बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘गाडी कुहिए, मजदुर भोकै छन्, हामी बर्बाद भयौं’

यातायात व्यवसायीको प्रश्न– बैंकको किस्ता कसरी तिर्ने ?
शुक्रबार, ०४ असार २०७८, १९ : २९
शुक्रबार, ०४ असार २०७८

कोभिड–१९ संक्रमणको पहिलो चरण शुरु भएसँगै ०७६ चैत ११ बाट मन्त्रिपरिषद्ले देशभर पूर्णरुपमा लकडाउन ग¥यो । ०७७ साउन ६ मा सरकारले ‘लकडाउन खुल्यो’ भनेपछि बल्ल लामो र छोटो दुरीका सार्वजनिक यातायात चल्न थालेका थिए । तर, संक्रमण रोकिएन ।

स्थानीय प्रशासनले जोर–बिजोर प्रणाली र निषेधाज्ञा जारी गरेपछि गत वर्ष ६ महिना पनि सार्वजनिक यातायात चल्न पाएनन् । जब, यातायात सुचारु हुन थाल्यो, फेरि कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भयो । ०७८ वैशाख १६ पछि देशभर निषेधाज्ञा लागु हुँदा लामो र छोटो दुरीका सार्वजनिक सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

अघिल्लो वर्षको लकडाउनका कारण यातायात क्षेत्रबाट धेरै विस्थापित भएको र सयौंले रोजगारीसमेत गुमाएको बताउँछन् यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला । ‘भर्खर बामे सर्न थालेका थियौं’ सिटौलाले रातोपाटीसँग भने, ‘दोस्रो महामारी शुरु भयो, हामी तहस–नहस भयौं ।’

गत वर्षको लकडाउन र निषेधाज्ञाको बीचमा सार्वजनिक सवारी साधनको कागजपत्र फेल भएको जरिवानासमेत तिर्नुपरेको व्यवसायीको गुनासो छ । ‘यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेकै छैन’ सिटौला भन्छन्, ‘बैंकले हामीलाई सहुलियत गरेको छैन, यसमा राज्यको तर्फबाट कुनै पहलकदमी भएको छैन ।’

सार्वजनिक यातायात क्षेत्रमा करिब १० खर्बको लगानी छ । ६५ प्रतिशत लगानीकर्ता स्वरोजगार छन् । सो क्षेत्रमा १० लाखले प्रत्यक्ष रोजागरी पाएको यातायात व्यवसायीहरु बताउँछन् । यातायात व्यवसायीका महासचिव सिटौलाका अनुसार सो क्षेत्रसँग करिब ४० लाख मानिस आश्रित छन् ।

यातायात सञ्चालन नहुँदा मोटर पार्टस बिक्रेता र सवारी वर्कशपहरु समेत प्रभावित भएका छन् । गाडी नचले पनि बैंकको ब्याज किस्ता चलिरहेको व्यवसायीहरु बताउँछन् । गाडी खुल्नुअघि चालक, सहचालक र काउन्टरका कर्मचारीलाई खोप लगाउन माग गर्दै ब्यवसायीले दुईपटक स्वास्थ्य मन्त्रालयमा लिखित आग्रह गरेका छन् । तर, सुनुवाई नभएको बताउँछन् सिटौला ।

‘अझै गाडी खुल्ने छाँटकाँट छैन’ सिटौला भन्छन्, ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जसरी फ्रन्टलाइनर हुन्, चालक पनि फ्रन्टलाइनर हुन, त्यो कुरा सरकारले बुझेको छैन ।’

यातायात क्षेत्रमा १५ लाख मानिसलाई खोपको व्यवस्था गर्न व्यवसायीले माग गरेका छन् । ‘हाम्रो पहिलो माग चालकहरुलाई खोप नदिई जोखिम हुन्छ’ सिटौलाले भने, ‘चालक र सहचालक र काउन्टरमा टिकट काट्नेहरुका लागि भ्याक्सिन मागेका छौं तर, फ्रन्टलाइनर मजदुरको अपहेलना भयो ।’

देशभर कोरोना संक्रमण शून्यमा झरेपछि सार्वजनिक सवारी पुरानो लयमा फर्किन कम्तिमा ५ महिना लाग्ने व्यवसायीहरुले निष्कर्ष निकालेका छन् । ‘गाडी बसिरह्यो भने इन्जिन खराब हुन्छ, ब्याट्री र टायर पनि जान्छ’ महासचिव सिटौलाले भने, ‘सरकारले तत्काल खोल्ने निर्णय गर्दा पनि मर्मत नगरिकन चलाउन मिल्दैन ।’

०६९ सालदेखि भाडा समायोजन हुन नसकेको यातायात क्षेत्र थप संकटमा परेको उल्लेख गर्दै सिटौलाले भने, ‘हामीले गाडी कुहाउन राखेका होइनौं, तर यसमा कसैको होमवर्क देखिएन ।’

दोस्रो चरणको महामारीसँगै झण्डै दुई महिनादेखि बन्द भएको यातायात सुचारु गर्नुअघि यातायातका कर्मचारी र मजदुरलाई खोप उपलब्ध गराउनुपर्ने माग यातायात व्यवसायीले उठाएका छन् । ‘गाडी कुहिए, मजदुर भोकै छन्’ महासचिव सिटौला  भन्छन्, ‘यातायात ब्यवसायी रोग, भोक र बैंकको किस्ताको तनावमा छन् ।’

स्वास्थ्य प्रोटोकल पालना गरेर सवारी सुचारु गर्नेबारे सरकारी निकायले छलफलको वातावरण नबनाएको व्यवसायीको गुनासो छ । ‘नियामक निकायले छलफलको वातावरण बनाउनुपर्छ’ सिटौला भन्छन्, ‘त्यसमा हामी ब्यवसायिक सुझाव दिन्छौं, स्वास्थ्य प्रोटोकल पालना गरेर सवारी सञ्चालन गर्ने वातावरण बनाउन छलफल गर्नु आवश्यक छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप