शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भगवानको 'रक्षा' गर्दा दाइ बने भाइको हत्यारा

शनिबार, २९ जेठ २०७८, २१ : ३४
शनिबार, २९ जेठ २०७८

महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराका रामचन्द्र साह र लक्ष्मण साहबीच विगत केही वर्ष यता लगातार विवाद हुँदै आइरहेको थियो । दाजुभाइबीच विवादको कारण पैसाको लेनदेन, जग्गा वा अन्य कुनै सम्पत्तिका लागि नभएर घरको कूलदेवता रहेको थियो । त्यही कूल देउताको 'रक्षा'का लागि भएको विवादले उग्ररुपमा लिदाँ ५० वर्षीय रामचन्द्र आफ्नै कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको हत्यारा बन्न पुगेका छन् ।

दुवै भाइको कूलदेवता लक्ष्मणको घरमा स्थापित थियो । रामचन्द्र कूलदेवतालाई आफ्नै घरमा स्थापित गर्न चाहन्थे । दुई जना अलग भएदेखि नै यो विवाद शुरु भएको थियो । करिब ५ वर्षदेखिको यो विवादले लक्ष्मणको ज्यान नै लिएको छ । 

गत जेठ २६ गते दाइ रामचन्द्रले मौका छोपेर कूलदेवताको पिढीलाई उखेलेर आफ्नो घरमा लाने प्रयास गरेका थिए । तर लक्ष्मणले त्यो चाल पाएपछि धार्मिक विधिलाई ख्यालै नगरेको भन्दै उनी कूल देउताको रक्षाका लागि अघि बढे । भतिजाहरूसँगै पुगेका त्यहाँ पुगेका आफ्नो दाइलाई लक्ष्मणले रोक्ने प्रयास गरे । तर उनी सफल भएनन् ।  भतिजहरु र दाई रामचन्द्रले मिलेर उनको लठ्ठीले टाउकोमा प्रहार गरे । कुटाइबाट उनी गम्भिर घाइते भए । 

गम्भिर घाइते भएका लक्ष्मणलाई उपचारका लागि रामचन्द्र साहको परिवारका केही सदस्य र उनको श्रीमतीले जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगे । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ लगिएको तर उपचारको क्रममा मृत्यु भएको स्थानीय नरेन्द्र प्रसाद शर्माले बताए । झगडाको प्रत्यक्षदर्शी समेत रहेका स्थानीय शर्माका अनुसार दुई भाइबीच यो विषयलाई लिएर समय–समयमा विवाद हुँदै आइरहेको थियो । उनले भने– 'कतिपटक त हँसिया लिएर ज्यानै मार्न पुगेका रामचन्द्रलाई हामीले रोकेका छौँ । त्यो दिन रामचन्द्रले यतिसम्म गर्न सक्छ हामीले चाल पाएनौँ ।' 

लक्ष्मणको शव शुक्रबार नै गाउँ ल्याइएको छ तर अन्त्येष्टि भने गरिएको छैन । पीडितको न्यायका लागि पहल नभएसम्म शव अन्त्येष्टि हुन नदिने गाउँवासीको माग छ । गाउँवासीमा शोकभन्दा पनि आक्रोश बढी देखिएको छ । प्रहरी प्रशासन लगायत केही व्यक्ति मिलेर पीडकहरुलाई बचाउन खोजिरहेको स्थानीय शर्माको आरोप छ । 

यता लक्ष्मणका श्रीमिती ४० वर्षिया ममता साह समेत घाइते छिन् । श्रीमान्लाई बचाउन खोज्दा उनीमाथिसमेत आक्रमण गर्ने प्रयास गरियो । उनको पनि टाउकोमा चोट लागेको छ । श्रीमान्को हत्यारालाई कडाभन्दा कडा कारबाहीका साथै आफ्नो बच्चाहरुको पालनपोषण तथा शिक्षा दीक्षाको व्यवस्था गरिदिन माग गरेकी छिन् । उनले भनिन्, ‘श्रीमानले छोडेर गएपछि अब म एक्ली भएको छु, मेरा ३ छोरा छन् । उनीहरुको पालनपोषण र शिक्षादिक्षाको व्यवस्था कसरी गर्न सक्छु । हाम्रो जिविका तथा बच्चाको शिक्षा दिक्षाको उपाय गरियोस ।’

यता लोहारपट्टी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष गणेश ठाकुरले भन्छन्, घटना घटेको दिन मलाई खबर भए लगत्तै प्रहरी प्रशासनलाई खबर गर्नुका साथै उपचारका लागि अस्पताल पठायौँ । तर उनको ज्यान रक्षा हुन सकेन ।' घटना भए लगत्तै प्रहरीलाई खबर गरेका कारण हत्यामा संलग्न मध्ये दुई जना पक्राउ परेको वडाध्यक्ष ठाकुरको भनाइ छ ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीका उपरीक्षक दिनेश आचार्यले लक्ष्मणको हत्यामा संलग्न रहेका रामचन्द्रसहित उनको श्रीमती र एक जना छोरो फरार रहेको जानकारी दिए । यद्यपि घटनामा संलग्न रहेका अन्य दुई जनालाई पक्राउ गरिएको र फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप