शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनुभूति : जीवनभित्रको जीवन

शनिबार, ०५ असार २०७८, १० : ५८
शनिबार, ०५ असार २०७८

 

निर्दोष नेपाल
 
अन्ततः मैले सम्झिएँ कौमार्यमा फुल्दै गरेको एउटा फूलभित्र पानी, मल, जल, सिँचित गरी त्यसलाई फलाउनु र फुलाउनु नै जीवन रहेछ ।

ताते–तातेका पैतलासँगै बा–बा, आमाको तोते बोलीले म पनि मानव हुँ भन्ने आभाष मलाई त्यति नै बेला दिलाए होला । तर, त्यो मेरो मानसपटलमा अहिले ताजा भने छैन । सायद मैले त्यति नै बेला आफ्नो जीवन सुरु गरेँ । तर, मेरी आमालाई लागे होला, मलाई ९ महिना गर्भमा राख्दा नै मेरो जीवनको सुरुवाती पल त्यही थियो होला भनेर ।

सबैले आ–आफ्नै तर्क देलान्, विश्लेषण गर्लान् जीवन त क्षणिक रंगमञ्चको अभिनय हो । जीवन त एउटा स्वप्न हो, जो ब्युँझिँदा समाप्त हुन्छ । जीवन त कर्कलाको पातको पानी हो, कतिबेला भुँईमा त्वाप्प खस्छ थाहै हुँदैन । तर, त्यही पातमा रहँदा  हामी हाम्रो सबथोक त्यसैलाई ठान्छौं । ढल्किँदै–ढल्किँदै अन्य पानीका बुँदहरुलाई पनि आँफैंमा विलीन गराउन चाहन्छौं बैभवशाली, शक्तिशाली बन्न चाहन्छौं ।

एउटा सत्यको विगुल हर घडी बजिरहन्छ त्यही जीवनमा तर हामी सुने पनि नसुने झैं गर्छौं । मृत्यु नै जीवनको स्वास्वतः सत्य  भन्ने कुरा जान्दाजान्दै पनि अञ्जान कसरी बन्छौं हामी । मस्तिष्कभित्रको मस्तिष्क अवचेतन भएर कहिलै कसैले यो विषयमा मलाई यही कुराले सधंै पिरोली रह्यो । साँच्चिकै जीवन के हो त ?

कि म जीवनभित्र भर्खरै–भर्खरै पस्न खोज्जै छु, छुन खोज्दैछु, चिन्न खोज्दैछु, बुझ्न खोज्दैछु या मेरो हृदयले के जीवनलाई महशुस नै गरेको छैन ? यदि छैन भने जीवनको अर्थ के गरी बुझुँला म र बुझाउँला मेरा सन्ततिलाई ।

जीवनको धरातलभित्र जीवन खोजेर हेर्दा नाम, पैसाले लत्पतिएका मान्छेमात्रै ठम्यायो मेरो यो दृष्टिले । जीवनको अर्थ भन्नु त जीवनभित्रको जीवन पो रहेछ । मृत्युलाई चटक्कै भुलेर मलाई रमाउनु छैन यो क्षणिक संसारमा मलाई थुपार्नु छैन काम, क्रोध, लोभ, मोह, अहंकारभित्रको सांसारिक सुखभोग ।

चाहे विज्ञानले मोहम्मद पैगम्बरलाई सच्चा जीवन मानोस् या भगवान कृष्णलाई । या किन नदिओस् भगमानकै उपमा बुद्धलाई तर कल्कि अवतारको डर हर अनुहारभित्र झल्किन्छ । गरुड पुराणको बैतरणनीको कथा त सुने पनि नसुने झैं गर्लाउ तिमी । तर, तिम्रा अगाडि समयले नेटो काटेर अस्ताएका आफन्तीहरुको श्राद्धमा पिण्ड बगाउँदै गरेको देखेर कतै च्वास्स लागेन जीवनको समाप्ति यही हो भनेर ?

म बसिरहेको घर मैले मेरो भन्दिनँ र भनिनँ पनि, कुनैबेला यही घरमा मेरा हजुरबुवा बस्नुहुन्थ्यो । उहाँ जीवितै छँदा उहाँले यस घरलाई आफ्नो ठान्नुभयो । यो ठान्नुभएन कि यो मेरो होइन, यहाँ मेरो केही छैन, नाङ्गो सत्यता बोकेर आएको म नाङ्गै जाने हो भनेर । मेरा बाले पनि मेरै हजुरबालाई नै पछ्याउनुभयो । पूरा जिन्दगी मृत्यु बोकेर बाँच्नुभयो, यो सब थोक मेरै हो भनेर । अहिले त्यो घरमा न मेरा बा हुनुहुन्छ न त हजुरबा । न त भोली म नै रहनेछु । यहाँ के रहेछ त मेरो ? म आफै बसिरहेको घर त मेरो रहेनछ ।

जीवनभरिको मेहनत, पसिना दुःख गरी कमाएको एक–एक पैसा जोडेर ठम्याएको कठै सुनौलो जीवको आश बोकेर लस्करै परदेशिएकाहरु तातो बालुवा पसिनाले सिँचित गर्दै जवानी खाडीमा बेचेर सुन्दर घर, सुन्दर संसार र सरल जीवनको सपना बोकेर मातृभुमि छोडी परदेशिएकाहरु मेरो मानस्पटलमा जहिले ताजा भइरहन्छन् ।

तीन–चार वर्षको उमेर हुँदै पढाइ केही समयपछि जागिर फेरि केही अन्तरालमा घर गृहस्थी अनि बुढेसकालका लागि थोरै पैसा सञ्चय हैन भने त आजकाल आफ्ना सन्तानहरुले आश्रमसम्म पनि छोड्दैनन् ।

के यही परिधि नै जीवन हो त ? कहिलेकाँही आफंैलाई प्रश्न सोध्न मन लाग्छ । सोच्छु, अरुभित्र आफू बाँचेर आफूभित्र अरुलाई बचाएर बाँचौं ।  तर, फेरि लाग्छ, के भीरको सुनाखरी, डाँडाको धुपि र बनको ऐंसेलु जीवन किन हुन सक्दैन मेरो ?

अर्थभित्र अर्नथ भेटेपछि मैले अर्थलाई अनर्थ नै छोडेको हुँ । यहाँ सबैलाई सुःख चाहिएको छ, खुसी चाहिएको छ । भौतिक सुःख सुविधा चाएिको छ, चाहे जीवनको अर्थ लागोस् या अनर्थ । सायद समाज पनि यही भएर रुपान्तरण भएको होला ।  मान्छेको हैसियत र ओहोदालाई नमस्कार र सम्मान गर्ने प्रचलनमा गाँजिदै गएको । त्यसैले अब मलाई हामी हुनु छैन । मलाई अरु कसैको पनि हुनु छैन । मलाई मेरो भएर अर्थभित्रको जीवन बाँच्नु छ । अब त आफ्नो प्रत्येक दिनलाई जीवनकै अन्तिम दिन सम्झेर जिउनु छ । काम क्रोध, लोभ, मोह, माया भन्दा पर र पुग्नु छ । जीवनभित्रको जीवनमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप