बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी सुब्बा गुरुङको टिप्पणी : यो गठबन्धनको आयु लामो छैन

‘मुख्यमन्त्रीमा मेरो दाबीलाई गलत अर्थले प्रचारबाजी गरियो ’
आइतबार, ३० जेठ २०७८, १२ : ०८
आइतबार, ३० जेठ २०७८

गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले प्रदेशमा काँग्रेस नेतृत्वमा बनेको वर्तमान गठबन्धनको आयु लामो नभएको टिप्पणी गरेका छन् । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले गठबन्धनलाई अप्राकृतिक भन्दै यसको गठबन्धनकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको भन्दै तर गठबन्धनको आयु लामो नहुने टिप्पणी गरेका हुन् । उनले सबै दलमा विभाजनका रेखा कोरिएको भन्दै सबै दलले आफुलाई करेक्सन गर्नसक्नुपर्ने बताए ।

​गण्डकीमा एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निभाउने उनको भनाइ छ । ‘प्रदेशमा अव एमालेले रचनात्मक प्रतिपक्षको भुमिका खेल्छ । तर गुटउपगुटमा विभाजित अप्राकृतिक यो गठबन्धन पूर्वपश्चिम फर्केको छ । कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुन्छ र गठबन्धनको आयु लामो छैन,’ गुरुङले भने, ‘मेरो भूमिकामा फरक पर्ला तर प्रदेश सभा ५ वर्ष चल्नुपर्छ भन्ने मान्यतामा म अडिग छु ।’ उनले राजनीति फोहोरी खेल नभएपनि राजनीतिमा फोहोरी मान्छेको प्रवेशले नेपालको राजनीतिमा समस्या देखिने गरेको गुरुङको भनाइ छ ।

उनले गठबन्धनकातर्फबाट नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धनले शनिबार प्रदेश प्रमुखको कार्यालय घेराउ गरेर राजनीतिक आचरण नदेखाएको भन्दै रातारात त्यस्तो गर्नुपर्ने आवश्यक्ता आफुले नदेखेको बताए । उनले आफुले समेत मुख्यमन्त्रीमा दावी पेश गरेको विषयलाई गलत अर्थले प्रचारबाजी गराएको भन्दै असन्तुष्टि जनाए ।

​‘प्रदेशका सबै सदस्यले दाबी गर्न पाउँछन् । उपधारा ५ मा त्यो व्यवस्था छ । के मैले दाबी गर्दा अपराध हुन्छ ? कहाँ छ संविधानमा मुख्यमन्त्रीले दाबी गर्नुहुँदैन भन्ने ? फेरि मसँग २७ जना सांसद छन्’, गुरुङको भनाइ थियो ।  उनले सहज र डेमोक्रेटिक प्रक्रियामार्फत सरकार परिवर्तन भएको पनि बताए ।

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई संघीयताको मर्मअनुसार काम गर्न गुरुङको सुझाव थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप