शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको किराना दोकान : दुई घण्टा खुल्छ, २२ घण्टा बन्द !

भीड बढेको भन्दै खाद्य कम्पनी र साल्ट ट्रेडिङका पसल बिहान मात्रै खुल्ला
आइतबार, ३० जेठ २०७८, १० : २०
आइतबार, ३० जेठ २०७८

अध्यादेशमार्फत ल्याएको बजेटमा सरकारले दैनिक उपभोग्य वस्तुमा अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेको थियो । त्यही योजना अनुसार सरकारी निकायका दुई संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले अहिले सस्तोमा सामान विक्री गरिरहेका छन् ।

सरकारले सार्वजनिक गरेको बजेटमार्फत कोभिड–१९ प्रभावित सर्वसाधारणलाई विशेष राहतस्वरुप निषेधाज्ञाको अवधिमा दैनिक उपभोग्य वस्तु खाद्यान्न, चालम, नून, तेल, चिनी, पिठो लगायत खाना पकाउने एलपी ग्यासमा अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

हाल खाद्य कम्पनीबाट विक्री वितरण हुने चामल र कर्णालीको सिमी अनि साल्ट ट्रेडिङबाट विक्री वितरण हुने नुन, चिनी, पिठो, तेल र खाना पकाउने एलपी ग्यास (एसटीसी) मा सरकारी छुट लागु गरिएको छ ।

दैनिक उपभोग्य वस्तु खाद्यान्न, दाल चामलको विक्री वितरणको जिम्मा खाद्य कम्पनीको भागमा परेको छ भने नुन, चिनी, पिठो, तेल र खाना पकाउने एलपी ग्यासको भाग सरकारी स्वामित्वकै विक्री केन्द्र साल्ट ट्रेडिङको भागमा परेको छ ।

तर, छुट योजना कार्यान्वयनमा आएको एक हप्ता पनि नबित्दै योजना कार्यान्वयन फितलो देखिन थालेको छ । जसको पछिल्लो उदाहरण हो, यी दुई विक्री निकायहरुले घोषणा गरेको दुई घण्टे सेवा ।

गत सोमबार एक सूचना जारी गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनले तत्कालका लागि साल्टका सबै विक्री केन्द्रहरु बिहान ७ बजेदेखि ९ बजेसम्म, दुई घण्टा मात्रै खोल्ने बतायो ।

रातहत छुटका कारण विक्री केन्द्रहरुमा सेवाग्राहीहरुको अत्यधिक भिड बढेको र यसले स्वास्थ्य सुरक्षामा उच्च जोखिम बढेकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंको गत जेठ १९ गतेको निषेधाज्ञा सम्बन्धी आदेशअनुसार २५ गतेदेखि साल्टका सबै विक्री केन्द्रहरु विहान ७ बजे देखि ९ बजेटसम्म मात्र खोल्ने निर्णय गरिएको साल्टले बताएको छ ।

यस्तै, भनाइ यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पनि छ । कोभिड–१९ को उच्च जोखिम सरकारी निर्णयलाई नै शिरोधार्य गर्दै खाद्य कम्पनीले आफ्ना सबै विक्री केन्द्रहरु विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्ने गरी निर्णय गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले रातोपाटीसँग बताइन् ।

यस्तो अवस्थामा निषेधाज्ञाकै बीच काठमाडौं उपत्यकावासीले मात्र केन्द्रित गरेर ल्याएको छुट योजनामा समेत दुई घण्टे सेवा शर्तमा राखेपछि आम सेवाग्राहीहरु समस्यामा परेका छन् । यस्तो अवस्थामा कसरी सेवाग्राही लाभान्वित होलान् ? 

‘सेवामा कुनै कमी आएको छैन’

साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारी समयको फेरबदलले साल्टको सेवामा कुनै फरकपन नआएको बताउँछन् । अहिले पनि साल्टमा सेवाग्राहीहरुको चापमा कुनै कमी नभएको बताउँदै राजभण्डारीले दिवा सेवाभन्दा अझ बढी बिहानी सेवामा उपभोक्ताहरू खुशी भएको बताउँछन् ।

‘सिफ्ट परिवर्तनले साल्टको सेवामा कुनै फरक पारेको छैन । बरु अझ बढी सेवाग्राही अहिले खुशी देखिन्छन् । दैनिक दुई सय हारहारीमा सेवाग्राही उपभोक्ताहरुले साल्टबाट छुट सेवा लिइरहेका छन् भने, दिउँसोको सेवा बिहानीमा सार्दा अझ बढी सेवाग्राहीहरु खुशी देखिएका छन्’ प्रवक्ता राजभण्डारीले रातोपाटीसँग भने ।

त्यसो त उनका अनुसार विहान ७ देखि ९ बजे दुई घण्टा भनिएपनि साल्टले अधिकतम ४ घण्टा (११ बजेसम्म) सेवा प्रवाह गरिरहेको छ । भने, आजभोलिको दिउँसोको टन्टलापुर घाममा लाइनमा बस्न नपरेकाले उपभोक्ताहरु पनि खुशी नै छन् ।

यस्तै भनाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पनि छ । कोभिड–१९ को उच्च जोखिमलाई ध्यानमा राख्दै सेवा समयलाई बिहानी २ घण्टामा झारे पनि खाद्यको ग्राहक सेवामा कुनै कमि नआएको अधिकारीले बताइन् ।

यता सरकारी निकायका कर्मचारीले यसो बताइरहँदा आम उपभोक्ताहरु भने सरकारको कार्य व्यवहारदेखि सन्तुष्ट छैनन् । एक त काठमाडांै उपत्यकाभित्रका सेवाग्राहीहरुलाई मात्र प्रदान गरिएको राहत छुट सेवा, अर्कोतर्फ निषेधाज्ञामा प्रदान गरिएको र त्यसमाथि पनि अझ बिहानको दुईघण्टा मात्र सेवा समय तोकिनुले आम सर्वसाधारण सरकारसँग आक्रोशित छन् । जुन आक्रोश अहिले सामाजिक सञ्जालहरुमा पनि देख्न सकिन्छ ।

कति भए लाभांवित ?

प्रवक्ता राजभण्डारीका अनुसार हालसम्म साल्टबाट मात्र सरकारको विषेश राहत छुट प्राप्त गर्ने सेवाग्राहीको संख्या करिब २ हजार नाघिसकेको छ ।

उनका अनुसार आज बुधबारसम्म साल्ट ट्रेडिङबाट कुल २१ लख २४ हजार ६६८ रुपैयाँ बराबरको दैनिक उपभोग्य वस्तु नुन, तेल, चिनी, पिठो र खानापकाउने एलपी ग्यासको विक्री वितरण भएको छ ।

जसमध्ये, हालसम्म नून १ लाख १० हजार ३८४ रुपैयाँको, चिनी, ४ लाख ८८ हजार ५३६ रुपैयाँको, पिठो १ लाख ४८ हजार २८० रुपैयाँको, भटमासको तेल, ६ लाख ३९ हजार ३८८ रुपैयाँको र खानापकाउने एलपी ग्यास अधिकतम ७ लाख ३८ हजार ८० रुपैयाँको विक्री भएको छ ।

यो उपत्यकाका ५ स्थान कालिमाटी, कोटेश्वर जावालाखेल, सतुँङ्गल र भक्तपुरसहित उपत्यका बाहिरका २ स्थान बनेपा र नारायणगढको साल्टका विक्री केन्द्रबाट भएको विक्री वितरणको तथ्याङ्क हो ।

खाद्यले बेच्यो ४ लाख ३७ हजारको चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुट योजना अन्तरगत हालसम्म ४ लाख ३७ हजार बराबरको चामल बेचेको जनाएको छ ।

यस्तो विक्री वितरण जेठ २१ गते २ हजार ३३७ केजी भएको थियो भने २३ गते ३ हजार ८२३ केजी भएको थियो । त्यस्तै २४ गते ७ हजार ५३२ केजी र २५ गते १० हजार ६३ केजी विक्री भएको थियो । जेठ २६ गते ११ हजार ३१० केजी गरी कुल ३३ हजार ३० केजी चामल विक्री भएको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने अधिकारीले जानकारी दिइन् ।

यो अवधिमा खाद्यबाट मात्र कुल १ लाख ३७ हजार ४९२ रुपैयाँको छुट भएको अधिकारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप