शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

चालू खाता २ खर्ब ४७ अर्बले घाटामा

मङ्गलबार, ०१ असार २०७८, ०७ : २०
मङ्गलबार, ०१ असार २०७८

आर्थिक वर्ष २०७७–७८ को १० महिनामा कुल आन्तरिक कर्जा बढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४.३ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी २३.६ प्रतिशतले बढेको हो । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर २३.१ प्रतिशत छ ।

यसैगरी चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको चालू खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९६ अर्ब १८ करोडले घाटामा रहेकोमा यस वर्ष यस्तो घाटा निकै बढेको छ । चालू खाता घाटाले अन्य देशबाट खुद सापटी लिइएको र चालू खाता बचतले अन्य देशलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

१० महिनाको अवधिमा शोधनान्तर स्थिति पनि ७ अर्ब ७५ करोडले मात्र बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो । गत वर्षको असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले घटेर वैशाख मसान्तमा आइपुग्दा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । यसले मुलुकको वैदेशिक आयमा कमी हुन थालेको संकेत गर्छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप