शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार

शुक्रबार, ०३ कात्तिक २०७४, १० : २२
शुक्रबार, ०३ कात्तिक २०७४

चितवन - मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य सौराहाका व्यवसायीले मित्रराष्ट्र भारतसँग सीमा जोडिएका शहरमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । 

भूकम्प, नाकाबन्दी हँुदै नारायणगढ–मुग्लिन सडकका कारण पर्यटन व्यवसाय खस्किएपछि सीमा जोडिएका देशमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गरी पर्यटक भित्र्याउने रणनीतिमा उनीहरु लागेका हुन् । 

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार नेपाल पर्यटन बोर्डको सहयोगमा भैरहवा क्षेत्रसँग सीमा जोडिएका क्षेत्रहँुदै गोरखपुर र उत्तर प्रदेशमा प्रचारप्रसार गरिने भएको छ । 

त्यसैगरी, वीरगञ्जदेखि भारतको कलकत्तासम्मका सहरी क्षेत्रमा प्रचारप्रसार गरिनेछ । भारतको पर्यटकीय महत्व बोकेको सिक्किममा पनि प्रचारप्रसार गरिने उहाँले बताउनुभयो । गत वर्ष पर्यटन बोर्डको सहयोगमा चीनको संघाइ र बेइजिङ्मा नेपालको पर्यटकीय क्षेत्रका बारेमा प्रचार गरिएको थियो । 

घिमिरेका अनुसार भारत र चीनका पर्यटक मात्र भित्र्याउन सकेमा मात्र पनि सौराहा भरिनेछ । यी दुई देशसँगै एशियाका अन्य देश, युरोप, अमेरिका र स्वदेशी पर्यटक भित्र्याउन सकिने घिमिरेले बताए । 

सौराहामा सन् २०१२ देखि भूकम्पअघिसम्म वार्षिकरुपमा भित्रने दुई लाख हाराहारी पर्यटकमा ६० प्रतिशत चिनियाँ हुने भएपनि अहिले यो संख्या न्यून रहेको छ । 

त्यसैगरी, सन् २०१० को हाराहारीमा ४० प्रतिशतसम्म पुगेको भारतीय पर्यटकको आगमन घटेर १० प्रतिशतसम्म झरेको छ । घिमिरेका अनुसार यो पर्यटकको उतारचढावलाई रोकेर संख्या बढाउने नयाँ रणनीतिका साथ क्षेत्रीय होटल संघ लागिपरेको छ । 

संघसँग साझेदारी गरी भारतीय बजारमा पर्यटन प्रवद्र्धन गर्न बोर्डले रु १२ लाख बजेट विनियोजन गरेको घिमिरेले बताए । त्यति नै रकम क्षेत्रीय होटल संघले थप गरी प्रचारप्रसार गर्ने उनले बताए । दुर्लभ वन्यजन्तु हेर्नका लागि गरिने जंगल सफारी, थारु संस्कृति, पानीमा गरिने गतिविधिका बारेमा प्रचारप्रसार गरिनेछ । मुख्यरुपमा पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न यहाँ आउने गर्दछन् । 

नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी बजारीकरण गरिने पनि उहाँले बताउनुभयो । सीमा क्षेत्रका भारतीय शहरको टेलिभिजनमा प्रचारप्रसार गर्ने तयारी पनि गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एवं पर्यटन व्यवसायी केशव देवकोटाले यस क्षेत्रको पर्यटनको बजारीकरण निकै कमजोर भएको भन्दै भारत र चीनमा मात्र हामीले चितवनको पर्यटकीय महत्वका बारेमा बुझाउनसकेमा अन्यत्र भरपर्नु नपर्ने बताए । 


नेपालमा यस वर्ष १० लाख पर्यटक भित्रने अपेक्षा गरिरहँदा यहाँ दुईलाख पर्यटक पनि भित्रने नदेखिएपछि व्यवसायी नयाँ रणनीतिका साथ बजारीकरणमा निस्कन लागेका हुन् । गत वर्षमा सौराहामा यतिबेला एक हजार हाराहारी पर्यटक हुनेगरे पनि यस वर्ष दैनिक ८०० पुग्न पनि कठिन भएको छ । जिल्लामा पर्यटकीय महत्व बोकेका १५० होटल रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप