भावी रणनीति तय गर्न आन्तरिक छलफलमा ओली
आफ्नो मन्त्रिपरिषदका २० जना मन्त्रीको वैधतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतले उनीहरुको जिम्मेवारी खोसेपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भावी रणनीति बनाउन जुटेका छन् ।
आफ्ना पछिल्ला निर्णयहरूमा एकपछि अर्को गर्दै सर्वोच्च अदालतले लगाम लगाउने र विपक्षीहरूको मोर्चाबन्दी थप कसिलो बन्दै जान थालेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओली भावी रणनीति बनाउन जुटेका हुन् ।
त्यसका लागि उनले बुधबार दिनभर आफू पक्षीय नेताहरुलाई बालुवाटारमा बोलाएर अब कसरी अघि बढ्दा राम्रो हुन्छ भनेर सुझाव मागेका छन् । ओलीले कानुन व्यवसायीहरूसँग पनि आवश्यकता अनुसार छलफल गर्दै अघि बढ्ने तयारी गरेका छन् ।
‘आन्तरिक रुपमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बुधबार दिनभर छलफल गर्नुभएको छ । त्यसमा खासगरी सर्वोच्च अदालतले पछिल्लो पटक विस्तारित मन्त्रिपरिषदका २० सदस्यहरुलाई जिम्मेवारी मुक्त गरेको अवस्थामा विश्लेषण र सुझावहरु माग्ने काम भएको छ’, ओली निकट एक स्थायी समिति सदस्यले भने, ‘हामीले आफुलाई लागेका सुझावहरु दियौँ ।’
ओलीले बुधबार पहिलो चरणमा आफ्नो मन्त्रीमण्डलमा रहेर अदालतको आदेशपछि पद खुस्किएका मन्त्री र दोस्रो लटमा आफू निकट स्थायी समिति सदस्यहरुसँग सामान्य छलफल र बढि सुझाव मागेका थिए ।
त्यसक्रममा ओलीले राजनीतिक मुद्दामा अदालतले अलि बढी हस्तक्षेप गर्न थालेको भन्दै राजनीतिक विषय राजनीतिक तबरबाटै समाधान खोज्नुपर्ने पक्षमा आफु रहेको बताएका थिए । ‘अदालतको आदेश मान्नुको विकल्प त छैन तर पछिल्ला दिनहरुमा अदालत अलि बढी नै हावी हुन खोजेको हो कि ?’, ओलीले बालुवाटारमा जम्मा भएका नेताहरुसँग प्रश्नको शैलीमा भनेका थिए, ‘यसले मुलुकको राजनीति गिजोलिने देखियो ।’
ओलीसँगको भेटमा सहभागी नेताहरुले विकसित राजनीतिक घटनाक्रमहरूका बारेमा विश्लेषण गर्दै चाल्नुपर्ने आवश्यक आगामी कदम चाल्न ओलीलाई निर्णय गर्न सुझाव दिएका थिए । ‘विकसित परिस्थितिमा पार्टी अध्यक्षले चाल्ने कदमहरू उहाँले नै विश्लेषण गरेर अघि बढ्नुपर्नेमा धेरैको सुझाव रह्यो’, अर्का एक नेताले भने, ‘कतिपय राजनीतिक कुराहरु राजनीतिक ढंगले नै टुङ्गिन्छ र टुङ्ग्याउनुपर्छ भन्नेमा अध्यक्ष पनि हुनुहुन्छ ।’
त्यसका लागि नेताहरुले सवैभन्दा पहिला पार्टीका असन्तुष्ट नेताहरूसँगको छलफललाई तीव्रता दिनुपर्ने सुझाव समेत दिएका थिए । ‘समस्या भनेको एमालेको अन्तरविरोधका कारण आएको हो । त्यसैले पहिला यसको समाधान गर्नु उपयुक्त हुन्छ भनेर पनि सुझावहरु आएका छन्’, ती नेताले भने, ‘अध्यक्ष ओली र वरिष्ठ नेताबीच प्रत्यक्ष कुराकानी नभएपनि विभिन्न माध्यमबाट भएका कुराकानीका बारेमा समेत छलफल भयो ।’
आफू निकटका नेताहरूसँगको छलफल सकेर ओलीले पार्टी कमिटी बैठक बोलाउने तयारी गरेको नेताहरुले बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आन्तरिक छलफल भइरहेकाले एकदुई दिनपछि पार्टी कमिटीको बैठक बोलाउने तयारी भएको बताए । ‘आजभोलि नै बैठक बोलाउने कि अलि पछि भन्नेमा छलफल भइरहेको छ । सायद भरे भोलितिर टुङ्गो लाग्ला’, तामाङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सह–लगानीका महत्त्वपूर्ण योजना कार्यान्वयनमा कर्णाली सरकार उदासीन
-
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
-
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
-
यस्तो छ तरकारी र फलफूल आजको मूल्य (सूचीसहित)
-
बीपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु
-
बीपीएससी परीक्षामा धाँधली : आमरण अनसनमा बसेका प्रशान्त किशोर पक्राउ