शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्व–सचेतना मानिसको जागृत अवस्था हो

आइतबार, ०६ असार २०७८, १७ : ५३
आइतबार, ०६ असार २०७८

कोरोनाको दोस्रो लहरले नेपालजस्तो थोरै जनसंख्या भएको देशमा यो अवस्था सिर्जना हुनुलाई सामान्य रूपमा लिइनु हुन्न । अझै पनि यो प्रतिकूलता र भयबाट जोगिनका लागि स्व–सचेतनालाई पहिलो औषधिका रूपमा प्रयोग गर्नु जरूरी छ ।

सचेत व्यक्ति परिस्थितिलाई दोष दिँदैन र अरूबाट अपेक्षा पनि गर्दैन । तर, ऊ हरेक परिस्थितिमा सचेत भने रहन्छ । जस्तोसुकै परिस्थितिमा पनि जीवनशैली व्यवस्थापनको कला जान्नु सचेत र विवेकशील व्यक्तिको गुणवत्ता हो ।

डर र त्रासले समस्या समाधान हुने होइन । आफ्नो स्वास्थ्य, वरपरको वातावरण आदि कुरालाई ख्याल गर्दै संयमित र संवेदनशील बन्नु आफैंमा एउटा अनुशासन पनि हो । महामारीको अवस्था भयानक भएर निषेधाज्ञा जारी भएपछि मात्र होइन, आफ्नो स्वास्थ्य अवस्था र जीवनशैलीका बारेमा सदैव सचेत रहनु जरूरी छ । घर बाहिर हिँडडुल गर्नमा रोक लागेको भए पनि घरभित्र बसेर आफूलाई मानसिक रूपमा शान्त र स्वस्थ अनि शारीरिक रूपमा पनि स्वस्थ र तन्दुरुस्त राख्नमा स्वयं जागरुक हुनुको विकल्प छैन । अस्पतालमा कोरोनाको बिरामीले ठाउँ नपाउने अवस्थाको चिन्ता मात्र होइन, यो समयमा अरू अस्वस्थताले हामी अस्पताल जाने स्थिति नआओस् यसमा सचेत हुनु जरूरी छ ।

हाम्रो खानपान, सोचाइ र जीवनशैलीले हाम्रो स्वास्थ्यलाई निर्धारण गर्दछ । बाहिर निस्कने बानी भएकाहरुमध्ये धेरैजसोको बानी घरमा बस्दा शारीरिक अभ्यास नगर्ने, योग, ध्यान नगर्ने, यसो बारी बगैँचामा काम पनि नगर्ने केवल खाने र टीभी हेरेर बस्ने गरेको पाइन्छ । यसो हुँदा आलस्य बढ्ने, शरीरमा मोटोपना बढ्ने मात्र नभई उच्च रक्तचाप, चिनी रोग बढ्ने मौका पनि यही हुन सक्छ ।

खानाको असन्तुलन र मांसाहारयुक्त खाना बढी भयो भने पेटको गडबडी तथा अन्य रोगले नसताउलान् भन्न सकिन्न। त्यसैले संक्रमणबाट बच्नु त छँदैछ आफ्नै दैनिकी र जीवनशैली पनि संयम, धैर्यतापूर्ण र विवेकपूर्ण हुनु जरूरी छ ।

जसलाई कोरोनाको असर परिसकेको छ, उसले चिकित्सकीय सल्लाह अनुसार संयमित हुनु जरूरी छ नै, जसलाई अझै कोरोना असरले छोएको छैन, उसले केही संयमता र विवेकको प्रयोग गर्ने हो भने महामारीको समयमा मात्र होइन अरु समयमा पनि आत्तिनुपर्ने अवस्था आउँदैन । संयमताका केही सूत्रहरू जानि राखौं र व्यवहारिक प्रयोग गरौं –

नियमित शारीरिक अभ्यास

आजकल धेरैले योग अभ्यासहरू सिकेर नियमित योग, आसन, प्राणायाम र ध्यान गर्ने गरेको पाइन्छ । ट्रेड मिलको प्रयोग सबैको पहुँचमा छैन । तैपनि सहर बजारमा धेरैको घरमा यो उपलब्ध छ । आफूसँग जे उपलब्ध छ, त्यसलाई प्रयोगमा ल्याउनु बुद्धिमानी हो ।

योग नै नसिकेकाले के गर्ने त ? चिन्ता गर्नुपर्दैन । टीभीमा, मोबाइलमा, रेडियोमा गीत त प्रायको बजेको हुन्छ र बजाउन सकिन्छ । संगीतको लयमा शरीरलाई हल्काफुल्का पार्दै करिव २०–३० मिनेट नृत्य गर्नु आफैंमा सशक्त शारीरिक अभ्यास हुन सक्छ ।

घरको आँगनमा, घर वरिपरि, कौसीमा विस्तारै हिँड्ने अर्को उपाय हो । बारी, बगैँचामा काम गर्ने, झारपात उखेल्ने, बिरुवामा पानी दिने यस्तै अनेक सानातिना कामले पनि शरीरलाई व्यायाम मिल्छ । शरीर स्फूर्त हुन्छ । शरीरमा स्वासको लयवद्धता मिल्छ र अक्सिजनको मात्रा पनि पर्याप्त मिल्छ ।

जब स्वास–प्रस्वास सहज हुन्छ, तब मन पनि स्थिर, शान्त र खुसी हुन्छ । यो महामारीको समयमा सबैभन्दा पहिले आत्तिने भनेकै मन हो । मन आत्तिनासाथ स्वस्थ व्यक्तिलाई पनि असहजता भएको, शरीरमा अक्सिजन कम भएजस्तो, रोगका सबै लक्षण आफैंलाई देखिएजस्तो महसुस हुन्छ । त्यसैले शारीरिक व्यायाम मनलाई स्थिर राख्ने, रक्तसञ्चार सुचारू राख्ने र स्वास–प्रस्वासलाई सहज राख्ने माध्यम हो ।

केही न केही गर्ने र शरीरलाई चलायमान बनाइराख्ने बानी गर्नुपर्छ । भान्छाको काममा सहयोग गर्ने या घरको सरसफाइमा हात लगाउने, जे गर्दा पनि शारीरिक व्यायाम हुन्छ ।

सन्तुलित भोजन

शरीरलाई आवश्यक पौष्टिक तत्त्व प्राप्त हुने भोजन नै सन्तुलित र पूर्ण भोजन हो । हामी खाना खान्छौं तर त्यसमा स्वाद मात्र हेर्छौं या पौष्टिकता पनि त्यो महत्त्वपूर्ण छ । घर बसेको समयमा र काम नभएको समयमा पटक–पटक खाइरहने हो ? कति खाने, कसरी खाने र खाएको खाना पाच्य हुन कति समय लाग्छ आदि कला पनि सँगै जान्नुपर्ने हुन्छ ।

मिठो लागेको जति खाने, मन लागेको समयमा खाइदिने, समयको अन्तराल ख्याल नगरी खाइदिने आदि बानीले गर्दा हाम्रो शरीरले सन्तुलित भोजन नपाइरहेको हुन्छ र त्यो नै हाम्रो शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, मानसिक स्थिरता र खुसीलाई बाधक बन्न सक्छ ।

भिटामिन, प्रोटिन, कार्बोहाइड्रेड, क्याल्सियम जस्ता आवश्यक तत्त्व प्राप्त हुनेगरी फलफूल, सागसब्जी, अन्न र मासु एवं दुग्ध पदार्थको पनि सन्तुलन मिल्नुपर्ने हुन्छ । उमेर अनुसार पनि हाम्रो भोजनको मात्रा निर्धारित हुने भएकाले त्यसमा ध्यान दिनुपर्छ । हामी सोचौं, हाम्रो उमेर बढ्दै जाँदा हाम्रो शारीरिक अभ्यास कम हुँदै जाँदा पनि हामी त्यति नै मात्रामा भोजन ग्रहण गर्छौं या परिवर्तन भएको छ ?

सन्तुलित आहार त्यो हो, जसले हाम्रो शरीरको वजनलाई सन्तुलनमा राख्न सकोस् । शरीरमा सकारात्मक ऊर्जा प्रदान गरोस् । राम्रो निद्रा परोस् । स्मरण शक्तिमा वृद्धि होस् । रोग प्रतिरोधात्मक क्षमता बढाओस् । अनि, सकारात्मक सोच कायम राखोस् ।

हामीले सोचेजस्तो हाम्रो भोजनले हाम्रो शरीरलाई मात्र सन्तुलनमा राख्दैन, मन, भावना तथा विचारलाई पनि प्रभाव पार्दछ । व्यवहारिक दृष्टिकोणबाट पनि सन्तुलित भोजन उत्तिकै महत्त्वपूर्ण छ ।

सिर्जनात्मकता

कुनै पनि नवीन विचार र सोचलाई व्यवस्थापन गर्नु सिर्जनात्मक र रचनात्मक हुनु हो । सिर्जना मानसिक क्षमता र कौशलताको परिचायक पनि हो ।

कुनै पनि घटना या परिस्थितिले हाम्रो विचारमा उथलपुथल ल्याउँछ र त्यसले कुनै सिर्जनाको प्रादुर्भाव गर्दछ। सकारात्मक घटना छ भने सकारात्मक कार्यको थालनी हुन्छ। नकारात्मक घटनाले असर गरेको छ भने व्यक्तिमा हानिकारक अभ्यासको आदत पनि बस्न सक्छ ।

महामारी, बन्दाबन्दीमा घरभित्रै बस्नुपर्ने अवस्था आउँदा घरभित्रै बसेर गर्न सकिने सिर्जनात्मक र रचनात्मक कार्यमा मन लगाउनाले मन चारतिर भाग्न पाउँदैन । चित्रकला, गायन, संगीतका कुनै पनि आयाम, बाँसुरी बजाउने, गितार बजाउने, तबलाको अभ्यास, कविता लेखन, किताब लेखन जुनसुकै विधामा आफूलाई समाहित गर्नाले सिर्जना त बढ्छ नै, मन रचनात्मकतामै व्यस्त हुन्छ । चिन्ता, भय र त्रास र बेचैनीबाट मुक्ति पाइन्छ ।

हाम्रो सिर्जना र रचनासँग भाव जोडिएको हुन्छ, जसले मानसिक स्थिरता, आन्तरिक खुसी अनि सन्तोष प्राप्त हुन्छ । कसैको बगैँचामा काम गर्ने सोख हुन सक्छ । कसैलाई गमला सजाउने त कसैलाई कोठाभित्रको सजावटमा रमाइलो लाग्न सक्छ । आफूलाई मन लागेको काममा समय बिताउनु आफैंलाई स्वस्थ राख्ने उपाय हुन् ।

आत्म मनोबलको विकास

भित्रबाट सिर्जित हुने भयलाई भित्रैबाट आत्मबल अर्थात् मनोबलद्वारा निर्मूल पार्नुपर्छ । यो कठिन पटक्कै छैन । तर, यसको अभ्यास जरूरी छ । मनोबल जागृत गर्नलाई सकारात्मकता, संयमता, धैर्यता र अनुशासन भने आवश्यक पर्दछ । भित्रैबाट प्रत्येक व्यक्तिले मलाई केही नराम्रो हुँदैन, कुनै रोगले छुँदैन, म निश्चिन्त खुसी र निर्भय प्राणी हुँ भन्ने भावना जागृत गर्न सक्यो भने कुनै पनि समस्याले चिन्तामा लैजाँदैन ।

आत्मबलजत्तिको आन्तरिक ऊर्जा अरु केही हुँदै हुँदैन । आन्तरिक ऊर्जाशक्तिले आफूलाई भयमुक्त, सफल र आनन्दित छु भनेर सोच्ने बानी बसाल्नुपर्छ । आफ्नो डाक्टर आफैं, आफ्नो प्रेरणाको स्रोत आफैं, आफ्नो भरोसा आफैं बन्नुपर्ने यो अवस्थामा आत्मबल कमजोर हुन दिनुहुन्न । आत्मबलले विचार सकारात्मक बनाउँछ ।

सकारात्मक विचारले गरेका हरेक कर्मको नतिजा सकारात्मक हुन्छ र हाम्रो कामको नतिजाले हाम्रो जीवनको खुसी र आनन्दलाई निर्धारण गर्दछ । ध्यानको नियमित अभ्यासले आत्मबल बढाउनमा मद्दत गर्दछ । आत्मबल बलियो हुने व्यक्ति सानोतिनो असहजतामा अस्पताल दौडिहाल्नुपर्ने अवस्थाबाट मुक्त हुन्छ । उसले घरमै संयमता अपनाएर परिस्थितिलाई सहज बनाउने कला विकास गरेको हुन्छ ।

भावबाट नै सबै समस्या समाधान हुन्छन् भनेर खप्तड बाबाले आफ्नो विचार विज्ञानमा उल्लेख गर्नुहुन्छ– पूर्ण विश्वास र नियमपूर्वक यसको अभ्यासलाई जारी राख्नेले आफूमात्र होइन, अरूलाई समेत चिन्तारहित बनाउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा.नम्रता पाण्डे
डा.नम्रता पाण्डे
लेखकबाट थप