शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरोकपः फ्रान्स र हंगेरी भिड्दै

शनिबार, ०५ असार २०७८, १० : ४७
शनिबार, ०५ असार २०७८

युरोकपमा फ्रान्सले शनिबार नेपाली समयअनुसार ६ः४५ मा हुने खेलमा हंगेरीको सामना गर्दैछ । यसअघि जर्मनीलाई उसैको मैदानमा १–० ले हराउँदै फ्रान्सले प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । यता, घरेलु मैदानमै पोर्चुगलसँग हंगेरी ३–० ले पराजित भएको थियो । 

तर, हंगेरीले तीनवटै गोल अन्त्यमा गएर खाएको थियो । खेलको ८४ मिनेटसम्म उसले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई गोल गर्न दिएको थिएन । अन्तर्राष्ट्रिय फुटबलमा कुनै खेल सहज हुन्न भन्ने दृष्टान्त यो खेल थियो । 
हंगेरीले पहिलो हाफमा गरेको उत्कृष्ट प्रदर्शनलाई दोस्रो हाफमा पनि निरन्तरता नै दिएको थियो । खेलपछि उसका प्रशिक्षक मार्को रोस्सीले ८४ मिनेट नभएर ९० मिनेटसम्म लागु हुने गेम प्लान तयार गर्ने बताएका छन् । 

यता, फ्रान्स भने जितका लागि विश्वस्त नै भएको हुनुपर्छ । उसँग राफाल भराने, पाउल पोग्बा, एनगोलो कान्टे, एन्टोनियो ग्रिजम्यान, कालियन एमबाप्पे, करिम बेन्जामाजस्ता विश्वकै उत्कृष्ट खेलाडी छन् । 
पछिल्लो ५ खेलमा फ्रान्सले कुनै गोल नखाई जित हासिल गरेको छ । आफ्नो क्लिन सिटलाई छैटौं खेलसम्म लम्ब्याउने पक्षमा फ्रान्स हुनेछ । घरेलु समर्थकको सद्भावले पक्कै पनि बुडापेस्टमा फ्रान्सविरुद्ध भिड्नका लागि हंगेरीलाई हौसला भने दिनेछ । 

के भन्छन् प्रशिक्षक ?
मार्को रोस्सी, हंगेरी : हाम्रा लागि यो ठूलो प्रेरणा हो । हामी विश्व च्याम्पियनको कुरा गरिरहेका छौं । जो स्पष्ट दाबेदार हो र जोसँग यो दुनियाँबाहिरका एमबाप्पे छन् । हामी झन्डै असंभव कार्य पछाडि उभिएका छांै, तर पनि हामी आफ्नो तर्फबाट सबै दिन गइरहेका छौं ।

डिडियर डेसच्याम्पस, फ्रान्स : उनीहरु लडाकु र कडा मेहिनती टोली हुन् र निकै संयोजित छन् । इटलियन प्रशिक्षक हुनुले पनि उनीहरुबारे धेरै वर्णन गर्छ भन्ने मलाई लाग्छ । उनीहरु घरमा छन् र पोर्चुगलविरुद्ध उनीहरुले देखाएजस्तै प्रतिबद्धता आजको खेलमा देखाउनेछन् भन्ने मेरो अपेक्षा छ । यदी हामीले जित्यौं भने हामी दोस्रो खेलबाटै दोस्रो चरणमा छनोट हुनेछौं । हाम्रो पहिलो लक्ष्य त्यही हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप