शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेतालाई लागेन तिहार !

बिहीबार, ०२ कात्तिक २०७४, ११ : ०३
बिहीबार, ०२ कात्तिक २०७४

काठमाडौं– गाउँदेखि शहरसम्म तिहारको झिलिमिलि छ । घरघरमा देउसी, भैलोको रौनक छ । सर्वसाधारणहरु तिहारको झिलिमिलि र रमाइलोमा झुमिरहे पनि राजनीतिक दलका नेताहरुलाई भने तिहार मनाउने भन्दा पनि नजिकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापन गर्ने चटारोले बढि सताएको छ ।

तिहारको मुख्य दिन भाइटिकाको भोलिपल्ट प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको बन्द सुचि बुझाउने निर्वाचन कार्यतालिका भएकाले पनि राजनीतिक दलका नेताहरुलाई तिहार भन्दा बढि चुनावको चटारोले सताएको हो । 

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाका लागि बन्द सुचि बुझाउने समय कार्तिक ५ गतेलाई निर्धारण गरेको छ । आयोगको कार्यतालिका अनुसार दलहरुले आजको तीनभित्रमा उम्मेदवारहरुको सुचि तयार गरी तोकिएको मितिमा बुझाइसक्नुपर्नेछ ।   

त्यसका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु कोही रिसोर्टमै आवासीय बैठक बसेर उम्मेदवार तय गर्ने र घोषणापत्र बनाउने काममा व्यस्त छन् भने कोही रातभर बालुवाटारमै बैठक राखेर चुनावको तयारीमा  लागेका छन् ।

तीन दिनदेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सवैजसो शीर्ष नेताहरु उम्मेदवार छनोट, निर्वाचन क्षेत्र र चुनावी घोषणापत्र बनाउन काठमाडौस्थित गोर्कण रिसोर्टमा भेला भएपनि उनीहरुलाई चुनावी व्यवस्थापन गर्न निकै कठिन भएको छ । 

निर्वाचनकै लागि बनेको एमाले–माओवादी गठबन्धन पनि विगत दुई सातादेखि क्रियाशिल छ । यो गठबन्धनले तीन दिनमा दुवै दललाई मान्य हुने गरी निर्वाचन क्षेत्र र सिटसंख्या निर्धारण गर्ने भनेपनि दुई साता वित्दा समेत टुङ्ग्याउन नसकेपछि त्यसको जिम्मा पार्टी एकता संयोजन समितिलाई दिइएको छ । 

संयोजन समितिको बैठक बसेर चुनावी गृहकार्यलाई थप तीव्रता दिने नेताहरुले बताएका छन् । उनिहरुले शुक्रबारसम्म दिनभर काम गरेर बेलुकासम्म सवै विषय टुङग्याउँने बताएका छन् ।  

उता, सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस पनि रातदिन नभनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठक बसाएर उम्मेदवार छनोट गरिरहेको छ ।

कांग्रेसलाई उसँग चुनावी तालमेल गरेका दलहरुलाई पनि चित्त बुझाउनुपर्ने बाध्यता छ । कांग्रेससँग राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्ति नेपालले चुनावी तालमेल गरेका छन् ।

संसदीय समितिको बैठकमार्फत नै तालमेलमा रहेका दलहरुलाई दिने सिट संख्या र निर्वाचन क्षेत्र तथा उम्मेदवार छनोटको काम गरिरहेको उसले बिहिबारसम्म पनि ७७ जिल्लामध्ये एक चौथाई जिल्लामा पनि उम्मेदवारको टुङगो लगाउन सकेको छैन । 

प्रमुख पार्टीहरुमा उम्मेदवारका आकांक्षी बढि भएपछि उनीहरुसामु टिकट र क्षेत्र व्यवस्थापनको विषय पेचिलो बनेको बनेको हो  । पार्टीभित्रै गुट, उपगुटको व्यवस्थापन र गठबन्धनबीचको कार्यगत एकतालाई मजबुत बनाउने सवाल दलहरुका लागि चुनौतिको विषय बनिरहेको नेताहरुले नै स्वीकार गरिसकेका छन् ।

धेरैजसो दलहरुले गठबन्धन निर्माण गर्नुअघि नै आ–आफ्ना दलबाट धमाधम उम्मेदवार सिफारिस गरिसकेकाले पनि अन्तिममा उनिहरुको चित्त बुझाउन समस्या भएको बताइएको छ । त्यसका साथै गठबन्धनभित्रका प्रभावशाली तथा युवा नेताहरुको क्षेत्र जुध्दा पनि ढिलाई भएको बताइन्छ । 

आगामी मंसिर १० र २१ गते नयाँ संरचना अनुसार निर्वाचन हुदैछ । यो निर्वाचनमा देशभरका १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् ।

पहिलो चरण मंसिर १० मा ३२ जिल्लाका प्रतिनिधि सभाका ३७ र प्रदेशसभा ७४ निर्वाचन क्षेत्रका ३२ लाख २८ हजार ८ सय ७९ मतदाताले मताधिकारको प्रयोग गर्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप