बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माधवले नेपालले बढी शंका गर्नुभयो : खिमलाल भट्टराई

सोमबार, ०७ असार २०७८, २० : ४४
सोमबार, ०७ असार २०७८

एमालेका युवा नेता खिमलाल भट्टराई केपी ओली समूहका नेता हुन् । यद्यपि उनले पार्टी एक हुनुपर्नेमा जोड दिँदै आएका छन् । माधव नेपाल समूहमा रहेका नेताहरु एकताकै पक्षमा रहेता पनि माधव नेपालको भूमिका सकारात्मक हुन नसकेको भट्टराईको आरोप छ ।

‘माधव नेपालले बढी शंका गर्नुभयो । शंकाका आधारमा अघि बढ्नुभन्दा पनि वस्तुगत आधारमा अगाडि आउनुपर्छ’ भट्टराई भन्छन्, ‘आफ्नो पार्टीभन्दा अरुलाई विश्वास गर्ने कुरा छोड्नुपर्छ ।’

सत्तारुढ एमालेमा चलिरहेको एकताको प्रयासबारे ओली पक्षका नेता भट्टराईसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ–

एमाले एकताका लागि भएको प्रयास कहाँ पुग्यो ?

एमाले एकताका लागि दोस्रो तहका नेताहरुले कडा मेहनत गरिरहनुभएको छ । उहाँहरु आशावादी पनि हुुनुहुन्छ । उहाँहरुमा देखिएको आशाले देशभरकै एमाले पंक्तिमा पनि आशा जगाउने काम भएको छ । तर, कमरेड माधवकुमार नेपालले प्रचण्ड र देउवासँगको लगनगाँठो छुटाउन नसक्नुभएकाले समस्याको गाँठो फुक्न सकेको छैन । मूलरुपमा माधव नेपालले आफ्नो शैली परिवर्तन गर्नुपर्ने भए पनि उहाँ त्यो पक्षमा देखिनुभएको छैन । हिजोमात्रै माधवजी बूढानीलकण्ठ जानुभयो, गठबन्धन बलियो हुन्छ भनेर विश्वास दिलाउनुभयो । त्यो हिसावले हेर्ने हो भने त एकता कसरी सम्भव छ र ? उहाँले त एकतालाई मन नपराएकै देखियो ।

माधव नेपाल बूढानीलकण्ठ पुग्दा किन यस्तो पिर ? सबैभन्दा बढि जिम्मेवार हुनुपर्ने केपी शर्मा ओलीले पनि वार्ता र सम्वादका लागि नेता नेपालसँग छलफल गर्नुको साटो जसपाका राजेन्द्र र महन्थसँग  लगनगाँठो कस्नतिर लाग्नुभएको छ, यसले त ओली नै एकताविरोधी देखिनुभएन र ?

त्यसो होइन । उहाँले एउटा वाध्यत्मक स्थितिमा त्यो समीकरण गर्नुपरेको हो । सबैले घेरिसकेपछि त्यस हिसावको सम्वन्ध विस्तार हुन गयो । त्यो एउटा परिस्थितिको उपज हो । नभए अध्यक्ष ओली पार्टी एकताका लागि करिव–करिव सीमा तोडेरै तल ओेर्लिन र पछि हट्न तयार भएको त देखिएकै छ नि । माधव नेपाललगायतको माग जेठ २ मा फर्कनुपर्छ भन्ने हो । जेठ २ मा फर्कन उहाँ तयार नै भैसक्नुभयो ।

यदि ओली जेठ २ मा फर्कन तयार भएको भए त त्यो समयको पार्टी संरचनाको बैठक बोलाउनुपर्ने होइन र ? बैठक बोलाउन केले रोक्यो ?

त्यसमा के छ भने पार्टी एकता प्रक्रियामा नेकपा बन्दै गर्दा माओवादी तर्फबाट एमालेमा रहनुभएका कमरेडहरुप्रति नजरअन्दाज गर्न मिल्दैन । अर्को कुरा, कम्युनिस्ट आन्दोलनको मूल धार एमाले नै हो । त्यसैले अरु पार्टीबाट यता आएका कमरेडहरुलाई सम्मान गर्नुपर्ने, जिम्मेवारी दिनुपर्ने दायित्व पनि छ । त्यस हिसाबले हेर्दा माधवजीहरुले पनि अन्यथा सोच्नुहुँदैन । त्यसरी सोच्न थालियो भने हामी बृहत्तर कम्युनिस्ट आन्दोलनको पक्षमा हुँदैनौं ।

अध्यक्ष ओलीले माधव पक्षका नेताहरुलाई आफूतिर तान्ने र अरुलाई अल्मल्याउने उद्देश्यले वार्ताको नाटक गरेको भन्ने भनाइमा कति सत्यता छ ?

नाटक होइन । कम्युनिस्ट आन्दोलनको मूल स्पिरीटका लागि चालिएको कदम हो । देश र जनताप्रतिको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा आवश्यकतावोध भएर सुसंगठित नेकपा एमाले निर्माण गरेर मात्रै राष्ट्रिय अभिभारा पूरा गर्न सक्छौं र तबमात्रै कम्युनिस्ट आन्दोलनको आजको हैसियत जोगाउन र बढाउन सक्छौं भन्ने महसुसका आधारमा यसो गरिएको छ । यसमा कुनै दाउपेच छैन । कसैलाई तल पार्न पनि खोजिएको होइन । मुख्यरुपमा अवको राजनीतिलाई समाजवादउन्मुख बनाएर हामी अघि बढाउने, देशको राजनीतिलाई विकासमा केन्द्रित गर्ने जुन प्रश्न र उपलव्धिको रक्षाको कुरा छ, हाम्रो सार्वभौमिकताको रक्षा र प्रर्वद्धनको अगुवाइ गर्न एमाले एकतावद्ध हुुनुपर्छ भन्ने मान्यताकै आधारमा पार्टीभित्रको आन्तरिक एकताको पहल भएको हो ।

तर, एकताप्रति ढुक्क हुने अवस्थाचाहिँ छ कि छैन ?

माधव नेपालले बढी शंका गर्नुभयो । शंकाका आधारमा अघि बढ्नुभन्दा पनि वस्तुगत आधारमा अगाडि आउनुपर्छ । अर्को, आफ्नो पार्टीभन्दा अरुलाई विश्वास गर्ने कुरा छोड्नुपर्छ ।

अध्यक्ष ओलीले जेठ २ मा फर्कने प्रतिवद्धताका साथै प्रतिनिनिधि सभा विघटन गर्नु गल्ती थियो भन्नुपर्दैन ?

यो विषयमा अहिले हामी छलफल नगरौं । जेठ २ मा फर्कन तयार भैसकेपछि त्यही बैठकमा छलफल गरेर अघि बढ्न सकिन्छ । के कुरामा आत्मालोचना गर्नुपर्ने हो, होइन भन्ने त बैठकमा गर्ने छलफल हो । तर, जेठ २ उहाँहरुको मागमा अध्यक्ष सकारात्मक हुनुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप