बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भदौमा महाधिवेशन गर्न पूर्ण प्रतिबद्ध छु : सभापति देउवा

बुधबार, २६ जेठ २०७८, १७ : १८
बुधबार, २६ जेठ २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमा पार्टीको महाधिवेशन गर्न पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । बुधबार पेस वक्तव्य जारी गर्दै देउवाले महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताए ।

काँग्रेसले आगामी भदौँ ७-१० गतेका लागि १४ औं महाधिवेशनको मिति तोकेको छ । सोही कार्यतालिका अनुसार क्रियाशील सदस्यताबारे काम सम्पन्न नभएपछि काँग्रेस नेताहरुले महाधिवेशन हुने आशंका व्यक्त गर्न थालेका थिए ।

यसलाई प्रस्ट पार्दै देउवाले विज्ञप्तिमा लेखेका छन्, '२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु । महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु ।'

पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति उचित नभएको उनको भनाइ छ । 

पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएको भन्दै यसका लागि सबै जिम्मेवार हुनुपर्नेमा देउवाको जोड छ ।

 

'हामीसँग अब बढी समय छैन । आषाढ र श्रावण दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन् । पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन्,' उनले भने ।

कांग्रेसको महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न पार्टी पङ्क्तिलाई देउवाको आह्वान  छ ।

कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि देउवाले अनुरोध गरे ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप