शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्लियर कुरा हो, म काँग्रेसमा पनि जानसक्छु : उमाशंकर अरगरिया (भिडियो वार्ता )

बुधबार, ०९ असार २०७८, १८ : १२
बुधबार, ०९ असार २०७८

पर्यटन मन्त्रीमा नियुक्त भएको तीन साता नबित्दै पद खुस्किएका उमाशंकर अरगरियाले आफुले छोटो समयमै महत्वपूर्ण काम गरेको दावी गरेका छन् । मन्त्री क्वाटरबाट डेरा सर्ने तरखरमा रहेका जसपाका नेता समेत रहेका अरगरिया गत बैशाख २१ गते प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तारका क्रममा पर्यटन मन्त्री बनेका थिए ।

बुधबार रातोपाटी अनलाईन टीभीसँगको कुराकानीमा उनले भने, ‘मन्त्री भएपछि मैले १४, १५ वा १८ दिन जति काम गरेँ, चाहे त्यो एयरपोर्टको सुधारका निम्ति होस् या नीजि क्षेत्रका जहाज डोमेस्टिक उडान थप्नेबारे नै किन नहोस् महत्वपूर्ण काम गर्न सफल भएको छु ।’

अरगरियाले आफुले सम्हालेको मन्त्रालयमा आफुले बसालेको विधिअनुसार लगिए विश्वमै उत्तम मन्त्रालय हुने दावी समेत गर्न भ्याए । ‘मैले पर्यटन मन्त्रालयलाई लगेको ट्रयाकले निरन्तरता पायो भने विश्वमा नम्बर वान (आर्य) हुन्छ’ अरगरियाको भनाइ छ ।

फरक प्रसंगमा अरगरियाले राजनीतक हिसावले आफ्नो सम्बन्ध एमाले र काँग्रेस नेताहरुसँग पनि राम्रो रहेको भन्दै महेश बस्नेतसँग आफ्नो पुरानै सम्बन्ध रहेको बताए । उनले भने, ‘महेश बस्नेतसँग मेरो पुरानै चिनजान थियो, सर्वेन्द्र खनाल धनुषाको एसपी हुँदा चिनजान भएको थियो ।’

उनले राजनीतिमा सम्भावनाहरू धेरै रहने भन्दै आफु काँग्रेसमा पनि जानसक्ने बताए । ‘म काँग्रेसमा पनि जानसक्छु क्लियर कुरा हो । यहीँ (जसपा) मा सामूहिकता निर्माण भयो भने यसैमा पनि बस्न सक्छु’, उनको भनाइ छ ।  

पहिला राजा खुसी भए सांसद मन्त्री हुने गरेको भन्दै उनले अहिले पार्टी अध्यक्ष खुसी भएमात्रै मन्त्री बन्नसक्ने परिपार्टी बसेको बताए । ‘पहिला राजपरिवारलाई खुसी पारे सांसद मन्त्री हुन पाउँथे भने अहिले राजारुपी अध्यक्षलाई खुसी पार्नुपर्छ’, उनले भने, ‘अहिले पार्टीमा जतिसुकै खट्नुस्, म रातभरि जनतामा खट्छु । तर पार्टी अध्यक्षको विरोध गरे म आउट हुनसक्छु । त्यसैले पहिले राजा र अहिले पार्टी अध्यक्षमा केही फरक छैन ।’

त्यस्तै उनले एक नागरिकका लागि नेपालमा लोकतन्त्र भएपनि सांसदका लागि लोकतन्त्र नभएको बताए ।

‘तपाईंको लागि लोकतन्त्र हुनसक्छ तर एउटा सांसदको लागि नेपालमा लोकतन्त्र हुँदैन’ अरगरियाको आरोप छ । उनले दलीय व्यवस्था अध्यक्षहरूलाई राजा हुनका लागि नभएको भन्दै पार्टी अध्यक्ष बराबरको सवै सदस्यको अधिकार हुने भएपनि नेपालका राजनीतिक पार्टीका अध्यक्षहरुले आफुलाई राजा नै ठान्ने गरेको भन्दै असन्तुष्टि जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप