बहुआयामिक देवकोटा, युग र स्वच्छन्दतावाद

person access_timeकात्तिक ३, २०७४ chat_bubble_outline0

एउटा पाटो अभावमा रम्ने जिन्दगीको, अर्कोतिर शैक्षिक समुन्नतिभित्र दूरदृष्टि सजाइएका कुरा त्यसमा पनि साहित्यभित्र प्रकृतिका कुना कन्दरा चियाइएको; खुला बहुआयामको फाँटमा अङ्कित लक्ष्मीप्रसाद देवकोटाको नाम आजका सुकोमल बालहृदयदेखि बयोवृद्धका मनमस्तिष्कमा लिपिबद्ध प्रायः नभएको लाग्दैन । कलम कल्पनाको सागरभित्र वायुको गतिमा दौडिएका विलक्षण भाव लहरी जीवन्त छ, महाकविको आशुकवित्व प्रभावभित्र । धनधान्यकी देवी महालक्ष्मीको भव्य पूजाअर्चना गर्दै नेपालीहरू आँगनीमा देउसी खेल्दै थिए हुनन्; वि.सं. १९६६ कात्तिक २७ गते देवकोटाकी माता अमरराज्य लक्ष्मीदेवी । उनलाई धर्तीमा स्वागत गर्न प्रसव वेदनामा छट्पटाइ रहँदा सायद पिता पं. तिलमाधव देवकोटालाई देउसे दक्षिणा दिएर लाज छोप्न चिटचिट पसिना आएको हुँदो हो त्यतिखेर त्यहाँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामलाई नेपाली साहित्य जगत्ले अविस्मरणीय सूचीको अग्र पङ्क्तिमा राख्छ । लक्ष्मीपूजाकै दिन जन्मे पनि लक्ष्मी कृपाले स्पर्श गर्न पटक्कै रुचाएनछ तर सरस्वतीको ज्ञान भण्डारमा घुन लागेनछ । त्यसैले त देवकोटाको व्यक्तित्व आज पनि अमर लाग्छ । दालभातडुकुको चरम उत्कर्ष अभावसँग कुस्ति खेल्दै सङ्घर्षको मैदानमा जीवन रहस्यको चुरो खोज्ने देवकोटा बहुआयामिक व्यक्तित्व रहेछन् ।

“लेखक कृतिसँग जन्मन्छ, मर्न त सबै मर्छन् तर पाठकसँग बाँच्छ । भौतिक रूपमा लेखक मर्छ तर पाठक जन्मिरहन्छ ।” आधुनिक नेपाली कविता कित्ताको सिङ्गै एउटा धारा अङ्ग्रेजी स्वच्छन्दतावादलाई जन्माउने, हुर्काउने र विकसिक तुल्याउने देवकोटाको योगदान अतुलनीय लाग्छ । नेपाली साहित्यको आधुनिक जगत्मा परिष्कारवादको कठोर बन्धनलाई अलिकति पन्छाएको स्वच्छन्दतावादले वि.सं. १९९१ देखि देवकोटाकै नेतृत्वमा प्रवेश पाएर झ्याङ्गिदै वि.सं. २०१६ जुनउनको अवसानसम्म प्रमुख रूपमा स्थान पाएको बुझिन्छ । स्वच्छन्दवाद पाश्चात्य साहित्य सिद्धान्त हो । यसलाई जर्मन दार्शनिक तथा समालोचक फ्रेडरिक स्लेगल (१७७२–१८२९) ले साहित्यको एउटा नवीन अवधारणाका रूपमा ल्याए । यसलाई प्रवर्तन र विकास गर्नमा फ्रान्सेली क्रान्तिले मलजल गर्यो अनि रुसोको “मानव स्वतन्त्र जन्मन्छ, तर ऊ सर्वत्र बन्धनमा जकडिएको हुन्छ” भन्ने भनाइसँगै प्रकृतितर्पm फर्कको सिद्धान्तले गति बढायो । व्यक्तिवादी दृष्टि र आत्मपक्षको महत्ता हाबी बन्ने, काल्पनिक लोकको विचरणभित्र सौन्दर्य बोध, विकृत पक्षको विरोध, अलिकति भावुकता, प्राकृतिक जीवनमा ईश्वरीय सत्ता, कृत्रिमताबाट मुक्ति, साङ्गीतिक प्रवाहमा मानवतावादी दृष्टिकोण यिनै स्वच्छन्दवादका हुलिया हुन्, चिनारी हुन् । विविध साहित्य विधाका परिवृत्तमा उनको कलम रातोदिन अथक बन्यो । त्यसो त प्रयोगवादी धारामा सुस्ताएभैmँ लागेको यसले आजको समसामयिक धारमा गुञ्जिने काव्य लालित्यसँग ओइलाउनै परेको भने लाग्दैन । नाट्यसम्राट बालकृष्ण समले भनेभैmँदेवकोटा उनकै प्रिय अनि सर्वाधिक लोकप्रिय भई धेरै बिक्री भएको कृति मुनामदनभित्र मात्र होइन, शाकुन्तल अनि पागलभित्र गरी तीन पटक जन्मेकैले होला आज पनि अमर छन् । त्यसैले होला, विलक्षण प्रतिभालाई देखेर स्वदेशले आज जति सम्मान देवकोटालाई मुक्तकण्ठले दिइरहेको छ, सीमापारिका साहित्यानुरागी त्यसबेला त्यति नै प्रभावित बनेका रोचक घटना सुन्न र पढ्नपाइन्छ । कतिपयले त देवकोटा नेपालमा जन्मनुलाई नै भौगोलिक गल्तिको खिन्नता पोख्न बाँकी राखेनन् ।

खहरेको भेलभैmँ कवित्व प्रभाव फुर्ने देवकोटामाआत्मिक ज्ञानको भण्डार थियो भन्ने कुरा ‘यात्री’ कविताले पुष्टि गर्छ । उनी प्रत्येक मानिसमा ईश्वरको जिउँदो रूप देख्थे । दार्शनिक युगस्रष्टा देवकोटाले राष्ट्रप्रेमी भाव पोख्ने मात्र होइन, क्रान्तिकारी भावमा समाजका विकृत पक्षको व्यङ्ग्य र भण्डाफोर गर्दै जागरणको शङ्खघोष गरे । पूर्वीय र पाश्चात्य दर्शनलाई सर्लक्कै निलेर लघुदेखि वृहत् काव्यमा आशुकवित्व सिद्धहस्तता प्रस्तुतिको उदाहरण बने । निम्न वर्गीय यथार्थ जीवनको प्रतिविम्बसँग प्राकृतिक लालित्य अनि आध्यात्मिक सोचमा प्रकृति, मानव र ईश्वरको त्रिकोणात्मक तादात्म्यको लगन गाँठो कस्नु देवकोटाको आफ्नै खुबी हो । बी.ए., बी.एल्. र अङ्ग्रेजीमा एम्.ए.सम्म अध्ययन गरेका देवकोटाले साढे ६ सयभन्दा बढी कविता रचे, खण्डकाव्य दुई दर्जन जति लेखे, आधा दर्जन महाकाव्यमा पोखिए अनि दर्जनौँ निबन्ध र नाटक लेखे । त्यति मात्र होइन उपन्यास लेखे, लेखक बने, गीत लेखे, समालोचक, अनुवादकसमेत बने । उनी गीत गुनगुनाउँथे, सङ्गीतमा बडो अनुराग रहेछ– इतिहासमा पढ्न पाइन्छ । एक रातमा ‘कुञ्जिनी’ खण्डकाव्य जन्माउनु, ‘सुलोचना’जस्तो महाकाव्यलाई दश दिनमै दाबा गरेर फुराउनु अनि नेपाली साहित्यको आइसल्यान्ड मानिने कृति ‘शाकुन्तल’ महाकाव्य लेख्ने देवकोटाको लेखनशिल्प र कलात्मक भाव उडान चानचुने कुरा होइन । फलतः कविता तथा खण्डकाव्य–महाकाव्यमा स्वच्छन्दतावाद प्रवर्तन, विकास र विस्तार तथा पोथी गद्यको भावले प्रथम आत्मपरक निबन्धकारको रूपसँगै देवकोटाको युग सिङ्गो नेपाली साहित्यको स्वर्णयुग बन्यो । देवकोटाको खुबीलाई बुझ्ने आजका कैयाँै नेपाली भावनाले जाग्ने प्रेरणा बोक्छन् । कति सुकोमल बाल हृदय पग्लिन चाहन्छन्, घोरिन्छन्– साथमा नेपाल र नेपाली भाषाको स्वाभिमानले शिर उच्च राख्छ । 

आधुनिक निबन्ध विकासको प्रथम चरण (१९९१–२००३) लाई स्वच्छन्दवादकै घेराभित्र राखेर देवकोटाले ‘आषाढको पन्ध्र’ (१९९३) बाट ढोका खोलेको पाइन्छ । अङ्ग्रेजी लवजको ढोङ, बोक्रे भलाद्मीको खैरो उतार्ने देवकोटाको रमरम बौद्धिकताले नेपाली निबन्धको मूल्य त्यतिखेर मात्र होइन, आज पनि अनुकरणीय छ । ‘विशालताको मापन आकार र परिमाणले होइन, त्यसको भित्री गुणले गर्छ’ भन्ने राष्ट्रप्रेमको प्रस्तुतिमा प्राकृतिक चाञ्चलयभित्र ‘के नेपाल सानो छ ?’ निबन्ध नेपाली स्वाभिमानमा छाती फुलाउन कन्जुस्याइँ गर्दैन । पूmलको सौन्दर्य कुँदेको प्रकृतिलीला, चरीले पोखेको विलाप र वेदना, वात्सल्यभावको कोमलता, ममतामयी माताको करुणा अनि वीरताको प्रशंसाले देवकोटाका निबन्ध क्षेत्र सजिएका छन् । विसङ्गतिको पुन्तुरो उघारेर विकृतिले झापड खान्छन् । मनुष्यत्व जाग्छ, कल्पनाले उडान भर्दा स्वच्छ निद्राको परिकल्पना हुन्छ । भावुकताको गहिराइमा रचिएका निबन्धले जीवनलाई चियाइरहेको हुन्छ । ‘कृषिवाला’ र ‘सावित्री सत्यवान्’ नाटकमा देवकोटा सच्चा नारी आदर्शको नेपालीपनालाई चिनाउन खप्पिस छन् । ‘चम्पा’ उपन्यासले राणाकालीन सामाजिक परिवेशका विकृत वास्तविकता बोल्छ अनि उनका कथामा नेपाली माटोको स्पर्शले आनन्दको चर्चा पाएको छ । संस्कृतका वैदिक, पौराणिक शास्त्रज्ञानमा दखल भएकादेवकोटा पाश्चात्य साहित्यको प्रभावसँगै अङ्ग्रेजीमा कविता र शाकुन्तल जस्तो महाकाव्य लेख्ने बहुप्रतिभावान् व्यक्तित्व हुन् ।

देवकोटाका कवितामा बाह्य सौन्दर्यको भ्रामक प्रवृत्ति, विकृति र विसङ्गतिको भण्डाफोर हुन्छ । मानव प्रेम, प्रकृतिको काखले दिने आनन्दलहरी अनि ममताका अभावले मन कुँडिन्छ । ग्रामीण परिवेशको प्राकृतिक आल्हादमा रम्ने जीवनदर्शन कला र सौन्दर्यमा शान्तिकामी बनेर छताछुल्ल पोखिन्छ । गरिबी कर्मशीलताको भावभित्र आफ्नै मजा छ । पसिनाको उपहारभित्र आनन्द लुटुपुटिएको छ । भिखारीको आर्तनादभित्र बन्धुत्व अनि ईश्वरीय स्वरूप छ । आज पनि कति विदेशिएका मदनका मुनाले यादमै गृह पीडाको अभावसँग सिँगौरी खेल्नुपरेको छ । कुञ्जिनी त्यो कोल्पू नदीमा गोरेको प्रतीक्षा गर्दै तड्पिएकी होलिन् । लूनीले सङ्गीतको स्वर गुञ्जाइरहन्छिन् । सुलोचनाको हृदयविदारक पीडा अनि प्रताडनाभित्र तड्पेको जैमाने रूपी अनङ्गको आँशुको भेल आज पनि पुरानो काल्पनिकता लाग्दैन । प्रकृतिको काखमा शकुन्तलाले दुष्यन्तसँग प्राकृतिक स्वच्छ प्रणय खोजिरहेकै हुन्छिन् । महाराणाप्रतापले जीवनको युद्ध मैदानलाई रमरम बनाएकै छन् । आज पनि लाखौँ प्रमिथस जिउसको कुख्यात प्रवृत्तिलाई न्यायको मार्गमा राखेर समयरेखा बदल्न चाहन्छन् । वनकुसुमले नरेन्द्रको न्यानो मायामा रम्न चाहेका छन् । आज पनि राजकुमारीको आशामा प्रभाकरको जीवन तड्पिरहेको होला । आध्यात्मिक–भौतिक रूपका विराट चिन्तन छन्, उनका लघुदेखि वृहत् काव्यभित्र । आर्थिक सङ्कटको जाँतोमा पिसिएको मौका छोपेर उनका कवितालाई सस्तोमा किन्दै कति कृत्रिम कवि बनेर जन्मिए होलान्– त्यसको त लेखाजोखा पनि नहुन सक्छ । वास्तवमा देवकोटाका कवित्व आख्यानलाई नियाल्दा नारीको सम्मान र आदर्श वैचारिक प्रस्तुति अनि ईश्वरीय मेलसँग साँचो प्रेमले बाँचेको प्रतित हुन्छ । अतः देवकोटाको लेखनीले रूसोको ‘प्रकृतिर फर्क’को सिद्धान्तलाई आत्मसात गर्दै प्राकृतिक विम्ब र प्रतिकहरूमा स्वच्छन्दवादी–प्रगतिवादी जीवनदृष्टिलाई प्रक्षेपण गरेको भान हुन्छ । उनी त पहिलो कवितामा यसरी जन्मेछन्का रहेछन् –

“घनघोर दुःखसागर संसार जान भाइ
नगरे घमण्ड कहिल्यै मर्नू छ हामीलाई ।” (म त अभागिनी पो भएँ– १९७६)

आफ्नो जीवनको अन्तिम क्षणको मृत्युशय्यामासमेत उनले “म शून्यमा शून्यसरी बिलाएँ
(२०१६ आर्यघाट)” कवितामा यसो भनेका रहेछन्– 

“रहेछ संसार निशासमान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक    
न भक्ति भो ज्ञान नभो विवेक ।”

यसर्थ देवकोटा गद्य र पद्य दुवै कविताभित्र जनश्रद्धाले गुनगुनाइएका महाकवि हुन् । प्रकृति र मानवताको सङ्गीत लहरीमा भुल्ने उनी साहित्यको बहुआयाममा अनि राजनीतिक व्यक्तित्वमा शिक्षासेवी पनि थिए । बढाइचढाइ नगरीभन्दा २०१४ मा शिक्षामन्त्री बनेका देवकोटा सरस्वतीका सच्चा भक्त रहेछन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना गर्नमा भूमिका निर्वाह गर्ने मात्र नभएर २०१६ आषाढ ११ गते त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने योजना बनाएका शैक्षिक उन्नयनका सोच र कार्यले देवकोटाको दूरदर्शी विचारलाई सम्प्रेषण गर्छ । नेपाली भाषा–प्रकाशिनी समितिमा जागिरे अनित्रिचन्द्र, पद्मकन्या र कमर्स कलेजमा प्राध्यापकका साथै नेपाली साहित्य परिषद्का सभापति मात्र नभएर ‘युगवाणी’ र ‘इन्द्रेणी’ पत्रिकाका सम्पादक समेत बनेका देवकोटाको बहुमुखी प्रतिभा आज हाम्रा लागि अनुकरणीय छँदै छन् । विश्व साहित्यको हाराहारीमा नेपाली साहित्यलाई पु¥याउन खोजेको उनको साधना सिङ्गो नेपालकै आत्मगौरव हो । उनका युगचेतना सजिएका कृतिभित्र कल्पनाको संसार होला तर यथार्थता निर्वाध चम्किरहेकै भेटिन्छ । भौतिक रूपमा कृतिको जीवनचित्रले सर्वश्व दिएको छ देश र जनतालाई । देवकोटामा भएका काल्पनिक प्रचुरता, बन्धुत्वको सोच, आदर्श विचार, मानवता, बौद्धिकता, तीव्र संवेदनशीलता, प्रतिभागत प्राचुर्यको बहुआयामिक व्यक्तित्व वास्तवमै अतुलनीय लाग्छन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ