शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको भविष्य बजेटले निर्धारण गर्छः राजेन्द्र पाण्डे

सोमबार, ३१ जेठ २०७८, १६ : १९
सोमबार, ३१ जेठ २०७८

बागमती प्रदेश सभा सदस्य एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारको भविष्य मंगलबार संसद्मा प्रस्तुत हुने बजेटले निर्धारण गर्ने बताएका छन् । 
सांसद् पाण्डेले रातोपाटीसँग कुराकानी गर्दै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकारको भविष्य मंगलबार संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटले निर्धारण गर्ने बताएका हुन् । 

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनताले अपेक्षा गरेका विषयले प्राथमिकता नपाएकाले सरकाले सांसदहरुले दिएको सुझावलाई आगामी वर्षको बजेटमा चाहिँ समावेश गर्नुपर्ने बताए । 
सरकारको नीति तथा कार्यक्रममा सत्तापक्षकै धेरै सांसदहरुले असहमति जनाउँदै सुझाव पेश गरेको र उक्त सुझावहरूलाई ग्रहण गरेर बजेट प्रस्तुत गर्न सरकारले अग्रसरता देखाउनु पर्ने धारणा व्यक्त गरे ।
सांसदहरुले दिएका सुझावहरूलाई सरकारले ग्रहण गरेर सन्तुलन हुने गरी जनतामुखि प्रभावकारी बजेट ल्याउनु पर्ने उनले बताए । 

‘बागमती प्रदेश सरकारले आगामी वर्षको बजेटले सरकारको भविष्य निर्धारण गर्छ । सरकारले प्रदेशसभा बैठकमा छलफल भए अनुसार सत्तापक्षका सांसदको सुझावलाई ग्रहण गरी जनताको हित हुने र प्रभावकारी हुने खाले बजेट ल्याउनु पर्छ। हामीले हाम्रो धारणा दिएका छौं । सरकारको भविष्य कस्तो बनाउने बाँकी सरकारकै कुरा हो,’ उनले भने ।

‘बजेट प्रस्तुत गरे प्रतिपक्ष दलहरुले असहमति राख्नु स्वभाविक रहेको तर सत्तापक्षका सांसद्को असहमतिले कति असर गर्छ सरकारले बुझेको हुनुपर्छ,’ सांसद् पाण्डेले थपे ।
सरकारप्रति सदासयता देखाएको भन्दै एकतालाई कायम राख्न सत्तापक्षले कारवाही गरिरहेको बखत बहुमतले पारित गर्न नेकपा एमालेको माधव नेपाल पक्षका सबै सांसदहरुलाई निर्देशन दिइएको उनले बताए । 

‘हामीले एकता कायम राख्न सत्तापक्ष समक्ष सदासयता राख्दै सकारात्मक सन्देश प्रवाहका लागि र सदनको रक्षाका लागि पनि सरकारको नीति तथा कार्यक्रम पास गर्न माधव नेपाल पक्षका सांसदहरुलाई निर्देशन दिइएको थियो,’ उनले भने ।

वर्तमान सरकारले विगतको अवस्थालाई चिर्दै सन्तुलित बजेट ल्याउनुपर्ने र सरकारको प्राथमिकतामा कोरोना नियन्त्रण, उपचार र खोपको सुनिश्चितता तर्फ हुनुपर्ने उनले बताए । 
‘हामीले हाम्रोतर्फबाट दिनु पर्ने सुझाव दिएका छौं । सरकारको प्राथमिकताको क्षेत्र सुरुङ मार्ग र विद्युतीय बस खरिद नभए र खोप, उपचार सेवा र कोरोना नियन्त्रणतर्फ हुनुपर्छ । सोही अनुसार सरकारले आगामी वर्षका लागि सन्तुलित बजेट ल्याउनु पर्छ,’ पाण्डेले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप