शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विपक्षी गठबन्धनलाई थप मजबुत बनाउने काँग्रेसको निर्णय

शुक्रबार, ०४ असार २०७८, १९ : ४४
शुक्रबार, ०४ असार २०७८

नेपाली काँग्रेसले विपक्षी गठबन्धनलाई थप कसिलो बनाउँदै लैजाने निर्णय गरेको छ । विहीबार र शुक्रबार बसको केन्द्रीय कार्यसमिति बैठकले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव खेमा सम्मिलित गठबन्धनको  निरन्तरता दिने निर्णय गरेको हो। 

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ । 

बैठकपछि काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘हामी चाहन्छौँ लोकतन्त्रको रक्षा होस् । संविधानको रक्षा होस् । र त्यसमा जो पार्टीहरू व्यक्तिहरु जोडिन चाहुनुहुन्छ, उहाँहरुलाई जोड्दै यसलाई अझ मजबुतका साथ अगाडि बढाउने छौं ।’  

संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि प्रधानमन्त्री ओली विरुद्धको बृहत मोर्चा एकताबद्ध बनाएर जाने बैठकको निष्कर्ष रहेको महतले जानकारी दिए । 

'वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मुल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ । लोकतन्त्रमा र संविधानमा विश्वास गर्छ ती पार्टीहरू र समुहहरुलाई जोड्दै एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले गरेको छ,’ महतले भने । 

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पाँच वटा घटक एक ठाउँमा आएको अवस्था छ । काँग्रेस, माओवादी, राजमो, माधव, उपेन्द्र पक्षबीच गठबन्धन बनेको छ । सोही गठबन्धनको समर्थनमा बहुमत सांसदको हस्ताक्षरसहित देउवाले सरकारमा दाबी गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमतको आधार नदेखिएको जिकिर गर्दै दाबी खारेजी गरेकी थिइन् । राष्ट्रपतिको निर्णयपछि सरकार बन्न नसकेर संसद विघटन भइ आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरिएको छ । तर सो निर्णय उपर सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । गठबन्धनका तर्फबाट १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका छन् ।

पछिल्लो समय राष्ट्रिय राजनीतिका सन्दर्भमा पनि विपक्षी गठबन्धनले समाधन धारणा सार्वजनिक गर्दै आएको छ । ५ वटा राजनीतिक दलले केन्द्रदेखि जिल्ला सतहसम्म मोर्चा बन्दी बनाएको पाइन्छ । केही प्रदेशमा सरकार निर्माण सन्दर्भमा पनि विपक्षी गठबन्धन एक ठाउँमा छ । सोही अनुसार कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश दुईमा विपक्षी गठबन्धनले सत्ता सहकार्यलाई अगाडि बढाएको छ । अन्य प्रदेशमा पनि सोही अभ्यास गर्ने प्रयास जारी छ । विपक्षी गठबन्धनमा अविश्वास पैदा हुन नदिन पनि शीर्ष नेताहरुबीच निरन्तर छलफल जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप