबीच आशंका पनि भैरह्यो एक अर्काबीच । ‘निर्णायक वैठकमा गएपछि तपाई फ्याट्ट अर्को ठाउामा गएर भोट हालेजस्तो मलाई लाग्छ । के भाको यो ? उहाँले पनि इमानदारीपूर्वक भन्नुभयो– ‘मेरो रुल अफ थमले काम गर्छ । मुख्य कुरा ठीक छ भनेपछि अरू नहर्ने मेरो कार्यशैली छ ।’ अहिले पनि त्यो बारेमा छलफल हुन्छ ।’ नारायणकाजी भन्थे ।
 
बाबुरामको अन्तरमुखी स्वभावले दुईबीचको सम्बन्धमा दूरी बनायो ०५० को दशकमा । ‘हामीबीच जुन चिन्तन प्रक्रियामा एकरूपता जस्तो देखिन्थ्यो । आलोचना र क्रान्तिकारी दृष्टिकोणबाट छलफल गरेको भए ०५१ मा विभाजन पनि नहुन सक्थ्यो कि’ नारायणकाजी भन्छन् । ०५१ मा एकताकेन्द्र विभाजित भयो, जनयुद्धमा जाने–नजाने मतभेदमा । बाबुराम जनयुद्धमा जाने प्रचण्ड नेतृत्वका समूहमा लागे भने नारायणकाजी जनयुद्धमा नजाने गरी निर्मल लामा समूहमा । ०४८ मा एकै ठाउा भएका उनीहरू तीन वर्षमै फेरि फरक–फरक पार्टीमा भए ।
 
त्यसपछि दुवै आआफ्ना धारमा लागे । सडक र सदन दुवै मोर्चाबाट संयुक्त जनमोर्चा नेपालले राष्ट्रि्रयता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर सङ्घर्ष जारी राख्यो । लामा समूहमा रहदा नारायणकाजी महासचिव भए तत्कालीन एकताकेन्द्रको । त्यतिबेला उनको उमेर ३४ वर्षको मात्रै थियो ।
 
बानेश्वरमा भारतीय पोसाकमै प्रहरी आएर नेपालीलाई गिरफ्तार गरेकाले ०४९ वैशाख २१ गते संयुक्त जनमोर्चाले बन्द आयोजना गऱ्यो । चैत्र २४ लाई लोकतन्त्रको र बैशाख २१ लाई राष्ट्रि्रयता सम्बन्धी सङ्घर्षको दिनका रूपमा मनाइन थालियो । संयुक्त जनमोर्चा नेपालले बाबुरामकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन शेरबहादुर देउवा सरकारसँग राखेर ससस्त्र युद्धमा जाने घोषणा गऱ्यो । ०४६ को जनआन्दोलनबाट प्राप्त ‘सीमित अधिकारबाट मात्र पुग्दैन, जनतालाई पूर्ण मुक्ति चाहिन्छ’ भन्दै ०५२ मा जनयुद्ध सुरु भयो । बाबुराम जनयुद्धका लागि भूमिगत हुँदा नारायणकाजी पनि जनसङ्घर्षको बाटोबाट अगाडि बढ्ने भन्दै अर्धभूमिगत नै थिए ।


 
जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दाबाहेक सबै समय अर्धभूमिगत बसे । ०४६ पछि भूमिगत बसेका नारायणकाजी १८ वर्षपछि ०६५ को जेठ १४ गते सार्वजनिक भए । सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्ध र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमति र अन्तरिम संविधान निर्माण, संविधानसभाको पहिलो चुनावदेखि बाबुरामको पदत्यागसम्म पनि औपचारिक–अनैपचारिक महत्वपूर्ण भूमिकामा बसे । ०५१ देखि ०५९ सम्म एकताकेन्द्रको महासचिव रहेका नारायणकाजीले मोहनविक्रमसँग पार्टी एकता गरेर मसालको सह–महामन्त्री भए । त्यसबेला उनी प्रचण्डसँग नियमित जसो सम्पर्कमा हुन्थे भने बाबुरामसँग कुराकानी कम हुन्थ्यो ।
 
०६१ मा नारायणकाजीले रोल्पा गएर प्रचण्ड–बाबुरामसँग भेट गरे । एमालेका नेता बामदेव गौतमसहितको टोली फर्किएकै दिन रोल्पा गएका थिए उनी । कांग्रेस– एमालेको देशभित्र माओवादीसँग वार्ता गर्न नसकिने अडान र माओवादी नेताको देशभित्रकै आधार क्षेत्रमा वार्ता गर्नुपर्ने फरक–फरक अडानका कारण उत्पन्न समस्या समाधान गर्न उनी रोल्पा गएका थिए । ०६३ मा नारायणकाजी र मोहन विक्रम सिंहबीच सम्बन्ध–विच्छेद भयो । नारायणकाजी एकताकेन्दकै महासचिव बने । त्यसपछि उनी शान्ति प्रक्रियामा जोडिए । माओवादी र सातदलबीच पुलको काम गरे ।
 
भन्ने त गरिन्छ बाबुराम–नारायणकाजीबीच कमरेडली सम्बन्ध छ । ०६५ मा उनले तत्कालीन नेकपा माओवादीसँग एकता गरे । एकता केन्द्र र नेकपा माओवादबीच एकतासँगै नयाँ पार्टीमा नाम एकीकृत माओवादी भयो । ०६६ मा माओवादी बहुपदमा गएपछि मोहन वैद्यसहित बाबुराम र नारायणकाजी पनि उपाध्यक्ष भए । तर, उनीहरूबीच पार्टी एकतापछि धेरै विषयमा मतभेद देखिए । मूलभूत रूपमा विचारधारात्मक रूपमा उनीहरू एक ठाउा देखिन्थे ।
 
हेटौाडा महाधिवेशनको कार्यदिशामा पनि एक ठाउा थिए । ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नयाँ ढङ्गले सश्लेषण गर्न आवश्यक छ, माक्र्सवादलाई नै वर्गसङ्घर्षका आजका चुनौती हल गर्नेगरी विकास गर्न जरुरी छ, माक्र्सवादकै विकासमा हामीले ध्यान केन्द्रित गर्नुपर्छ । तब मात्र अर्को चरणको क्रान्तिको नेतृत्व गर्न सकिन्छ ।’ बाबुरामले  पार्टी त्याग गर्नुपूर्व उनीहरूबीच यो मुद्धामा एकमत थियो । तर, नेपालको कम्युनिट आन्दोलन र देशभक्तहरूको आन्दोलनको अगुवाइको भूमिकमा उनीहरूबीच केही मतभेद देखिन्थे । खिलाराज रेग्मी नेतृत्वको सरकार बनाउँदा विवाद भयो । बाबुराम दोस्रो संविधानसभाको चुनावका लागि गैरराजनीतिक सरकारको पक्षमा थिए भने नारायणकाजी प्रचण्डसँगै सकेसम्म राजनीतिक पार्टीकै नेतृत्वमा सरकार बनाउने भन्नेमा थिए । वैद्य माओवादीलाई चुनावमा ल्याउन पहल गर्नेपक्षमा नारायणकाजी र उनीहरू नआए पनि चुनाव रोक्न हुँदैन भन्नेमा बाबुराम थिए ।
 
संविधानसभाको चुनावको चुनावको परिणाममा पनि फरक–फरक दृष्टिकोण थिए । धाधली वा आन्तरिक किन हारियो भन्ने मतभेद थियो । चुनाव हारमा प्रकाश धाधली कम र आन्तरिक कारण धेरै ठान्थे । बाबुराम चाहिा धााधली मुख्य मान्थे । चुनावलगत्तै संविधानसभालाई कुन रूपमा हेर्ने भन्नेमा पनि मतभेद देखिएको थियो उनीहरूबीच ।
 
चुनावपछि बाबुराम नयाँ ढङ्गको पार्टी कसरी बनाउने भन्नेमा केन्द्रित भए । नयाँ ढङ्गको पार्टी बनाउन एकातिर विचारको विकासको खाँचो छ भन्नेमा एक ठाउा हुँदाहुँदै पनि समाजवाद क्रान्तिका आधार तयार पार्ने तत्कालीन वैचारिक–राजनीतिक कार्यदिशालाई आत्मसाथ गर्ने, बुझ्ने र लागू गर्नेमा उनीहरूबीच मतभेद देखिनथ्यो । पार्टी रूपान्तरणको विधिमा पनि मतभेद नै देखिन्थ्यो । तर, छलफलमा थिए । नारायणकाजीलाई पार्टी रूपान्तरणका लागि प्रचण्ड–बाबुरामले व्यवहारमा देखाउन नसकेको लाग्थ्यो ।
 
पार्टीभित्र मात्र होइन एउटै क्याविनेटमा पनि बाबुराम–नारायणकाजीबीच केही मुद्दामा फरक मत देखिन्थे । बाबुराम प्रधानमन्त्री हुँदा उनको मन्त्रीपरिषद्को सदस्य भएर काम गरेका थिए नारायणकाजीले । उनले मन्त्रिपरिषद वैठकमा बिपाको विरोध नै गरे । कूटनीतिक भेटघाटका विषयमा पनि नारायणकाजी अलि बढी पारदर्शिताका कुरा उठाउाथे । सरकारमा रहँदा बाबुरामसँग के–के विषयमा मतभेद भयो ? मसँगको एउटा अन्तर्वार्तामा उनले भनेका थिए, ‘जे–जे भयो सीधा–सीधा भयो । बिपाको क्याबिनेटमै विरोध गरँे । भारतीय प्रधानमन्त्रीसँगको वार्ताको टेबुलमा जाँदा हाम्रा पक्षबीचको छलफल हुँदा पनि मैले अहिले बिपा गर्नुहँुदैन भनेँ । काठमाडौा फर्केपछि पनि विरोध गरेँ । पार्टीको फोरममा पनि विरोध गरँे । सैद्धान्तिक–नीतिगत रूपमा बिपा गर्नुहँुदैन भन्ने होइन । भारतसँग बिपा गर्न हँुदैन भन्ने पनि थिएन । केही विषय करेक्सन गरौँ भनेको थिएँ । बाबुरामजीको भारत भ्रमणका बेला नगर्नुपर्ने थियो भन्ने हो ।’
 
प्रचण्डको नेतृत्वको सरकारमा बाबुराम सफल अर्थमन्त्री बने । ०६८ भदौ ११ मा बाबुराम मुलुकको ३५औा प्रधानमन्त्री भए । करिब १८ महिना प्रधानमन्त्रीको कुर्सीमा रहादा बाबुरामले माओवादी सेनाका लडाकूको समायोजन, हतियार व्यवस्थापनदेखि काठमाडांै लगायत शहरमा सडक विस्तार अभियान चलाए । लगानी बोर्डको गठन, पश्चिम सेती जलविद्युत योजनालगायत दर्जनभन्दा बढी मेगा प्रोजेक्टको थालनी र सत्रवटा ठूला राष्ट्रिय गौरवका योजना पहिचान गरी उच्च प्राथमिकताका साथ कार्यान्वयनमा उनले जोड दिए ।
 
गरिबीको रेखामुनि रहेका जनताको पहिचान गरी उनीहरूलाई परिचयपत्र वितरण गर्ने राष्ट्रिय अभियान, बेरोजगार युवालाई वर्षमा न्यूनतम एक सय दिनको रोजगारी ग्यारेन्टी गर्ने, अन्यथा बेरोजगार भत्ता प्रदान गर्ने विधेयक मन्त्रिपरिषदबाट पारित गरी व्यवस्थापिका–संसदमा प्रस्तुत गरे । बाबुराम प्रधानमन्त्री हुँदा नारायणकाजी परराष्ट्र मन्त्री थिए । बाबुरामका अरू काममा नारायणकाजीले सहयोग र समर्थन जनाए । भारतसँग भएको बिपाको चाहिँ विरोध गरे । त्यसबेला एकीकृत माओवादीको वैद्य समूहले पनि बिपाको विरोध गऱ्यो । बाबुराम फर्कदा विमानस्थल पुगेर कालोझन्डा नै प्रर्दशन गऱ्यो । गृहमन्त्री र स्थानीय विकास मन्त्री हुँदा नारायणकाजी विवादमा आएनन् । उनीमाथि महिला स्टाफ राखेको आलोचना भयो । उता बाबुराम प्रधानमन्त्री हुँदा पत्नी हिसिला यमीका गतिविधि निकै विवाद आए । आर्थिक विषयमा उनको नाम धेरै काण्डमा मुछियो ।
 
बाबुराम–नारायणकाजीमाथि उनीहरूका कार्यशैली र स्वभावका विषयमा आरोप लगाउनेहरू पनि उत्तिकै छन् । बाबुराममाथि उनी सोझै माथिबाट नेतृत्वमा आएको आरोप लाग्छ । तर, उनी आफू विद्यार्थी कालमै राजनीतिमा सक्रिय भएको र प्रवासी नेपालीको सङ्गठनमा काम गरेर केन्द्रीय राजनीतिमा आएको मान्छन् । बाबुरामले पढेलेखेकालाई मात्र नजिक बनाउँछ भन्ने आरोप लाग्छ । बाबुराम नजिकाहरू भन्छन्, ‘नेपालका राजनीतिक नेताहरू उनको अगाडि हीनताबोध महसुस गर्दछन् । व्यक्तिगत इष्र्याबाट राजनीतिमा लागेकाहरू  उनको व्यक्तित्वप्रति झन इष्र्या गर्छन् । यही आधारमा उनीमाथि आरोप लगाउँछन् ।’ बाबुराममाथि अराजक’ र ‘सङ्कीर्ण’  भएको आरोप लाग्छ । तर, यस्तो आरोपको खण्डनमा बाबुरामपक्षबाट भन्ने गरिन्छ, ‘बाबुरामले उठाउने बहसको छेउ टुप्पै नबुझ्ने, सङ्गठनमा बाबुरामका समकक्षी तर विचार र चिन्तनमा लिलिपुटहरू बाबुरामको वैचारिक बहसलाई यात ‘अराजक’ ठान्छन् या ‘सङ्कीर्ण’ ।’
 
बाबुराममाथि लाग्ने अर्को आरोप– इतिहास र वर्तमानतिर ध्यान दिादैनन् भन्ने हो ।’ तर, बाबुरामपक्षका मान्छन्, ‘बाबुराम इतिहासबाट सिक्ने, वर्तमानमा काम गर्ने र भविष्य वर्तमान बनिसक्दा परिणाम निकाल्ने नेता हुन् ।’ अर्को आरोप छ– बाबुराम सामूहिकतामा रमाउँदैनन् । जवाफ छ, ‘बाबुराम सामूहिकतामा रमाउने नेता हुन् ।’ बाबुराम नजिककाहरू उनको काम गर्ने तरिका ‘पर्फेक्ट’ रहेको मान्छन्, जब कि बाबुराममाथि अहंकार भएको आरोप लाग्छ ।
 
उनीमाथि महत्वाकांक्षीको आरोप पनि लाग्छ । तर, जवाफ छ, ‘बाबुराम आत्मविश्वासी व्यक्ति हुन् । बाबुरामले आफ्नो सम्पूर्ण क्षमता लगाउन खोज्दा उनीमाथि महत्वाकांक्षीको आरोप लाग्छ ।’ बाबुरामलाई आरोप लगाउनेहरू भन्छन्, ‘बाबुराम प्रचारमुखी छन् ।’ तर, बाबुरामका नजिकाहरू यसलाई मान्न तयार छैनन्, ‘बाबुराम व्यक्तिगत प्रचार मन पराउँदैनन् । समाजमा आफू जतिकै नैतिकवान् मानिस छन् भन्ने विश्वास गर्छन् । मानिसभित्रको नैतिक आत्मविश्वास प्रष्फुटन गर्न आफू प्रेरक बन्न चाहन्छन् ।’ बाबुरामलाई रुखो ठान्ने पनि छन् । तर, बाबुरामलाई नजिकबाट जान्नेहरू भन्छन्, ‘बाबुराम भावनाभन्दा विचारले चल्ने नेता हुन् । उनी भावनामा चलिदिऊन् भन्ठान्नेहरू बाबुरामलाई रुखो नेता पनि भन्छन् । बाबुरामले  व्यक्तिगत भावना बुझ्दैनन् भनेर उनलाई अन्तरमुखी स्वभावको भन्ने आरोप लगाईन्छ । भावना भन्दा विचारले चल्ने व्यक्ति अन्तरमुखी होइन बहिर्मुखी हुन्छ ।’
 
आरोप बाबुराममाथि मात्र होइन नारायणकाजीमाथि पनि उत्तिकै छन् । उनीमाथि लाग्ने आरोपवारे मैलै लामो अन्तर्वार्ता पनि गरेँ, जुन यहाँ सबै राख्न सम्भव पनि थिएन । तर, केही विषय रोचक छन् । अर्धभूमिगतकालमै पजेरो चढेर र सुरक्षाकर्मी लिएर हिँडेको, कहिले देखाउनलाई साँझा बस चढेको जस्ता आरोप नारायणकाजीमाथि लाग्छ । तर, उनी भूमिगत र अर्धभूमिगत हुँदा निजी गाडी नचढेको, ०६२–०६३ पछि मात्रै गाडी चढेको दाबी गर्छन् । निजी गाडी छाडेर सार्वजनिक गाडी चढ्नुको पछाडिको उद्देश्य नैतिकवान राजनीतिक संस्कृतिको विकासको कदम ठान्छन् उनी । ०५१ मा तत्कालीन एकताकेन्द्र विभाजन हुँदा जनयुद्धमा नजाने निर्णय गरेर ‘आत्मसुरक्षावादी र विसर्जनवादी’ कम्युनिस्ट बनेको आरोपले पनि उनलाई सताउँछ । तर, उनी भन्छन्, ‘यो पनि प्रचार मात्र हो । वैचारिक–राजनीतिक रूपमा पार्टी निर्माणको प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेमा हाम्रा अलग मत थिए । आत्मसुरक्षाका कारणले होइन, राजनीतिक मुद्दाका कारण हो ।’
 
यसबाहेक नारायणकाजीमाथि पार्टी राजनीतिभन्दा गुट राजनीतिमा विश्वास गर्ने नेता भन्ने आरोप लाग्छ । ‘यो सबैभन्दा झुटो कुरामा पर्छ । किनभने, गुटले पार्टी निर्माणको उद्देश्यलाई सेवा गर्दैन । गुट र विचारसमूह फरक हुन् । गुटमा निहित स्वार्थ हुन्छ । छुट्टै संयन्त्र हुन्छ । तलदेखि माथिसम्म छुट्टै केन्द्रीयता हुन्छ । कार्यशैली षड्यन्त्रमूलक हुन्छ, अपारदर्शी हुन्छ । गुट पार्टी सत्ता सङ्घर्षमा जान्छ । विचारसमूह पार्टीको वैचारिक रूपान्तरणमा हुन्छ ।’ नारायणकाजी मान्छन् ।
 
जनयुद्धकालमा माओवादीबाट पैसा लिएर अपलचन गरेको आरोपले पनि नारायणकाजीलाई छाडेको छैन् । उनी चाहिँ यसलाई पूरा झुठ मान्छन्, ‘उहाँहरूले पार्टी चलाउनका लागि पैसा दिएको र त्यसले पार्टी खर्च चलाएको भन्नेजस्तो कुरा पूर्णतया असत्य हुन् । यसले केही हुँदैन । त्यसैले यसमा बढी चर्चा गर्न आवश्यक छैन । आरोप लगाउने साथीले प्रमाण ल्याउनुभयो भने बहस गर्ने मात्र होइन, त्यो पैसा उहाँकै नाममा गरिदिउँला नि त । पुरस्कार पनि दिउँला । यस्तो मनलागी आरोप लगाउनेलाई के भन्ने ?’
 
मोहनविक्रमले कुनै बेला नारायणकाजी ‘राजनीतिक व्यापारी’ (लाभको राजनीति गर्ने व्यक्ति) भने । सिंह ‘पार्टी एकताका चार वर्ष र एकतापछिका चार वर्ष मेरो राजनीतिक जीवनमा सबैभन्दा खराब समय’ भनेरसमेत टिप्पणी गरेका थिए । नारायणकाजीको जवाफ पनि जोडदार नै छ, ‘एमबी सत्यको छेउ पनि पुग्न सक्नुभएन । किनभने, उहाँसँग पार्टी एकता हुँदा उहाँ महामन्त्री, म सहमहामन्त्री भएँ । त्यसपछि उहाँसँग दुईवटा कुरामा मतभेद भयो । एउटा, संविधानसभा आजको निकास हो कि होइन, अर्को माओवादीसँग कार्यगत एकता गरेर मिल्ने हदसम्म संयुक्त भएर जाने कि नजाने ? । यही बहस हुँदाहुँदै पार्टी विभाजन भयो । उहाँले संविधानसभाको विरोध गर्दागर्दै पार्टी फुट्यो । मैले प्रस्तावित गरेको कार्यनीति र सङ्घर्षको योजना ठीक थियो भन्ने साबित भयो । अरू त उहाँसँग केही भएकै थिएन । उहाँले के आधारमा त्यो भन्नुभयो ?’
 
माओवादीसँग एकता गर्दा आफ्नो पद सुरक्षित गरेरअगाडि बढेको आरोप नारायणकाजीमाथि  अमिक शेरचनलगायतले लगाए । नारायणकाजी भन्छन्, ‘मैले कसरी छोडेँ ? त्यति सम्मानजनक एकता भएको थियो । दुवै पार्टीको केन्द्रीय समिति सिङ्गैका सिङ्गै केन्द्रीय समिति बनाइएको हो । त्यतिबेला म पनि केन्द्रीय समितिमा थिएँ । सबै केन्द्रीय सदस्य थिए ।’
 
नारायणकाजीको गोरखाको जौवारी घरदेखि बाबुरामको गोरखाको खोप्लाङको घरबीचको दुरी पैदल यात्रामा एक दिनको हो र यता काठमाडौामा सानेपा (बाबुराम निवास) देखि हरिसिद्धी (नारायणकाजी निवास) सम्मको यात्रा केही मिनेटको । तर, बाबुराम–नारायणकाजीबीचको भावनात्मक दूरी जौवारीदेखि खोप्लाङभन्दा टाढा छ । सानेपादेखि हरिसिद्धीसम्म उनीहरूको बसाई नजिक देखिए पनि बाबुरामको कदमले अर्को राजनीतिक भेट गर्ने ठाउा धेरै टाढा पुऱ्याइदिएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ