शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी

मङ्गलबार, ०१ असार २०७८, १६ : ००
मङ्गलबार, ०१ असार २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ ।

केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतमले प्रदेशस्तरमा अहिले सञ्चालन भइरहेका सङ्घ अन्तर्गत अस्पतालाई नै युनिफाइड प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको जानकारी दिए । ती अस्पतालले कोभिड–१९सँगै अन्य बिरामीको पनि उपचार गर्न सक्ने छन् । 

केन्द्रीय अस्पतालले नै प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पतालाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको रुपमा तोक्ने सक्ने व्यवस्था रहेको छ । उनका अनुसार प्रदेश–१ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश–२ जनकपुर प्रादेशिक अस्पताल वा नारायणी अस्पताल वीरगञ्ज, वागमती प्रदेशमा भरतपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी प्रादेशिक अस्पताल, कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताललाई युनिफाइड अस्पताल बनाउन सकिन्छ । उनले यी अस्पताललाई युनिफाइड प्रादेशिक अस्पताल तोक्ने विषयमा मन्त्रालय र प्रदेश सरकारसँग छलफल भइरहेको बताए ।
सरकारले कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृतरुपमा सञ्चालन र व्यवस्थापन गर्न केन्द्र र प्रदेशमा छुट्टाछुट्टै युनिफाइड अस्पताल सञ्चालनमा ल्याइने निर्णय गरेको थियो । 

वीर अस्पताल पूर्णरूपमा सञ्चालन

प्रमुख प्रशासकीय अधिकारीमा डा.गौतमले केन्द्रीय युनिफाइड अस्पतालमा ५०० शय्या सञ्चालन पूरा तयारी गरिएको जानकारी दिए । उनले तरल अक्सिजन प्लान्ट र दुई वटा अक्सिजन प्लान्ट जडान गरिसकेपछि अस्पताललाई पूर्णरूपमा सञ्चालन गरिने बताए । उनका अनुसार आगामी बिहीबारसम्म अक्सिजन प्लान्ट आइपुग्ने छ । अहिले वीरले अक्सिजन सिलिन्डरबाट बिरामीको उपचार गरिरहेको छ । 

अहिले केन्द्रीय युनिफाइड अस्पतालमा १३० जना सङ्क्रमितको उपचार भइरहेको छ । वीरको ५०० शय्याको नयाँ सर्जिकल भवनमा नै उक्त अस्पताल सञ्चालन हुने छ । यही जेठ ६ गते कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीरलाई युनिफाइड केन्द्रीय अस्पतालको रूपमा सञ्चालन ल्याउने निर्णय गरेको थियो । 

युनिफाइड अस्पतालले सङ्क्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेसन, हाइ डिपेन्डेन्सी (एचडियु) र सघन उपचार कक्ष (आइसियु)  को व्यवस्थापन, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवाको साथै शय्या खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय पनि गर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप