मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरको चिनारी परम्परागत ठेकी लोप हुने अवस्थामा

पहिचान जोगाउन स्थानीय तहको प्रयास
शनिबार, ०५ असार २०७८, ११ : २०
शनिबार, ०५ असार २०७८

मकवानपुर । मकवानपुरको चिनारीको रुपमा रहेको काठको ठेकी यतिबेला लोप हुने अवस्थामा पुगेको छ । ग्रामीण क्षेत्रका पशुपालन किसानले दूध जमाउने, दही मथ्ने (मही बनाउने) प्रयोग गर्ने गरेका परम्परागत ठेकी अहिले लोप हुने अवस्थामा पुगेको हो ।

पछिल्लो समय काठको ठेकी प्रयोग र संरक्षण नहुँदा काठको ठेकी लोप हुँदै गएको छ । समय परिवर्तसंगै यन्त्र र उपकरणको प्रयोग बढ्दै जाँदा मकवानपुरको चिनारी काठको ठेकीलाई संरक्षण गर्नुपर्ने अवस्था आएको छ ।

परम्परागत काठको ठेकीलाई धातुको प्रयोग गरी बनाइएका आधुनिक सामग्री तथा यन्त्र उपकरणहरूले विस्थापित गर्दा लोप हुने अवस्थामा पुगेको हो ।

कुनै समय मकवानपुर काठको ठेकी उत्पादनको लागि प्रख्यात जिल्लाको रुपमा नै उल्लेख गरिएको पाइन्छ ।

मकवानपुरको विभिन्न स्थानहरुमा ठेकी बनाउन दार अथवा देवदारु प्रजातिका रुखको काठको प्रयोग गरिन्छ । ती प्रजातिका काठलाई खोपेर बुट्टा भर्ने काम कुदेर ठेकी तयार गर्ने गरिन्छ ।

काठको ठेकी लोप हुँदा मकवानपुरका चुदारेहरुको पेसासमेत संकटमा परेको छ ।

मकवानपुरमा बनेको ठेकी भक्तपुर, काठमाडौं लगायतका विभिन्न जिल्लाहरुमा लगेर विक्री गर्ने गरेको इतिहास कायम छ ।

ठेकी विक्रीका लागि मकवानपुरमा बेग्लै बजार लाग्ने गरेको बताइन्छ । उक्त हाट बजारमा २५ देखि ३० वटासम्म ठेकी बिक्री हुने गरेको थियो ।

पहिचानको लागि धातुको ठेकीको ट्यांकी

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बसपार्कमा मकवानपुरको चिनारीको रुपमा रहेको ठेकीको आकारको पानी ट्यांकी निर्माण गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले सत्य साइकेन्द्र बागमती प्रदेश समितिसंगको सहकार्यमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा ठेकी आकारको खानेपानी ट्यांकी निर्माण निर्माण गर्न लागिएको हो ।

यात्रुहरुको सहजताका लागि खानेपानी उपलब्ध गराउने र इतिहास संरक्षणका लागि पूर्व–पश्चिम राजमार्ग अन्र्तगत पर्ने बसपार्क क्षेत्रमा उक्त ठेकी आकारको पानी ट्यांकी निर्माण गरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

सत्य साई केन्द्रको १५ लाख र १० नम्बर वडा कार्यालयको ७ लाखको लागतमा करिब ३५ सय लिटर क्षमताको खानेपानी ठेकी आकारको ट्यांकी निर्माण गर्न लागेको हो ।

ठेकी राखिएको क्षेत्रको बगैँचा निर्माण तथा व्यवस्थापन साई केन्द्र हेटौँडाले गर्ने छ ।

गुम्बाडाँडामा सिमेन्टको ठेकी

काठको ठेकीको संरक्षणका लागि हेटौंडाको हर्नामाडीमा रहेको पर्यटकीय क्षेत्र गुम्बाडाँडामा सिमेन्टको प्रयोग गरी ठेकी निर्माण गरिएको छ ।

मकवानपुरको चिनारीलाई लोप हुनबाट जोगाउन पर्यटकीय क्षेत्र हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ हर्नामाडिस्थित गुम्बाडाँडामा सिमेन्ट प्रयोग गरी ठूलो आकारका ठेकी निर्माण गरीएको हो ।

परम्परागत ठेकीको संरक्षणको लागि संघीय र प्रदेश सरकारको सहयोगमा करिव साँढे पाँच फिट उचाइ र चार फिट चौडाइको ठेकी निर्माण गरिएको हो ।

कुल ३८ लाख रुपैयाँ लागतमा उक्त ठेकी निर्माणको गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप