बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा

सोमबार, ३१ जेठ २०७८, १७ : २६
सोमबार, ३१ जेठ २०७८

 संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स आइपुग्नु भएको छ । राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई प्रतिरोध गर्ने उपायको खोजी गर्न आफ्ना युरोपेली साझेदार मुलुकहरूसँग विचारविमर्श गर्नु हुनेछ । 

हाल ३० वटा मुलुक सदस्य रहेको नेटोसँग सम्बन्ध पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चिस्सिएको थियो ।  सोमबार हुने नेटो शिखर बैठकमा राष्ट्रपति बाइडेनले चीन र रसियाका अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न व्यापक समन्वयका लागि युरोपेली मुलुकहरूलाई आश्वस्त पार्नेछन् । बाइडेनले आर्थिक र राष्ट्रिय सुरक्षाका मामिलामा रसिया र चीनबाट भइरहेका हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने पहिल्यैदेखि बताउँदै आएका छन् ।

बाइडेनले नेटो गठबन्धनको घोषणापत्रको धारा ५ मा व्यक्त अमेरिकी प्रतिवद्धताप्रति पुनः जोड दिनेछन् । यस धारामा कुनै पनि एक सदस्य मुलुकमाथि आक्रमण भए सबै सदस्य मुलुकमाथि आक्रमण भएको मान्यता राख्छ र त्यसको सामूहिक प्रतिवाद गरिनेछ भन्ने उल्लेख छ । 

गत साता पनि बेलायतमा रहेका अमेरिकी सैनिकलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले नेटो गठबन्धन र धारा ५ प्रति अमेरिका पूर्ण प्रतिबद्ध रहेको बताएका थिए । राष्ट्रपति बाइडेन हाल युरोपेली मुलुकको आठ दिने भ्रमणमा रहेका छन् । उनले यसअघि नै बेलायतको कोर्नवालमा आयोजित विश्वका “सम्पन्न सात” (जी–७) को बैठकमा सहभागिता जनाएका थिए । राष्ट्रपति बाइडेनले जेनेभामा बुधबार रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता गर्नेछन् । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप