शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

किन बढ्दैछ केपी ओली समूहमा अन्तरविरोध ?

मङ्गलबार, ०८ असार २०७८, १५ : ३३
मङ्गलबार, ०८ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीको एकलकाँटे कार्यशैली र निर्णयका कारण नेकपा एमालेको ओली समूहमै चरम असन्तुष्टि र अन्तरविरोध बढ्न थालेको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पार्टी र सरकार सञ्चलनका विषयमा आफूखुसी चल्न थालेपछि ओली समुहमा असन्तुष्टि पैदा भएको हो । यसले गर्दा ओली आफू भित्रैका नेताहरुबाट पनि क्रमशः एक्लिन पुगेका छन् ।

खासगरी ओलीका एकलौटी निर्णय र गतिविधिले गर्दा यसअघि उनलाई जस्तोसुकै अवस्थामा पनि साथ दिने नेताहरु चिढिँदै जान थालेपछि उनी एक्लिन थालेको बालुवाटारभित्रै चर्चा छ ।

ओली समूहभित्र असन्तुष्टि एवं अन्तरविरोधका लक्षणहरु यस्ता छन्–

बादलपत्नीका कारण पूर्व माओवादीमा असन्तुष्टि

पछिल्लो पटक मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री ओलीले आफूहरुको सुझाव नमानेको भन्दै माओवादी छाडेर एमाले प्रवेश गरेका नेताहरु ओलीको व्यवहारबाट खुसी देखिएका छैनन् । खासगरी प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परिसकेपछि उक्त मुद्दा किनारा नलाग्दा सम्म मन्त्रिपरिषद विस्तार नगर्न प्रधानमन्त्री ओलीलाई माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुले सुझाव नै दिएका थिए ।

तर, ओलीले उनीहरुको सुझावलाई वेवास्ता गर्दै हतारमा मन्त्रिपरिषद विस्तार गरे । त्यसमा पनि यसअघि गृहमन्त्री बनाइएका रामबहादुर थापा वादलपत्नी नैनकला थापालाई सञ्चारमन्त्री बनाएको भन्दै नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र मणि थापाहरु ओलीसँग असन्तुष्ट बन्न पुगे । उनीहरुले बादलका पतिपत्नीले मात्रै बढी अवसर पाएको भन्दै आफु निकटकाहरुसँग गुनासो नै गरेका थिए ।

मधेशीलाई महत्व दिएकोमा विरोध

पूर्व माओवादी खेमाका नेताहरु मात्रै होइन, मन्त्रिपरिषद विस्तार गर्दा ओलीले १५ सांसद रहेको जसपाको महन्थ राजेन्द्र समुहका ११ जना नेताहरुलाई मन्त्री बनाए । यसमा पनि ओली समुहका धेरै नेताहरु सन्तुष्ट बन्न सकेनन् ।

दशकौंदेखि एमालेमै रहेर काम गरेका क्षमतावान नेताहरुलाई पाखा लगाएर जसपाको महन्थ–राजेन्द्रलाई आवश्यकभन्दा बढी महत्व दिएको भन्दै धनकुटाका राजेन्द्र राई, संखुवासभाका राजेन्द्र गौतमदेखि मोरङका घनश्याम खतिवडासम्मले पार्टीभित्र गुनासो गरेका छन् ।

ओलीलाई जस्तोसुकै अप्ठेरोमा काँध थाप्ने महेश बस्नेतले त आफू गृहमन्त्री बन्ने पक्का भैसकेका बेलामा मन्त्री बन्ने लिस्टबाट नाम हटाएकोमा प्रधानमन्त्री ओलीका सल्लाहकारहरुकै हात रहेको भनेर सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

नेम्वाङ र ज्ञवाली पनि असन्तुष्ट

प्रधानमन्त्री ओलीले खास विषयमा निर्णय गर्नुपर्दा नेताहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु पौडेललगायतका नेताहरुसँग परामर्श गरेर मात्रै निर्णय लिने गरेका थिए । तर, दोस्रो पटकको प्रतिनिधि सभा विघटन र पछिल्लो मन्त्रिपरिषद विस्तार गर्दा ओलीले तीनै नेताहरुसँग खासै छलफल गरेनन् ।

​‘दोस्रो पटक पनि प्रतिनिधि सभा विघटन गर्ने संकेत त दिनुभएको हो, तर त्यसपछिको परिणाम के आउँछ भनेर गहन छलफल भएन’, विगतमा ओली निकट रहेर काम गरेका एक नेता भन्छन्, ‘उहाँ अहिले कसको सल्लाहबाट चल्नुहुन्छ भन्ने नै पत्तो हुन छाड्यो ।

‘प्रधानमन्त्री ओलीले पछिल्लो समय कसैको सुझाव पनि नसुन्ने र गल्तीमात्रै गर्दै जान थालेपछि उहाँलाई विगतमा साथ दिएका नेताहरु विस्तारै टाँढिनुपर्ने अवस्था आएको छ’, एक नेता भन्छन् ‘मन मिल्नेलाई मात्रै पार्टीमा राख्ने उहाँको नीतिले धेरैको मन कुँडिन थालेको छ ।’

एमाले अध्यक्षसमेत रहेका ओलीले असंवैधानिक ढंगले एकपछि अर्को गर्दै चालेका कदमविरुद्ध विपक्षी गठबन्धनले मोर्चाबन्दी थप कसिलो बनाइरहेका बेला ओलीले आफ्नै समुहका नेताहरुको समेत चित्त बुझाउन नसक्दा चरम असन्तुष्टि पैदा भएको र त्यसले ओली विस्तारै कमजोर बन्दै गएको ती नेताको भनाइ छ ।

एक्लै हिँड्न खोज्दा संकट  

अरुको सल्लाह नमान्ने र एक्लै हिँड्न खोज्ने ओलीको मनोगत कार्यशैलीका कारण विगतमा उनको पक्षमा खुलेर उभिने नेताहरु नै पछिल्ला दिनमा मौन प्रायः देखिन्छन् ।

अघिल्लोपटक प्रतिनिधि सभा विघटन गर्दा सबै मन्त्रीदेखि धेरै नेताहरु ओलीको बचाउमा उत्रिएका थिए । तर, दोस्रो पटकको विघटनमा उनको पक्षमा बोल्ने नेता अत्यन्तै कम मात्र भेटिएका छन् ।

‘सर्वोच्चको फैसलाले नै प्रतिनिधि सभा विघटन अवैधानिक भनिसकेको अवस्थामा पुनः विघटन गर्दा कसरी ठीक छ भनेर भन्नु ?’, एक नेता भन्छन्, ‘त्यो भन्न सक्ने नैतिक धरातल नै छैन । त्यसैले चुप बस्नुको विकल्प नभएर नै धेरै नेता मौन बनेका हुन् ।’

आफ्ना आलोचकहरुलाई कारवाही गर्ने, हटाउने र समर्थकहरूको मात्रै पार्टी बनाउने ओलीको ‘फिलोसोफी’ नै अव्यवहारिक रहेको एमाले नेताहरु बताउँछन् । ‘पार्टीभित्र अन्तरविरोधहरु स्वाभाविक रुपमा हुन्छन्,’ एमालेको माधव नेपाल पक्षका एक नेता भन्छन्, ‘यही अन्तरविरोधको नियमअनुसार नै ओली समूहभित्र पनि अन्तरविरोध देखिनु स्वाभाविक हो । तर, पार्टीभित्रका सबैखाले विचारलाई सम्मान गरेर अन्तरविरोधको समाधान गर्नुपर्नेमा ओलीले भिन्न मतलाई सिध्याउने सिद्धान्त अंगीकार गरेका छन् र यहाँनेर ओलीको विचारधारामै खोट देखिन्छ ।’

अब ओली समूहभित्र बढेको अन्तरविरोधको हल कसरी हुन्छ, त्यो हेर्न बाँकी रहेको माधव नेपाल पक्षका नेताहरुको भनाइ छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप