बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरलाई माया गर्ने उद्योगी

शनिबार, २७ जेठ २०७४, १६ : १२
शनिबार, २७ जेठ २०७४

मोती दुगड विराटनगरका स्थायी बासिन्दा हुन् । यहीँ जन्मेहुर्केका दुगड नेपालको प्रतिष्ठित औद्योगिक घराना दुगड ग्रुपका सदस्य पनि हुन् । शिक्षित, शान्त स्वभावका दुगडले विराटनगरका लागि लगानीको जोखिम मोलिरहेका छन् । पहिले पोलिमर, खाद्यन्नलगायतका नवीनतम उद्योग सञ्चालन गरेर सफलता पाएका दुगडले यही वर्ष विराटनरमा ४० करोड लगानीमा पर्यटक स्तरको नमुना होटल ह्यारिसन सञ्चालनमा ल्याएका छन् । एक वर्षभित्रै फाइभ स्टार होटलसहितको नेपालकै नमुना व्यपारिक महल पनि विराटनगरमै निर्माण गरिरहेका छन् । भौतिक वस्तु उत्पादनबाट सेवामूलक व्यवसायमा युटर्न गरेका विराटनगरलाई औधी माया गर्ने उद्योगी मोती दुगडसँग आर्थिक समृद्धिबारे कुराकानी गर्दा उनले यसरी बताए :

विराटनगरको धेरै माया लाग्छ 
म विराटनगरमा जन्मेको, हुर्केको, पढेको, बढेको युवा हुँ । मलाई विराटनगरवासी हुँ भन्दा गर्व लाग्छ । विराटनगर नेपालको सुन्दर नगर हो । यो पूर्वको मात्र नभएर देशको आर्थिक राजधानी हो । अग्रणी औद्योगिक नगर हो– उनी भन्छन्, यसैले मैले विराटनगर बाहिर जाने कहिल्यै सोच बनाइनँ । विराटनगरमै केही गर्नुपर्छ भन्ने अठोट बनाएँ । अहिले त्यही गरिरहेको छु । जन्मभूमि हाम्रो देश हो । आमा हो । यसैले बाहिर गएर उद्यम गर्नुभन्दा देशमै गरेको उत्तम हुन्छ । मैले विराटनगरमा धेरै प्रकारका नवीनतम उद्योगहरु स्थापना गरेँ र सफल पनि भएको भइरहेको छु । मलाई मेरो देशका धेरै ठाउँ मनपर्छन् । तर मलाई अधिक मनपर्ने र माया लाग्ने विराटनगरकै हो । किनभने यो मेरो जन्मभूमि हो । म बाहिर गएँ भने धेरै दिन बस्नै सक्दिनँ । कतिखेर विराटनगर पुगौँ भन्ने लागिहाल्छ । विराटनगर सबै जातजाति भाषाभाषी, वर्ग, समुदाय मिलेर बसोवास गरेको ठाउँ हो । यहाँ कुनै असुरक्षा छैन । नेपालका अन्य धेरै सहरहरु असुरक्षित छन् । तर विराटनगरमा राति बाह्र बजे पनि महिलाहरु निर्धक्क हिँड्न सक्छन् । विराटनगरमा बौद्धिकता पनि छ । यहाँका मानिसहरु सहयोगी भावनाका छौँ । मलाई लाग्छ, भौतिक पूर्वााधारमा ध्यान दियो भने विराटनगर सधैँ देशको अग्रणी नगर बनिरहने छ । विराटनगरले अझै धेरै प्रगति गर्नेछ । यसका लागि हामी विराटनगरबासी सधैँ सचेत रहनुपर्छ र सरकार पनि गम्भीर हुनुपर्छ ।

विराटनगरका लागि लगानीको जोखिम मोलेको हुँ 
मलाई धेरै साथीहरुले भनेका थिए र अझै पनि भन्दैछन् विराटनगरमा हैन आउटअफ विराटनगर लगानी गर । विराटनगरमा गरेको लगानी डुब्छ । किनभने विराटनगर ‘डेड सिटी’ हुँदैछ । तर मैले विराटनगरकै मायाले नेपालमै सुरु नभएका धेरैवटा नवीनतम उद्योग यहाँ स्थापना गरेँ । चाहे त्यो मसला होस् वा पोलिमर होस् । म सबैमा सफल भएँ । लगानी डुबेन । आखिर हामीले आफ्नो देश पहिले आफ्नै ठाउँबाट बनाउन सुरु गर्ने हो । आफ्नै ठाउँलाई पहिले न्याय दिने हो । धेरै कुरा गर्नुभन्दा जति जहाँबाट सकिन्छ योगदान गर्ने हो । यसैले म पनि विराटनगरबाट देशका लागि आर्थिक योगदान दिने प्रयत्न गरिरहेको छु । भर्खरै ४० करोड लगानीमा अन्तराष्ट्रिय स्तरको होटल ह्यारिसन विराटनगरमा यसै वर्ष सञ्चालनमा ल्याएँ । राम्रो चलिरहेको छ । सबैले विराटनगरको नमुना होटल भनेर चर्चा गरेका छन् । धेरै पर्यटक होटल हेर्नकै लागि मात्र पनि आउने गरेका छन् । यसले मलाई लाग्छ विराटनगरको विकासमा सघाएको छ । विराटनगरमा पनि अन्तराष्ट्रिय स्तरको नमुना होटल छ भन्ने सन्देश गएको छ । पहिले विराटनगरमा मान्छे बस्दैन थिए । काठमाडौँ नै फर्कन्थे । तर आजकल बास बस्न थालेका छन् । विराटनगरलाई हेर्ने बुझ्ने मौका पाएका छन् । यो पनि विराटनगरका लागि उपलब्धि हो । मलाई लाग्छ, विराटनगरमा अझै अन्तराष्ट्रिय स्तरका दुई चार होटल मज्जाले चल्न सक्छन् । किनभने विराटनगर सेफ सिटी हो । विराटनगरमा होटल चल्दैन भन्ने सोच गलत हो । राम्रा होटल नभएर नचलेको हो । अहिले मेरो होटलमा पार्टी गर्नेहरुको घुइँचो हुन्छ । रुम सबै प्याक छन् ।

अर्को एक वर्षभित्र विराटनगरमा मैले फाइभ स्टार होटलसहितको व्यपारिक मल सञ्चालनमा ल्याउँदै छु । धमाधम निर्माण भइरहेको छ । त्यसले पनि ए विराटनगरमा त केही छैन भन्नेहरुका लागि गतिलो जवाफ हुने छ । मैले सञ्चलनमा ल्याउन लागेको मल नेपालकै नमुना मल हुनेछ । मल सञ्चालनमा आएपछि विराटनगरको सोसाइटीमा धेरै चेन्ज आउनेछ भन्ने पनि मैले ठानेको छु ।

मैले जस्तै सबैले ढुक्क भएर नवीनतम उद्योगहरुमा जोखिम नमानी लगानी गर्ने हो भने विराटनगर सधैँका लागि अग्रणी औद्योगिक नगर रहिरहने छ । किनभने विराटनगरलाई समृद्ध बनाउन दायित्व हाम्रो पनि हो । सबै थोक काठमाडौँ मात्र हो विराटनगरमा केही छैन । केही होइन भन्ने सोच अब त्याग्नुपर्छ अग्रणी विराटनगर बनाउनु हामी सबैको दायित्व हो । सरकारले त नीति र पूर्वाधार तैयार गरिदिने मात्र हो । हामीले हाम्रो ठाउँलाई माया नगर्ने अनि विकास भएन भनेर गुनासो मात्रै गरेर हुँदैन ।

नेपालमा भएका प्रायः सबै घरानियाँहरु विराटनगरकै हुन् । तर उनीहरुले सबैथोक काठमाडौँ नै हो भनेर आफूलाई सिफ्ट गरे । आखिर उनीहरु फस्टाएका त विराटनगरबाटै हो नि । यसैले उनीहरुले पनि विराटनगरका लागि बोल्नुपर्छ । नवीनतम उद्यमहरु विराटनगरमा सञ्चालन गर्नुपर्छ । पूर्वाधार तयार भए पनि विराटनगर नेपालकै सेफ र सुन्दर सिटी पक्का हुन्छ ।

सरकारले आधार बनाइदिनुपर्छ 
अग्रणी औद्योगिक नगरी भने पनि विराटनगरमा अझैसम्म एउटा औद्योगिक प्रदर्शनी स्थल छैन । अझैसम्म विमानस्थलको स्तरोन्नति भएको छैन । चक्रपथ बन्न थालेको बीस वर्ष भयो, कहिल्यै पूरा भएको छैन । भारतले ड्राइपोर्ट सञ्चालनमा ल्याइसक्दा हाम्रोमा अझै निर्माण कार्यले तीव्रता लिएको छैन । जोगबनी–किमाथान्का नाकाको कुरा पनि कथाजस्तै छ । यदि विराटनगरलाई समृद्ध बनाउने हो भने सरकारले पनि आधारभूत कुरा पूरा गरिदिनुपर्छ । विराटनगर धेरै नेता, मन्त्री र प्रधानमन्त्री जन्माउने, हुकाउने सहर भएर पनि अहिलेसम्म कसैले विराटनगरका लागि भनेर केही गरेको देखिएन । सबै कुरा गर्ने तर काम नगर्ने भए । गृहथलो विराटनगरलाई बताए पनि आफ्नो बासस्थान चाहिँ राजधानीतिरै बनाए । यसैले पनि विराटनगरको विकास नभएको हो । देशको ऐतिहासिक अग्रणी औद्योगिक नगर भएर पनि खै त विराटनगर महानगरपालिका किन बन्न सकेन ? यो पालिको बजेटमा सरकारले चासो दिनुपर्छ भनेर मैले पनि अर्थमन्त्रीज्यूलाई भनेको छु ।

विराटनगरकै लागि व्यवसायमा ‘यूटर्न’ गरेको हुँ 
हामी घरानियाँहरु परम्परागत लगानीमा रमाइरहेका छौँ । यसैले पनि ठूलो उद्यमको क्षेत्र सेवामूलक व्यवसायमा लगानी गर्न डराइरहेका छौँ । नेपालका लागि होटल, अस्पताल, विद्यालय, कलेज आदि माटो सुहाउँदो व्यवसाय हुन् । यसमा लगानी डुब्दैन । सुरुमा लगानी गर्ने जोखिम मात्र गर्नुपछ । सेवामूलक व्यवसाय दिगो व्यवसाय पनि हो ।

परम्परागत लगानीमा बानी परेकाले होला अझै घरानियाँहरुले आफूलाई परिवर्तन गर्न नसकेका हुन् । तर अब सोच फेरिँदै गएको छ । घरानियाँहरुका नयाँ पुस्ता बाबुबाजेले गरेकै उद्यममा रमाउन छाडेका छन् । उनीहरु नयाँ–नयाँ उद्यम गर्न अग्रसर भइरहेका छन् । कोही आईटी, कोही पर्यटन त कोही शिक्षा, स्वास्थ्य क्षेत्रको उद्यममा लागेका छन् । यो राम्रो हो । यसले नेपालको सेवामूलक व्यवसाय वृद्धि गर्ने छ । स्तर बढाउने छ । अब परम्परागत उद्योगहरुमा मात्र लगानी गरेर हुँदैन र एकै घरका सदस्यहरु एकैखाले उद्यममा भुलिनु हुँदैन । विस्तार हुनुपर्छ भन्ने सोच पनि फैलिँदै गएको छ ।

मलाई पहिलेदेखि नै होटल व्यवसाय गर्ने सोच थियो । तर समय अनुकुल भएकै थिएन । मेरो पहिलेदेखि नै नयाँ–नयाँ होटलमा बस्ने सोख पनि थियो । होटल व्यवसाय मेरो सोख पनि हो । यसैले मैले होटल व्यवसायमा जोखिम मोलेर लगानी गरेको हुँ ।

खाद्य, केमिकल, पाइप, उद्योग सञ्चालन गरेर सफल उद्योगी बनिसकेको पनि मलाई विराटनगरमा एउटा राम्रो होटल नभएको महसुस भइरहेको थियो । यस क्षेत्रमा किन लगानी भइरहेको छैन भन्ने लाग्यो । यसैले साथीहरुले तँ डुब्छस भने पनि मैले लगानीको जोखिम मोलेर विराटनगरलाई चिनाउने होटल खोलेको हुँ । मैले विराटनगरमै पहिले नै रिसोर्ट पनि सञ्चालन गरिसकेको छु । अब फाइभ स्टार होटल पनि बनाउँदै छु ।

होटल व्यसायमा धेरै रिक्स पनि छ

होटल व्यवसाय नाफा थोरै भए पनि रमाइलो पेसा पनि हो । धेरै नयाँ–नयाँ र ठूला मानिसहरुसँग सम्पर्क हुन्छ । पब्लिक रिलेसन बढ्छ । राम्रो सेवा दिँदा ठाउँको राम्रो सन्देश पनि दिन सकिन्छ । तर होटल व्यवसायमा रिक्स पनि धेरै छ । यो व्यवसायमा धेरै विकृतिहरु पनि छ । ती विकृतिलाई अँगालियो भने ठाउँको मात्र हैन, देशकै बेइज्जत हुन्छ । अर्कोतिर आफ्नो इज्जत प्रतिष्ठा पनि गुम्छ । यसैले विकृति मुक्त भएर होटल सञ्चालन गर्नुपर्छ । होटल व्यवसायमा धेरै चुनौती छन् । यसका लागि सरकारले पनि प्रोत्साहन गर्नुपर्छ । होटलमा लगानी गर्नेहरुलाई सुरुका केही वर्ष कर छुट दिने, सामग्रीहरु आयात गर्दा भन्सारमा प्रोत्साहन गर्ने र बैङ्क व्याजमा सहुलियत दिनुपर्छ । जसले न्यू कमर र घरानियाँहरुलाई पनि यो व्यवसायमा आर्कषित गर्छ । होटल व्यवसाय भनेको देशमा मुद्रा भित्र्याउने व्यवसाय पनि हो । नेपाल पर्यटकीय देश भएकाले सरकारले यो व्यवसायका लागि विशेष नीति तयार गर्नुपर्छ । बाटो, बिजुली, यातायात, अध्यागमनजस्ता पूर्वाधारहरु सहज बनाइदिनुपर्छ ।

देश चिनाउन राजनीतिमा पनि लागेको हुँ

नेपालमा कुनै पनि आवाज उठाउँदा निजी क्षेत्रको आवाज सुनिँदैन । निजी क्षेत्रले बोलेका आवाजहरु त्यसै दबिने गरेका छन् । सबैले कुरा सुन्छन् तर सुनिसकेपछि बिर्सन्छन् । हामीले पनि धेरै पटक उद्योग सङ्गठन, मोरङ व्यपार सङ्घ, मार्फत नेता, मन्त्री र प्रधानमन्त्रीहरुलाई आफ्नो गुनासा र रोदन सुनायौँ । तर सुनवाइ भएनन् । सुने पनि कार्यान्वयन गर्न टेरेनन् । यसैले मलाई लाग्यो राजनीतिमा पहुँच नभई हुँदैन । पहुँच बनाउनुपर्छ । सधैँ राजनीतिबाट भागेर तर्केर हुँदैन । सधैँ राजनीतिलाई गाली गरेर मात्र पनि हुँदैन । यसैले म राजनीतिमा लागेँ । सुरुमा एउटा पार्टीबाट संविधान सभाको सदस्य पनि भएँ । तर मैले त्यो पार्टीमा धेरै विकृति देखेँ । यसैले आफ्नै नयाँ पार्टी खोलेँ । आर्थिक समृद्धिको नारा दिएर नयाँ भिजन ल्याएँ । धेरै मन पराए । तर सङ्गठन नभएकाले सिट जित्न सकेन । त्यसपछि मैले आर्थिक समृद्धिका लागि नेकपा एमालेको नीतिलाई मन पराएँ । पार्टी मर्ज गरे । मलाई एमालेले उच्च सम्मान दिएको छ । म एमालेको केन्द्रीय सल्लाहकार छु । मैले पार्टीलाई र मलाई पार्टीको धेरै खाँचो छ । सहयोग आदानप्रदान भइरहेको छ । म अहिले पार्टीमा रहेर पनि आर्थिक गतिविधिमा लागेको छु ।

नेपालको राजनीतिमा धेरै विकृति छन् । बन्द, हड्ताल, चन्दा आतङ्क आदि विकृति हुनसक्दैन । म अहिले पनि त्यही भनिरहेको छु । नेपालमा डोमोक्रेसी त छ तर हामीले गलत ढङ्गले उपयोग गरिरहेका छौँ । म बारम्बार चनाइना गइरहन्छु । त्यहाँ म सोध्ने गर्छु, तपाईंहरुले के कति डेमोक्रेसीको प्रयोग गर्न पाउनु भएको छ ? तर चाइनिजहरु रिसाउँछन्, हामीलाई चाहिएको छैन अराजक डेमोक्रेसी भन्छन । उनीहरु आप्mनो देशका व्यवस्थासँग खुसी भएको बताउँछन् । देशको प्रगति भएकोमा गर्व गर्छन् । नेपालमा पनि राजनीतिको दुरुपयोग रोक्न सक्यौँ भने देशले चाँडो आर्थिक फड्को मार्छ भन्ने मलाई विश्वास छ ।

म उद्योगी भए पनि पूर्णकालीन राजनीतिमा लागिसकेका व्यक्त्ति हुँ । मेरो लक्ष्य मेरो देश बनाउने हो । म किन पनि सन्तुष्ट छु भने मेरो भिजन करेन्ट छ । म देशको जिम्मेवार नागरिक हुँ । कतै डगेको छुइन । कतै धोका दिएको हैन । अझै धेरै आर्थिक गतिविधिसँग राजनीतिमा सकृय भएर देशको सेवा गर्ने मेरो लक्ष्य हो । म मेरो सुन्दर र शान्त देशलाई विश्वमा आर्थिक समृद्धिको देश भनेर चिनाउन चाहन्छु । विश्वमा नेपालजस्तो सुन्दर र शान्त देश कतै छैन, आर्थिक रुपले समृद्धशाली छ भनेर गर्वले भनिरहन पाऊँ मेरो गनतव्य त्यही हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप