बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

औषधि खुवाएर १५ हप्ताको गर्भपतन गराउँदा ज्यान गयो

छोराको चाहनाले तीन छोरीकी आमाको अकालमा मृत्यु
मङ्गलबार, ०१ असार २०७८, २२ : ०२
मङ्गलबार, ०१ असार २०७८

कालीमाटी चोकबाट करिब ७० मिटर कलंकीतर्फ अगाडि बढ्दा दायाँतर्फ एउटा गल्ली छ । त्यही गल्लीको भित्र एउटा निजी अस्पताल छ, जसको नाम हो– ज्योति अस्पताल ।

२५ शैयाको अस्पताल भनिए पनि त्यो अस्पताल नभएर एउटा सामान्य उपचार केन्द्रजस्तो मात्रै देखिन्छ । त्यहीँ गर्भपतन गराउन पुगेकी २८ वर्षीया एक महिलाको सोमबार राति मृत्यु भएको छ ।

अस्पतालको चरम लापरवाहीका कारण महिलाको ज्यान गएको पीडित परिवारको दाबी छ । उनीहरुले न्याय माग्दै मंगलबार अस्पतालमा धर्ना दिएका छन् ।

रामेछाप स्थायी घर भई काठमाडौंमा बस्ने २८ वर्षीया अनिता घिमिरेको पेटमा १५ हप्ताको गर्भ थियो । पहिले नै ३ छोरीकी आमा बनिसकेकी अनिता फेरि पनि गर्भमा छोरी नै रहेमा जन्माउने मनसायमा थिइनन् ।

अनिताले केही समयअगाडि ज्योति अस्पतालमा गएर जाँच गरिन् । अल्ट्रासाउण्ड पनि गरिन् । गर्भमा रहेको बच्चा छोरा थियो वा छोरी, केही कुरा बाहिर आएको छैन, यद्यपि उनले गर्भपतन गराउने भन्दै डाक्टरसँग सल्लाह गरिन् । भ्रूणको लिंग पहिचान गर्न कानूनले बर्जित गरेको छ ।

सुरुमा थापाथलीस्थित प्रसुती गृह अस्पताल गएर स्वास्थ्य जाँच गराएकी उनले त्यहीँ गर्भपतन गराउन चाहेकी थिइन् । तर, कोभिड १९ को माहामारी बढेका कारण अस्पतालले पालो दिएन । बरु प्रसूतिगृह अस्पतालले नै कुनै निजी अस्पतालमा गएर गर्भपतन गराउन सुझाव दियो ।

त्यसपछि अनिताले मध्य वैशाखमै ज्योति अस्पताल पुगेर डाक्टरसँग सल्लाह गरेकी थिइन् । डाक्टरले जेठको १० गतेसम्म गर्भपतन गर्न मिल्ने बताएका थिए । तर, लकडाउनका कारण उनी समयमै अस्पताल पुग्न पाइनन् ।

सोमबार देवरलाई लिएर उनी कालीमाटीस्थित ज्योति अस्पतालमा गर्भपतन गराउन पुगिन् । अनिताका देवर शरण घिमिरेले उनलाई बिहान ११ बजे कालीमाटीस्थित ज्योति अस्पतालमा पुर्याए ।

अनितालाई कुर्नुपरेमा अर्को व्यक्ति चाहिने भन्दै कुर्ने व्यक्ति लिन शरण डल्लुतिर लागे । सोहीबेला अनिताले देवर शरणलाई फोन गरेर ‘मलाई क्युरेट हुने औषधी दिइसक्यो, कपडा लिएर छिटो आउनू’ भनिन् । शरण आफ्नी दिदीलाई लिएर करिब १२ बजे अस्पताल पुगे ।

त्यतिबेला अनितालाई ‘प्रोसिड्युर’ कक्षमा लगिसकिएको थियो । करिब एक घण्टाजति उनीहरुलाई भित्र जान दिइएन । त्यहाँ रहेका डाक्टर र स्वास्थ्यकर्मीहरु कुदाकुद गर्न थाले । कोही अक्सिजन लिन दौडिए, कोही औषधि लिन दौडिए ।

के भयो भनेर सोद्धा क्युरेट भइसक्यो, अलिकति रक्तश्राव भएको छ भन्ने जवाफ दिए । उनीहरुले केही औषधी ल्याउन लिष्ट पठाए र उपचार गरे । तर, अत्यधिक रक्तश्रावका कारण अनिताको अवस्था झनझन् बिग्रियो ।

त्यसपछि, प्रसुतीरोग विशेषज्ञ डाक्टर अञ्जना कार्कीलाई बोलाइयो । अञ्जनाले बिरामीको चेकजाँच गरिन् र केही औषधि पनि दिइन् । अत्यधिक रक्तश्रावका कारण उनी कमजोर बनिसकेकी थिइन् । उनलाई रगतको आवश्यकता थियो । तर, त्यतिबेलासम्म उनको रगत समूह कुन भनेरसमेत छुट्याइएको थिएन ।

त्यसपछि डाक्टर अञ्जनाले नै रगत समूह पहिचान गर्न र रगत ल्याउन त्यहाँ रहेका अन्य स्वास्थ्यकर्मीलाई भनिन् । अञ्जनाले हेरेपछि बिरामी केही ठीक भएजस्तो भयो । त्यसपछि डाक्टर अञ्जना त्यहाँबाट बाहिरिइन् ।  

गर्भपतन गराउन आएको बताएपछि अनितालाई सुरुमै ‘दुई गोली औषधि’ दिइएको बताइएको छ । उनले देवरलाई फोन गर्दा पनि ‘मलाई क्युरेट गर्ने दुईवटा औषधि दिइसक्यो’ भनेकी थिइन् । त्यसकारण उनलाई गर्भपतनको औषधि शुरुमै दिएको बुझिन्छ । सुरुमा बिरामीका आफन्तलाई पनि अस्पताल प्रशासनले क्युरेट भइसकेको र ट्वाइलेटमा बच्चा खसेको बताएका थिए ।

तर, जब बिरामीमा जटिलता आयो, त्यसपछि मात्रै विशेषज्ञ डाक्टर अञ्जनालाई बोलाएको मृतकका आफन्त बताउँछन् । अपरान्ह ४ बजे डाक्टर अञ्जनाले बिरामीलाई हेरेर रगत दिनुपर्ने बताएको बिरामीका भाइ अविनाश खत्रीले बताए ।

त्यसपछि मात्रै आफूहरुलाई रगतको समूह पहिचान गर्न र सोही समूहको रगत लिन पठाएको अविनाशले रातोपाटीलाई बताए । साँझ ७ बजेतिर रगत लिन गएका अविनाश अस्पताल नआइपुग्दै फोन गरेर बिरामीलाई समस्या भयो, रगत लिएर बीएण्डबी अस्पताल आउनू भनियो । अविनाश पनि हतारहतार बिएण्डबी अस्पताल पुगे ।

बिरामीको अवस्था अत्यन्तै नाजुक भएपछि अस्पतालका सञ्चालक सत्यन्द्रकाजी श्रेष्ठले आफ्नै कारमा राखेर बिरामीलाई बीएण्डबी अस्पताल पुर्याएका थिए । सत्येन्द्रसँगै अस्पतालका हेल्थ असिस्टेण्ट दीपक तिमिल्सिना र एकजना ‘नर्स’ पनि कारमै थिए । मृतक अनिताकी भाइबुहारी जानुका खत्रीलाई पनि सँगै लगिएको थियो ।

कालीमाटीस्थित ज्योति अस्पतालबाट बिरामीलाई अस्पताल लैजाँदै गर्दा बुहारी जानुकालाई ज्योति अस्पतालका डाक्टर दीपक तिमिल्सिनाले ‘अस्पतालमा क्युरेट गरेको नभन्नू र पुलिस केस पनि नगर्नु, यो इल्लिगल काम हो, समस्या पर्छ’ भनेको जानुकाले रातोपाटीलाई बताइन् ।

राति करिब ९ बजे बीएण्डबी अस्पताल पुर्याइएकी अनिता जीवनमरणको अवस्थामा थिइन् । त्यहाँ अनितालाई नै हेरेकी डाक्टर अञ्जना कार्की पनि अस्पताल आइपुगिन् । उनलाई अप्रेशन गर्ने भन्दै अप्रेसन थिएटर लगियो । त्यतिबेलासम्म पनि रक्तश्राव रोकिएको थिएन ।

बीएण्डबी अस्पतालमै उपचारका क्रममा करिब ८० हजार रुपैयाँ सकियो । तर, अनिताको जीवन अस्पतालले बचाउन सकेन । बिहान ३ बजे अनिताको मृत्यु भयो ।

अनिताको मृत्यु भएपछि मंगलबार बिहान डा. अञ्जना कार्कीले बीएण्डबी अस्पतालमै बिरामीका आफन्त र प्रहरीका सामुन्ने ‘अनिताको क्युरेट गर्नका लागि पहिले नै औषधि दिइएको रहेछ, सोही कारणले उनको अत्याधिक रक्तश्राव भएको रहेछ । म सोमबार अपरान्ह गएर हेरेकी थिएँ, तर त्योभन्दा पहिले नै बिरामीको क्युरेट भइसकेको थियो, मैले सालनाल मात्रै निकालिदिएकी हुँ’ भनेर बताएको मृतकका आफन्तले जानकारी दिए ।

यतिबेला अनिताको मृत शरीर बीएण्डबी अस्पतालको मूर्दाघरमा छ । बिरामीका आफन्तहरु अस्पतालको चरम लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताललाई कारवाही र क्षतिपूर्तिको माग गर्दै ज्योति अस्पताल घेराउमा पुगेका छन् ।

के अस्पतालले लापरवाही नै गरेको हो ?

अनिताको मृत्यु प्रकरणको प्रारम्भिक अवस्था हेर्दा अस्पतालको लापरवाही भएको बुझ्न सकिन्छ । किनभने, बिरामीलाई जतिबेला गर्भपतन गर्ने औषधि दिइयो भनिएको छ, त्यतिबेला बिरामीका आफन्त त्यहाँ थिएनन् । जबकि गर्भपतन गराउने समयमा बिरामी वा आफन्तको मञ्जुरीनामा र हस्ताक्षर चाहिन्छ ।

यदि गर्भपतन गराउने हो भने पूर्वतयारीस्वरुप रगतको व्यवस्था गर्नुपर्छ । रगतको व्यवस्था गर्न, त्योभन्दा पहिले नै रगत समूहको पहिचान गर्नुपर्छ । गर्भपतन गराउन पनि तालिमप्राप्त जनशक्ति चाहिन्छ ।

तर, बिरामीको ब्लड प्रेसर र रक्त समूहको समेत पहिचान नगरी, रगतको व्यवस्था नै नगरी, साक्षीको कुनै हस्ताक्षरसम्म नगराई आफूखुसी गर्भपतन गर्ने औषधि दिइएको मृतकका परिवारजनको आरोप छ ।

बिरामी स्वयम्ले देवरलाई फोन गरेर मलाई क्युरेट हुने दुई गोली औषधि दिइसक्यो, छिटो आउनू भन्नुको अर्थ अस्पतालले गर्भपतन गराउने औषधि दिइसकेको बुझिन्छ ।

बीएण्डबी अस्पताल भन्छ– गर्भपतन गराइएको रहेछ, कम्प्लिकेसन आएपछि मात्रै यहाँ ल्याइएको हो

अनिताको मृत्यु प्रकरणका सम्बन्धमा बीएण्डबी अस्पतालसँग बुझ्दा अवस्था नाजुक भइसकेपछि मात्रै त्यहाँ लगेकाले बचाउन नसकिएको बताएको छ ।

अस्पतालका प्रशासन प्रमुख प्रकाश भट्टराईका अनुसार अनितालाई सोमबार राति सवा ८ बजे बीएण्डबी अस्पताल पुर्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण जटिल अवस्थामा अनितालाई अस्पताल पुर्याइएको र राति ९ः १० मा अप्रेसन थिएटरमा लगिएको बीएण्डबीले जनाएको छ ।

तर, अप्रेसन गर्नै लाग्दा बिरामीको अवस्था झन्झन् बिग्रिएकाले केही समय सीपीआर दिएर पछि मात्रै अप्रेसन गरिएको र रक्तश्रावको कारण खोजिएको भट्टराईले बताए । अप्रेसनपछि पनि बिरामीलाई सीपीआर दिइएको, तर बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

बीएण्डबी अस्पतालका अनुसार ज्योति अस्पतालले अनितालाई गर्भपतन गराउने औषधि दिएर गर्भपतन गराउन खोजेको तर अत्याधिक रक्तश्राव भई अवस्था जटिल भएको हो । प्रशासन प्रमुख भट्टराईले भने, ‘मैले पाएको जानकारीअनुसार गर्भपतन गराउन उनलाई औषधि दिइएको थियो, त्यसपछि गर्भपतन हुने क्रममा अत्यधिक रक्तश्राव भएको र कम्प्लिकेसन आएप्छि मात्रै यहाँ ल्याइएको हो । थप कुरा सम्बन्धित डाक्टरसँग पनि गर्नुपर्ने हुन्छ । अहिले मैले डाक्टरसँग कुराकानी गर्न पाएको छैन ।’

ज्योति अस्पताल भन्छ– हामीले गर्भपतन गराएका छैनौँ

बिरामीको मृत्यु भइसकेपछि कालीमाटीस्थित ज्योति अस्पतालले आफूहरुले मृतकको क्युरेट नगराएको दाबी गरेको छ । मंगलबार रातोपाटीसँग कुराकानी गर्दै अस्पतालका सञ्चालक सत्यन्द्रकाजी श्रेष्ठले आफूहरुले अनिताको क्युरेट नगराएको दाबी गरे ।

बिहान करिब ११ बजे अनिता अस्पतालमा आइपुगेको र पिसाब पोलेको बताएको श्रेष्ठको दाबी छ । बिरामीले पिसाब पोलेको बताएपछि आफूहरुले मेट्रो (मेट्रोनिडाजोल) र सिप्रो (सिप्रोफ्लोक्सासिन) औषधि दिएको उनले बताए । तर, त्यसपछि ट्वाइलेटमा अनिताको ‘मिसक्यारेज’ भएको श्रेष्ठको दाबी छ ।

श्रेष्ठका अनुसार त्यतिबेला मेडिकल अफिसर दीपक तिमिल्सिनाको टिम अस्पतालमै थियो । मेडिकल अफिसर भनिएका व्यक्ति अर्थात् दीपक तिमिल्सिना भने डाक्टर नभएर हेल्थ असिस्टेण्ट मात्रै हुन् । मेडिकल अफिसर भनेको कम्तिमा पनि एमबीबीएस पास गरेका डाक्टर हुनुपर्छ ।

रातोपाटीले मेडिकल अफिसर भनेका दीपक डाक्टर हुन् कि हैनन् भनेर प्रतिप्रश्न गरेपछि मात्रै सञ्चालक श्रेष्ठले उनी हेल्थ असिस्टेण्ट मात्रै भएको र डा. प्रिया शाक्य पनि त्यहीँ रहेको बताए ।

त्यहाँ कार्यरत रहेकी भनिएकी डा. प्रिया शाक्यसँग कुराकानी गर्न खोज्दा उनी त्यहाँ थिइनन् । उनको मोबाइल नम्बर माग्दा अस्पताल प्रशासनले ‘छैन’ भन्ने जवाफ दियो ।

यसको अर्थ, उक्त अस्पतालको सबै काम हेल्थ असिस्टेण्ट दीपक तिमिल्सिनाले नै गर्ने गरेको बुझिन्छ । मृतक अनिताकी बुहारी जानुकाका अनुसार त्यहाँ नर्स र दीपक डाक्टरमात्रै थिए । यसको अर्थ, दीपकलाई अस्पतालले डाक्टरका रुपमा उभ्याएको थियो ।

हेल्थ असिस्टेण्टले गर्भपतन गराउन नपाउने र स्टाफ नर्स भए पनि तालिम लिएकै व्यक्तिले मात्र गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ ।

१२ हप्तापछिको गर्भपतन गराउन प्रतिबन्ध

नेपालको कानुनले १२ हप्तासम्मको गर्भलाई मात्रै कानूनले तोकेको मापदण्डअनुसार पतन गराउने अधिकार दिएको छ । जबरजस्ती करणी वा हाडनाता करणी भएर गर्भ बसेमा १८ हप्तासम्मको गर्भ पतन गराउन पाउने कानुनी व्यवस्था छ । तर, बच्चा वा आमाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएमा, आमाको मानसिक स्वास्थ्यमा समस्या आएमा भने चिकित्सकको सल्लाह र प्रतक्ष निगरानीमा जुनसुकै अवस्थाको गर्भ पतन गर्न सकिने कानुनी अधिकार छ । मृतक अनिताको गर्भमा १५ हप्ताको गर्भ थियो । उनी श्रीमानसँगै बस्दै आएकी थिइन् ।

१२ हप्ताभन्दा माथिको गर्भ पतन गराउन स्वास्थ्य संस्थामा जाँदा अनिवार्यरूपमा आफन्त लिएर जानुपर्ने कानुनी व्यवस्था छ, त्यो पनि कानुनले तोकेको मापदण्डमा गर्भपतन गराउन पाइने अवस्थामा ।

६३ दिनपछिको गर्भपतन औषधि खुवाएर गर्नु राम्रो हुँदैन : चिकित्सक

ज्योति अस्पतालले १५ हप्ताको गर्भ औषधि खुवाएरै पतन गराउन खोज्दा अनिताको मृत्यु भएको मृतकका आफन्तको दाबी छ । सरकारी अस्पताल प्रसुतीमा पुगेकी अनिताले सरकारी अस्पताल प्रशासनले नै निजीमा जान सुझाएको मृतकका आफन्तको भनाइ छ ।

प्रसुती गृहका पूर्वनिर्देशक समेत रहेका प्रसुती रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतम ९ हप्ता अर्थात् ६३ दिनपछिको गर्भपतन औषधि सेवनबाट गराउन नहुने बताउँछन् ।

९ सातासम्मको गर्भ हो भने तालिमप्राप्त स्वास्थ्यकर्मीले औषधि दिएर पनि पतन गराउन सक्छन् । यदि अस्पतालमै भर्ना भएर गर्भपतन गराउने हो भने आमाको स्वास्थ्य हेरेर चिकित्सकको प्रत्यक्ष निगरानीमा १२ हप्तासम्मको गर्भपतन पनि औषधि दिएर गराउन सकिन्छ । तर, त्योबेला पहिले नै स्लाइन पानी ठिक्क पारेर राख्नुपर्छ भने अन्य औषधि दिन भेन ओपन गरेको हुनुपर्छ ।

१२ हप्ताभन्दा पनि माथिको अवस्थामा गर्भपतन गराउँदा सर्जिकल क्याक अर्थात् स्वास्थ्य उपकरणबाट नै गराउनुपर्ने हुन्छ । त्यतिबेला बिरामीको अवस्था हेरेर स्लाइन पानी, रगत र अन्य आवश्यक औषधिको जोहो गरेको हुनुपर्छ ।

डा. गौतमका अनुसार नेपालमा गर्भपतन गराउनका लागि कम्तीमा एमबिबिएस पढेका डाक्टर र कम्तिमा प्रवीणता प्रमाणपत्र तह पढेका नर्सलाई मात्रै तालिम दिइएको छ ।

यदि १२ हप्ताभन्दा माथिको गर्भपतन गराउँदा पनि भ्याकुम लगायतका मेडिकल उपकरण प्रयोग गरिएन र औषधि खुवाइयो भने पाठेघर फुट्नसक्ने सम्भावना रहन्छ । जसका कारण अत्याधिक रक्तश्राव हुन्छ र समयमै अप्रेसन गरेर पाठेघर बन्द गरिएन भने बिरामीको मृत्यु पनि हुनसक्छ । 

मृतकका श्रीमान् भन्छन्– छोरी भए गर्भपतन गराउन चाहेकी थिइन्

मृतक अनिताका श्रीमान् नकुल घिमिरेका अनुसार आफूलाई गर्भपतन गराउन मन नभएको भए पनि अनिता भने गर्भमा छोरी भएमा गर्भपतन गराउन चाहेकी थिइन् । यसअघि नै अनिताले ३ वटी छोरी जन्माइसकेकी थिइन् । कान्छी छोरी १४ महिनाकी मात्रै भएकाले उनी छोरा नभएको अवस्थामा उक्त गर्भलाई जोगाउने पक्षमा थिइनन् ।

सम्भवतः भ्रूणको लिङ्ग पहिचान नभएको भए अनिताले गर्भपतन गराउने थिइनन् । तर, लकडाउनलगत्तै आफू गाउँ (रामेछाप) गएकाले यसबारेमा धेरै कुरा गर्न नपाएको नकुल बताउँछन् । आफू गाउँ गएका बेला अनिता अस्पताल पुगेको उनले बताए ।

अनिताको निधनपछि मंगलबार १४ महिनाकी कान्छी छोरीलाई काखमा लिँदै ज्योति अस्पताल पुगेका नकुलले अस्पतालको लापरवाहीको कारण नै आफ्नी श्रीमतीको ज्यान गएको भन्दै कडाभन्दा कडा कारवाहीको माग गरे ।

अस्पतालको लापरवाहीबारे राम्रोसँग छानबिन गर्न माग गर्दै उनले आफूहरुलाई न्याय चाहिएको नकुलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप