शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेपत्ताका परिवारलाई सम्पत्ति भोगचलनमा बाधा: आसैआसमा १८ वर्ष बितिसकेछ

शुक्रबार, ०३ कात्तिक २०७४, ०८ : १३
शुक्रबार, ०३ कात्तिक २०७४

आफन्त नहुनुको पीडा त छँदै छ, द्वन्द्वकालमा राज्य वा तत्कालीन विद्रोही माओवादीबाट बेपत्ता पारिएका परिवारजनमा सम्पत्ति भोगचलन, नाता प्रमाणीकरण र अंशबन्डालगायत घरेलु काममा समेत कानुनी अड्चन आइलागेको छ । बेपत्ता आफन्तको कानुनी हैसियत किटान नहुँदा आफूहरू ठूलो मर्कामा परेको पीडितहरू बताउँछन् । आजको कान्तिपुरमा खबर छ ।

‘आम मानिसका जीवनमा कहिल्यै नआउने र आम रूपमा सोच्दै नसोचिने झमेलाहरू हामी बेपत्ता परिवारका सदस्यले भोग्नु परिरहेको छ,’ बेपत्ता समाजका उपाध्यक्ष रूपेश साह भन्छन्, ‘बाबु बेपत्ता हुँदा छोराछोरीको नागरिकतासमेत बनाउन समस्या भएको छ कतिलाई, पति बेपत्ता हुँदा पत्नीको हक कायम नभएको अवस्था छ र कतिपय परिवारमा मूल व्यक्ति बेपत्ता हुँदा ऋणधन र कागजी लेनदेनको व्यावहारिक काममा समेत ठूलो बाधा आइपरेको छ ।’

कानुनी र व्यावहारिक मात्र होइन, सांस्कृतिक र परम्परागत कार्यमा पनि बेपत्ता परिवारका सदस्यमा एक किसिमको अनिश्चयले समस्या पार्ने गरेको साह सुनाउँछन् । उपाध्यक्ष रूपेशका जेठा दाजु जयकुमार साह ३० वर्षको उमेरमा २०५९ जेठ १४ मा बेपत्ता पारिएका थिए । हालको रामधुनी नगरपालिकामा पर्ने सुनसरीको बकलौरी गाविसबाट उनका दाजुसहित दीपक विश्वकर्मा र चिरञ्जीवी गौतमलाई तत्कालीन संयुक्त सुरक्षा फौजले पक्राउ गरेर लगेको थियो । त्यसयता उनीहरू तीनै जनाको अत्तोपत्तो छैन ।

‘हरेक वर्ष दिदीले तिहारमा दाजुका लागि पनि माला उन्नुहुन्छ,’ रूपेश भन्छन्, ‘दाजु आई पो हाल्छन् कि भन्ने आस हुन्छ ।’ यसरी आस गर्दागर्दै १५ वर्ष बिते । तर रूपेशका दाजु फर्केर आएका छैनन् । तिहारमा आस गर्ने बहिनीहरू र दसैंमा जमरा राख्ने आमाबाबु जहिल्यै आफ्ना बेपत्ता दाजु/छोराछोरीको पर्खाइमा बस्छन् ।

‘हरेक दिन उहाँ आइहाल्नुहुन्छ कि भनेर बाटो कुरिरहेकी हुन्छु,’ बेपत्ता श्याम भट्टकी पत्नी शोभा भन्छिन्, ‘यसरी आसैआसमा १८ वर्ष बितिसकेछ, अझै कति बित्ने हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप