मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरका १७ वटा एम्बुलेन्समा जिपिएस जडान

मङ्गलबार, ०१ असार २०७८, १४ : ४७
मङ्गलबार, ०१ असार २०७८

मकवानपुरको तीन स्थानीय तहमा संचालनमा रहेका १७ वटा एम्बुलेन्सहरूमा जिपिएस सिस्टम जडान गरिएको छ ।

कोरोना महामारी तथा विपद्का समयमा बिरामी बोक्न समस्या हुने भएको र नियमनका लागि मकवानपुरका तीन स्थानीय तहका ती एम्बुलेन्सहरूमा जिपिएस सिस्टम जडान गरीएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा गत जेठ १९ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णय अनुसार हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र मनहरी गाउँपालिकाका १७ वटा एम्बुलेन्समा जिपिएस सिस्टम जडान गरीएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाका १० स्थानीय तहहरुमा हाल संचालनमा रहेको ३६ वटा एम्बुलेन्समध्ये तत्कालका लागि १७ वटा एम्बुलेन्समा जिपिएस सिस्टम जडान गरेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

बागमती प्रदेश सरकारले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गतको कार्यक्रम मार्फत उपलब्ध गराएको कुल २ लाख रुपैयाँ मध्ये १ लाख ५० हजार रुपैयाँ लागतमा जडान गरीएको उनले बताए ।

बजार अनुगमन गर्दा चालु आर्थिक वर्षको लागि प्राप्त भएको बजेटले १७ वटामा मात्र जडान गर्न पुग्ने भएकाले तत्कालका लागि हेटौंडा उपमहानगरपालिकाका १५ वटा, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका १÷१ वटा एम्बुलेन्समा जिपिएस जडान गरीएको उनको भनाइ छ ।

बजार क्षेत्रका एम्बुलेन्सहरू बढी प्रयोगमा आउने भएकाले हेटौंडा क्षेत्रलाई प्राथमिकतामा राखेर जिपिएस जडान गरीएको उनले बताए ।

ललितपुरको एसटिआर कम्प्युटरले प्रति एम्बुलेन्सहरूमा करिव ९ हजार ४ सय रुपैयाँका दरले जिपिएस जडान गरेको र आगामी आर्थिक वर्षमा बाँकी १९ वटा एम्बुलेन्सहरूमा जिपिएस जडान गरीने सूचना अधिकारी घिमिरेले बताए ।

जिपिएस जडान गरीएको ती एम्बुलेन्सको मोनिटरिङका लागि कन्ट्रोल सिस्टम जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई दिइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप