शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्युनिखमा जर्मनीलाई पोर्चुगलको चुनौती

शनिबार, ०५ असार २०७८, १२ : ३१
शनिबार, ०५ असार २०७८

खेलको अन्त्यतिर तीन गोल गर्दै पोर्चुगलले बुडापेस्टमा घरेलु टोली हंगेरीविरुद्ध जित निकालेको थियो । त्यसक्रममा पोर्चुगलबाट रोनाल्डोले दुई गोल गरेका थिए । उनले यही खेलमार्फत युरोको इतिहासमै सर्वाधिक धेरै ११ गोल गर्ने किर्तिमान लेखाए । 

अब दोस्रो जितले पोर्चुगलको दोस्रो चरणको यात्रा सुनिश्चित गर्नेछ, तर, जर्मनीविरुद्ध उसैको घरेलु मैदानमा जित निकाल्न डिफेन्डिङ च्याम्पियनलाई सहज हुनेछैन । यो खेल नेपाली समयअनुसार राती ९ः४५ मा म्युनिखको एलिनाज एरिनामा सुरु हुनेछ । 

जर्मनीलाई फ्रान्सले म्युनिखमा भने निकै दबाबमा राख्यो र म्याट हमेल्सले घरेलु मैदानमै आत्मघाती गोल गर्दा फ्रान्स विजयी भयो । यता, हंगेरीविरुद्धको ३–० को विजयले पोर्चुगललाई अवश्य आत्मविश्वासी बनाएको छ । 

यसको अर्थ जर्मनीलाई कमजोर आँक्नु जोकोहीका लागि ठूलो भूल हुनेछ । 
जर्मन प्रशिक्षक जोआचिम लोका लागि पोर्चुगल नौलो प्रतिद्वन्द्वी होइन । 

उनी कुनै समय जर्मनीको सहायक प्रशिक्षक थिए र त्यतिबेलादेखि अहिलेसम्म आइपुग्दा उनी  ठूला प्रतियोगितामा पोर्चुगलसँग पाँचौपटक भिड्दैछन् ।  र लोको नेतृत्वमा ठूला प्रतियोगितामा पछिल्ला तीन भिडन्तमध्ये जर्मनीले तीनवटै खेल जितेको छ । जर्मनीले युरो २००८ मा ३–२, युरो २०१२ मा १–० र विश्वकप २०१४ मा ४–० ले पोर्चुगललाई हराएको छ । 

यद्यपी, समग्र इतिहास पोर्चुगलका पक्षमा छ । दुई टोलीबीच अहिलेसम्म भएका कुल १८ भिडन्तमध्ये १० खेल पोर्चुगलले जितेको छ, पाँच खेल जर्मनीले जितेको छ र तीन खेल बराबरीमै टुंगिएको छ । 

पक्कै पनि सुरुवाती खेलमा पराजित भएकाले जर्मनी आज केही दबाबमा देखिनेछ र त्यसको फाइदा पोर्चुगलले उठाउनसक्छ । 

पछिल्ला ६ खेलको नतिजा हेर्ने हो भने पोर्चुगलको लय राम्रो छ । उसले ६ मध्ये ४ खेल जितेको छ र २ खेल बराबरी गरेको छ । यता,जर्मनीले ६ खेलमा ३ जित हासिल गरेको छ, २ खेल हारेको छ र १ खेल बराबरी गरेको छ । 

स्टार खेलाडीले भरिएका टिम 
पोर्चुगल र जर्मनी दुबैमा एक से एक स्टार छन् । रोनाल्डोसहित पेपे, डिएगो जोटा, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, रोनाल्डो, जोआ फेलिक्सजस्ता स्टार पोर्चुगलमा छन् भने जर्मनीमा म्यानुअल निउर, म्यान हमेल्स, इल्के गुन्डोगान, टोनी क्रस, थोमस मुलर, सर्जी जनाब्री, काई हार्भट्चजस्ता स्टार छन् । 

प्रशिक्षक के भन्छन् ?
फर्नान्डो सन्तोष, पोर्चुगल : म जर्मनीसँग तर्सिएको छैन । मलाई लाग्छ, दुबै टिमले एकअर्कालाई सम्मान गर्नेछन् । किनकी, खेलको निर्णय गर्न सक्षम दस्ता दुबैतर्फ छन् । जर्मनीविरुद्ध उसैको घरेलु मैदानमा खेल्दा पोर्चुगलले आफुलाई दाबेदार ठान्नु भनेको लाईन क्रस गर्नु हो । यदी खेलाडीले यस्तो सोचे भने मैले बराबरी नतिजा पनि निकाल्न सक्दिँन !

जोआचिम लो, जर्मनी प्रशिक्षक : पोर्चुगलसँग आक्रमणमा क्रिष्टियानो रोनाल्डोमात्र होइन, चार वा पाँच अन्य उत्कृष्ट खेलाडी छन् । उनीहरु ठूला खेलमा निर्णायक साबित हुनसक्छन् । उनीहरु टेक्निकल्ली बलिया छन् । उनीहरुलाइ किनारामा राख्नु निकै कठिन हो, किनकी उनीहरुबाट बल खोस्न निकै कठिन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप