शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन

बुधबार, २६ जेठ २०७८, १६ : ०८
बुधबार, २६ जेठ २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको आज सम्पन्न ८८ औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र  वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए ।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नया पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । उनले भने, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौँ ।’ उनले सरकारले नया नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउँदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढार्यने जानकारी दिए । उनले भने, ‘पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौँ, ती मध्य केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौँ ।’

अधिकांश पुस्तक प्रकाशक र विक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाइ गरेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप