बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्याच प्रिभ्यू : बेल्जियम भर्सेस रुस – नम्बर एक टोलीलाई रुसको चुनौति

शनिबार, २९ जेठ २०७८, १४ : १८
शनिबार, २९ जेठ २०७८

फिफा वरियतामा विश्वको पहिलो नम्बरमा रहेको बेल्जियमले नेपाली समयअनुसार मध्यराति १२ः४५ मा रुसको सामना गर्दैछ । गत संस्करणमा वेल्ससँग आश्चर्यजनक रुपमा पराजित भएर क्वाटरफाइनलबाट बाहिरिएको बेल्जियम यसपटक आफ्नो स्तर प्रमाणित गर्ने मौका कुरेर बसेको छ । रुससँग खेलेका पछिल्ला ७ खेलमध्ये बेल्जियम कुनैमा पनि हारेको छैन । तर आजको खेल सेन्टर पिटर्सवर्गमा हुने भएकाले रुसलाई घरेलु मैदानको लाभ हुनेछ ।

सम्भावित लाईनअप

बेल्जियम :  कोर्टोइज, एल्डरवाईरेल्ड, भोर्टोङहेन, देनायर म्युनिइर, डेनडोनकर, टिलीम्यान्स, टी हाजार्ड, मर्टिन्स, लुकाकु, डोकु ।

रुस : सुनिन, मारियो फर्नान्डेस, बेरिनोभ, झिकियो, सिमेनोभ, काराभायभ, जोब्निन, ओज्डोएभ, गोलोभिन, मिरानचुक, डिजुवा ।

पछिल्लो प्रदर्शन

पछिल्ला ६ खेलमध्ये बेल्जियम कुनैमा पनि पराजित भएको छैन । उसले ४ खेलमा जित हासिल गरेको छ भने २ खेल बराबरी खेलेको छ । यो खेलमात्र नभएर युरो २०२० नै जित्नसक्ने टोलीका रुपमा बेल्जियमलाई लिइएको छ । तर, स्टार खेलाडीहरुको अनुपस्थितिले उसलाई समस्या पर्नसक्छ । पूर्ण फिट हुन नसकेका इडेन हाजार्डलाई सायद पहिलो खेलमा प्रशिक्षक रोबर्टो मार्टिनेजल खेलाउने छैनन् । यता, केभिड डि ब्रुयना र एक्सेल विट्सेल पनि घाइते छन् ।

बुल्गेरियाविरुद्धको वार्म अप खेलमा रुसले १–० को जित निकालेको थियो । यस खेलपछि रुसी प्रशिक्षक स्टानिसलाभ चेर्चिसोभले आफ्नो टोली युरो सुरु हुनासाथ शारीरिक रुपमा फुर्तिलो देखिने बताएका थिए । रुसका लागि यो महत्वपूर्ण हुनेछ । किनकी, उत्कृष्ट अवस्थामा रहेका बेला रुस काउन्टर एट्याकमा खतरनाक उत्रनसक्ने टोली हो । र, घरेलु मैदानमा उसले उसले आफ्नो पूरा ताकत लगाउनेछ ।

प्रशिक्षक के भन्छन् ?

रोबर्टो मार्टिनेज, बेल्जियम : ठूला प्रतियोगितामा सुरुआती खेल प्राय ः अति कठिन हुन्छ । तपाई प्रतियोगितामा मानसिक र शारिरीक दुबै रुपमा तयार भएर जानुपर्छ । यो साँच्चैको परीक्षा हो किनकी हामीलाई यो टोली राम्रो छ भन्ने थाहा छ र समर्थकहरुले पनि हृदयदेखि समर्थन गरिरहेका छन् ।

स्टानिसलाभ चेर्चिसोभ, रुस : हामीले छनोटमै उनीहरुसँग प्रतिस्पर्धा गरिसकेका छौं । उनीहरु निकै राम्रो, महत्वाकांक्षी र बलियो टोली छन् । उनीहरुसँग महान् प्रशिक्षक र उत्कृष्ट खेलाडी छन् । उनीहरु पछिल्लो केही वर्ष फिफा वरियताको शीर्ष स्थानमा छन् । बेल्जियमविरुद्धको हाम्रो पछिल्लो खेल निकै खुला र उत्कृष्ट थियो, जसले समर्थकहरुलाई प्रसन्न बनाउथ्यों । यसपटक पनि हामी पुरै उत्साहका साथ प्रतिस्पर्धा गर्नेछौं ।

प्रतियोगिताअन्तर्गत आज ६ः४५ मा  समूह एका दुई देश वेल्स र स्वीटजरल्यान्ड तथा ९ः४५ मा समूह बीअन्तर्गतका फिनल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप