शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा बाढीको वितण्डा : मादीमा हाइड्रो पावर बगायो, दर्जनौ घरबारविहीन

मङ्गलबार, ०१ असार २०७८, २२ : ३८
मङ्गलबार, ०१ असार २०७८

गण्डकी प्रदेशमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । सोमबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माण भइरहेका सुपर मादी हाइड्रो पावरमा ठुलो क्षति पुर्याएको छ । 

बाढीले हाइड्रो पावरका २ वटा जेसिबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटर, रड, सिमेन्ट, एक्स्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, लगायत निमाणमा प्रयोग हुने विभिन्न उपकरणहरु बढीले बगाएको आयोजनाले जनाएको छ । 

सोमबारदेखि अविरल रुपमा परेको बर्षापछि आएको बाढीले करिब ५० करोड बराबरको क्षति भएको सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योती ढुङ्गानाले जानकारी दिए । उनले हाइड्रो पावरमा प्रयोग हुँदै आएका सानादेखि ठुला मेसिनरी औजारदेखि ठुलो परिणामका रड सिमेन्ट, गिट्टी, वालुवा र क्रसर समेत बाढीले बगाएको बताए ।

त्यसैगरी वर्षाका कारण पोखरा ९ नयाँबजार शिद्धमार्गदेखि सेती नदी जाने बाटो भत्कँदा वरपरका घरहरु जोखिममा परेका छन् । अविरल बर्षासंगै पोखरा रामघाटस्थित सेती नदीमा आएको पानीको बहाव बढेपछि नदी थुनिएर ताल बनेको छ । सेती नदी थुनिएर ताल बनेपछि पोखरेलीहरु त्रसित भएका छन । 
त्यसै पोखरा महानगरपालिका ६ मा वर्षाका कारण नहरमा आएको बाढी थुनिँदा तीन घरमा क्षति पुगेको छ । बैदाममा वसन्त बैठक नहर मार्गमा सिञ्चाईको नहर थुनिँदा ३ घरमा क्षति पुगेको छ । बाटो निर्माणको क्रममा माटोले थुनिएको नहरमा भारी वर्षाका कारण आएको पानीको बहाव बस्तीमा छिर्दा घरमा क्षति पुगेको हो । 

कास्की अन्नपूर्ण गाँउपालिका–६ हाईजुङ स्थित टंक बहादुर पुनको घर अगाडी पहिरो जाँदा घरको छानोमा हाईटेसन लाईनको तारमा छोइएको छ । त्यसैगरी सोही ठाँउमा बिजुलीको पोल ढलेको छ भने नयाँपुल र घान्द्रुक जाने लाईन पुर्ण रुपमा अवरुद्ध भएको छ । पहिरोले श्री ज्ञानोदय आधारभूत प्राथमिक विद्यालयको भवन र त्यसै ठाउँका धनबहादुर नेपालीको घर समेत जोखिममा परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

त्यसैगरी कास्की अन्नपुर्ण गाँउपालिका–७ बिरेठाँटी स्थित मोदी खोलाको पानीको बहाब बढ्दा ६ घरहरु जोखिममा परेका छन् । त्यस्तै मनसुन सुरु भएसँगै अबिरल वर्षाका कारण मुस्ताङको उत्तरी कोरला नाका जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढी—पहिरोले जोमसोम सडकको आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण घरपझोङ—२ मार्फा खोलाको बहाव उच्च हुँदा त्यहाँको सडक संरचना पूर्ण रुपमा क्षति पुगेको छ । त्यहाँ राखिएको पैदलयात्री र मोटरसाईकल आवतजावत गर्ने अस्थायी पुल समेत बगाएको छ ।  बेनी—जोमसोम सडकको मुस्ताङ खण्डमा पर्ने थासाङ गाउँपालिका—४ कैकु खोला, लेते खोला र मिसी खोला लगायतमा गएरातीको बाढीले सडक ध्वस्त भएको छ । यस्तै बेनी—जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको काभ्रेभीर सडकमा वर्षाका कारण पहिरो जाँदा अन्दाजी २० मिटर सडक भासिन पुगेको प्रहरीले जनाएको छ ।

उता, मुस्ताङको घरपझोङ—४ जोमसोम र वारागुङ मुक्तिक्षेत्र—१ को बीचमा पर्ने लुप्रा—पान्डाखोला थुनिएसँगै आएको उर्लदो बाढीले लुप्रा बस्ती उच्च जोखिममा परेको छ । लुप्रा—पान्डा खोला थुनिएर आएको बाढीले स्थानीय पाल्देन गुरुङ र टसी गुरुङको घर ,गोठ र शौचालय आदिमा क्षति पुर्याएको छ । 

त्यसैगरी गोरखाको आरुघाट गाँउपालिका–२ ढोडेनिस्थित ठोटनरी खोलाले बगाउँदा वर्ष ३८ का गोबिन्द चौधरी बेपत्ता भएका छन् । उनलाई खोला तर्ने क्रममा बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।  त्यसैगरी नवलपरासी पूर्व बिनयीत्रिबेणी गाँउपालिका–२ दाउन्नेमा अविरल बर्षातको कारण माथिबाट अचानक पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको भएको प्रहरीले जनाएको छ । त्यस्तै गैंडाकोट नगरपालिका–८ थुम्सीस्थित पूर्वपश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सन अविरल वर्षातको कारण बगाएर जोखिममा परेपछि राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरी जनाएको छ । 

त्यसैगरी बर्षाले पर्वतको जलजला ३ वारीबेनीमा स्थानीय अमृत केसीको दुई तले घर भत्किएको छ ।  घर भत्कँदा नजिकै पार्किङ गरी राखेको नमस्ते बेकरी उद्योगको ग २ च ६४९७ नं.को भ्यानमा क्षति पुगेको छ । त्यसैगरी बागलुङको काठेखोला–६ इनारपानीमा शिवलाल कँडेलको घर पहिरोको जोखिममा परेको छ । पहिरोले घर जोखिममा परेपछि ४ जना विस्थापित भई छिमेकीकोमा आश्रय लिएका छन् । 

त्यस्तै मनाङ सदरमुकाम चामेका ६ घर बाढीले बगाएको छ । घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीमा परि ६ घर बगाएको मनाङ प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए । उनका अुसार मनाङमा रहेको विद्युत गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।

सोमबारदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् गृह पनि बगाएको छ ।  त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्याएको छ । नासो गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ ।

मर्स्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । बस्तीमा बढी पसेर क्षति पुगेपछि ५६ घरका बासिन्दा विस्थापित भएका छन् । 

मुख्यमन्त्रीद्वारा तत्काल उद्धार र राहतमा लाग्न निर्देशन
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा ताल गाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरुलाई बसोवासको प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

नासो गाउँपालिका– १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण डुबानमा परेको छ । मर्स्याङ्दी छेउमा रहेको तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परेका छन् ।  बाढी पसेपछि स्थानीय घर छाडेर बाहिर सुरक्षित ठाउँमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । प्रजिअ लामिछाने डुबानको खबरलगत्तै स्थानीयस्तरबाट सुरक्षाकर्मी खटाइसकिएको र अन्य प्रबन्ध मिलाइएको बताएका छन् ।
डुबानबाट विद्यालय र वडा कार्यालय पनि प्रभावित भएको छ । सदरमुकाम चामेस्थित तातोपानी कुन्ड नजिकैको बस्तीमा समेत बाढी पसेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप