शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा गरेको भाकल पूरा गर्न प्रदेशमा सांसदको बलि चढाउने गरिन्छ : मुख्यमन्त्री गुरुङ

बिहीबार, २७ जेठ २०७८, १७ : १६
बिहीबार, २७ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौंमा गरिने भाकलका आधारमा प्रदेशहरूमा सांसदको बलि चढाउने गरिएको बताएका छन् । प्रदेशसभामा विश्वासको प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले कुन प्रदेशमा कसको बलि चढाउने भनेर काठमाडौंमा भाकल हुने र प्रदेशमा सोही अनुसारको बलि चढाउने गरिएको बताए ।

उनले गण्डकी प्रदेशमा त्यस प्रकारको नियति नदेखियोस् भन्ने कामना पनि गरे । उनले भाषण गरेको भरमा व्यवस्था विघटन नहुने दावीसमेत गरे । उनले भने, ‘त्यस्तो कुरा गर्ने हो भने परिवर्तन नरुचाएको शक्तिलाई बल पुग्छ, जनतामा निराश आउन सक्छ ।’ संविधानका प्रस्तावनामा भएका विषयहरु कसैले चाहेर पनि हटाउन वा खोस्न नसक्ने उनले प्रस्ट पारे ।

उनले प्रदेशसभालाई अरुले जे भन्यो त्यही बोल्ने ‘मैना चरीको बथान’ जस्तो बनाउन नहुने पनि जिकिर गरे । ‘हाम्रो कृयाकलापका कारण, अभिव्यक्त गर्ने विषयका कारण प्रदेशसभालाई मैनाचरीको बथानजस्तो बनाइरहेका छौं,’ उनले भने, ‘हामीबीच तिक्तता जति बढ्दैछ, हामी मैना चरीजस्तै हुन गइरहेका छौं ।’

उनले नेपालको राजनीतिक इतिहासमा हरेक एक÷डेढ दशकमा ठुला राजनीतिक घटना एवं परिवर्तन भएको उल्लेख गर्दै उनले जनताको बलमा स्थापित भएको लोकतान्त्रिक व्यवस्थालाई स्थिर हुन नदिन अनेक चलखेल हुने गरेको बताए । २०१५ सालमा काँग्रेस ६९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेर दुई तिहाईको सरकार बनाएको पार्टीमा पनि वीपी कोइरालाको नेतृत्व विरुद्ध सुवर्ण शमशेरहरुले निर्वाह गरेको भूमिकाले ठुलो दुर्घटना निम्त्याएको उनले बताए ।

बहुदलीय व्यवस्था स्थापित भइसकेपछि पहिलो जननिर्वाचित सरकार आफ्नै दलमा सुविधा जनक बहुमत हुँदाहुँदै पनि सत्तारुढ दलकै सांसद विभाजित भएर आफ्नो पार्टीको नेतृत्वको सरकार ढालेको उनले स्मरण गराए ।

२०७४ सालको निर्वाचनपछि वाम गठबन्धनले झण्डै दुई तिहाई बहुमतसहित सरकार गठन गरे पनि तीन वर्ष नहुँदै त्यसलाई अस्थिर बनाउन अदृष्य शक्तिले चलखेल गरेको उनले बताए ।

प्रदेशमा राजनीतिक स्थिरता कायम राख्नका लागि आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिनुपर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप