शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोटेश्वरमा तीन नेताको डेढ घण्टा: गठबन्धन कमजोर पार्ने षड्यन्त्रविरुद्ध सतर्क रहनुपर्ने निष्कर्ष

सोमबार, ३१ जेठ २०७८, २० : ४४
सोमबार, ३१ जेठ २०७८

विपक्षी दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ ।  संविधान, लोकतन्त्र, जनताको हकअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका निम्ति गठबन्धन दृढ रहनुपर्ने भन्दै गठबन्धनलाई कमजोर पार्ने प्रयासहरु हुनसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्नेमा नेताहरु सहमत भएको बुझिएको छ । 

सोमबार साँझ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्तामा गठबन्धनलाई कमजोर बनाउने प्रयास हुनसक्ने भन्दै त्यसबारेमा सतर्क हुने विषयमा छलफल भएको भेटमा सहभागी काँग्रेस महामन्त्री समेत रहेका पूर्णबहादुर खड्काले जानकारी दिए । 

महामन्त्री खड्काका अनुसार गठबन्धनलाई अझ दृढ बनाउँदै लैजाने तथा आपसमा शंका उपशंका उत्पन्न गराउने प्रयास हुनसक्ने भएकाले त्यसमा सतर्क हुनुपर्ने कुरामा नेताहरु केन्द्रीत भएर नेताहरुबीच समिक्षा भएको थियो । त्यस्तै उनीहरुबीच संवैधानिक अंगहरूमा सत्ताको प्रभावका बारेमा समेत सचेत रहँदै खबरदारी गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।

‘न्यायालयमाथि सत्ताको विभिन्न किसिमको प्रभाव हुने संकेतहरु देखिन सक्ने भएकाले त्यसमा खबरदारी गर्ने, न्यायालयको स्वतन्त्रता र संवैधानिक मर्यादा र अक्षुणता कायम राख्न आफ्नो तर्फबाट कर्तव्य पालना गर्ने लगायतका विषयमा छलफल भयो’, महामन्त्री खड्काले नेताहरुको भेटवार्तापछि रातोपाटीसँग भने, ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रममा कुराकानीहरु भए ।’

पछिल्लो समय गठबन्धनका नेताहरुबीच निरन्तर भेटवार्ता हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक जेठ सात गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपालसहितको गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना र काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएको छ ।

उक्त रिटमा सर्वोच्चको संवैधानिक इजलासमा आगामी असार ९ गतेबाट निरन्तर बहस हुँदैछ ।  तर, यो बीचमा प्रधानमन्त्री ओलीले गठबन्धनलाई भत्काउन अनेकन प्रयास गरिरहेका छन् । गत बिहीबारमात्रै सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार जना सांसदलाई एमालेको महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अस्वीकार गरेको थियो । साथै सोही आदेशले नेता नेपालसहितलाई गरेको कारवाही समेत निस्क्रिय भएको अवस्थामा नेता नेपाल गठबन्धन छाडेर ओलीतिर जान्छन् कि भन्ने त्रास काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई परेको छ ।

तर, त्यसबारेमा कुनै कुराकानी नभएको नेता खड्काले दावी गरे । ‘त्यसरी पार्टीकुलर विषयमा होइन समग्र विषयमा विश्लेषण भयो’, खड्काले भने ‘त्यो त फेरि उहाँहरुको आन्तरिक कुरा भयो ।’ छलफलमा नेताहरुले निर्वाचन आयोगले जसपा विवादमा आइतबार गरेको निर्णय सरकारको प्रभावमा गरेको हुनसक्ने आशंका समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप