बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञा भवनमा देउवा र ट्रम्पको देउसी भिडन्त (फोटो फिचर)

रुद्राक्षको मालामा प्रचण्ड बने दर्शक
बुधबार, ०१ कात्तिक २०७४, २१ : ४२
बुधबार, ०१ कात्तिक २०७४

रुद्राक्षको मालामा प्रचण्ड बने दर्शक 

काठमाडौं– यसवर्षको सिस्नुपानी देउसी भैलो कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भिडन्त भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा प्रज्ञा सिस्नुपानी देउसी कार्यक्रममा उनीहरु दुबैले एक अर्कालाई घोँचपेच गरे । 

मञ्चमा देउवा बोलिरहेका बेला दर्शकदीर्घाबाट ‘दिस इज फेक...दिस इज फेक...नमस्ते नेपाल भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रवेश गरे । उनले दर्शक दीर्घामा रहेका विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुसँग हात मिलाउँदै मञ्चमा पुगे । मञ्चमा रहेका प्रधानमन्त्री देउवालाई हात मिलाएर पर हुत्यादिए ।

देउवाले देशको प्रधानमन्त्री जस्तो मान्छेलाई पर हुत्याउने यो कस्तो मान्छे भनेर ट्रम्पको आलोचना गरे । ट्रम्पले पनि देउवका लागि नेपालीमा गीत गाए–तिम्रो बाउलाई सलाम छ, तिम्रो सासुलाई राम्रो छ, स्वास्नीलाई एनजीओ छ भन्दिनु....

ट्रम्पले नेपालीलाई सहयोग गर्न मेक्सिकोमा पर्खाल नलगाउने बताए, उनले पर्खालबाट नेपाली हाम्फाल्दा फान्ट च्यातिएर प्वाल पर्ने भएकोले यस्तो गर्न लागेको बताए । 

ट्रम्पले भारत भ्रमणमा यो पटक सकिन, अर्को पटक संविधान संसोधन गर्छु भनेर भन्ने नेपालको तपाई कस्तो प्रधानमन्त्री भनेर प्रश्न गरे । त्यसपछि देउवा बसेको ठाउँबाट उठेर रिसाँउदै ट्रम्पतिर अघि बढे । ट्रम्पले भने–दिस इज फेक...

देउवाले भने–तेरो बाजे फेक । यसले के भन्न खोजेको भन्दै देउवा जंगिए । 

ट्रम्पले आफूलाई नेपाल दिए पाँच बर्षमा अमेरिका जस्तो बनाईदिने बताए । यता देउवाले भने आफूलाई अमेरिका दिए, नेपाल जस्तो बनाईदिने बताँउदा हलमा हाँसोले गुञ्जियो ।   

देउवा र ट्रम्पले देउसी भैलो समेत खेल्दै एक अर्कालाई छेडखान गरे । वास्तवमा उनीहरु नक्कली ट्रम्प र देउवा थिए । प्रधानमन्त्री देउवाको रुपमा थिए कलाकार सिताराम कट्टेल धुर्मुस र डोनाल्ड ट्रम्पको भेषमा थिए कलाकर मनोज गजुरेल । 

सिस्नुपानी नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर हरेक बर्ष गर्दै आइरहेको सिस्नुपानी प्रज्ञा देउसी भैलो कार्यक्रममा यसबर्ष नेपालका प्रधानमन्त्री र अमेरिकाका राष्ट्रपतिलाई प्रस्तुत गरेको थियो । हाँस्य कलाकार मनोज गजुरेल दुरुस्तै ट्रम्प र सिताराम कट्टेल देउवाको भेषमा हाँस्य ब्यङ्ग्य प्रस्तुती दिएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री देउवा भने उपस्थित थिएनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सपरिवार, पूर्व प्रधानमन्त्रीहरु,  मन्त्री जनार्दन शर्मा, विभिन्न दलका नेताहरु सहभागी थिए । 

यसबर्षको देउसीमा सिस्नुपानीका कलाकारहरुले राजनीतिक पार्टीले डनलाई चुनाव टिकट दिएकोदेखि नेपाल आयल निगमका प्रमुख गोपाल खड्कासम्मलाई ब्यङ्ग्य गरे ।

सय दिनमा सय काम गर्छु भनेका काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यलाई निदाएर बसेको भन्दै मेट्रो रेल चढेर देउसी खेल्न आँयौँ भन्दै ब्यङ्ग्य गरे ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, नयाँ शक्तिका डा. बाबुराम भट्टराई, मधेश केन्द्रीत दलका नेताका साथै भरतपुरमा मत पत्र च्यातेको बिषयसम्म ब्यङ्ग्य गरे ।

सिस्नुपानीका दर्शक बनेका माओवादी अध्यक्ष प्रचण्ड भने रुद्राक्षको मालामा देखिए । प्रचण्डसहित एमाले नेताहरु तथा पूर्व प्रधानन्यायाधीस सुशीला कार्कीसमेतले रुद्राक्षको माला पहिरिएर दर्शक दीर्घामा उपस्थित थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप