शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

फुर्सद लिएर बस्न मुख्यमन्त्री राईलाई विपक्षी दलको सुझाव

बुधबार, २६ जेठ २०७८, १४ : १३
बुधबार, २६ जेठ २०७८

प्रदेश १ को विपक्षी दल काँग्रेसले  सरकार चलाउन र जनताप्रति जिम्मेवार बन्न नसक्ने भए फुर्सद लिएर बस्न मुख्यमन्त्री शेरधन राईलाई सुझाव दिएको छ ।

बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेसका सांसद केदार कार्कीले महामारीमा समेत जनअपेक्षा अनुसार सरकारले केही काम गर्न नसकेको आरोप लगाए ।  
उनले प्रदेश १ को सरकारको नेतृत्व समालिरहेका मुख्यमन्त्री राईले महामारीका बेला आश्वासनको पुलिन्दा मात्र बाँडेका पनि दाबी गरे ।

 “सरकार आफू काम गर्न नसक्ने अवस्थामा पुगेपछि सरकारले विपक्षीका कारण काम गर्न नसकेको भन्ने आरोप लगाउने गरेको छ । मुख्यमन्त्री आफैँ सदनमा उभिएर झुट बोलिरहनुभएको छ । बरु, आफू काम गर्न सक्नु हुन्न भने आफ्नै दलको काम गर्न सक्नेलाई सरकारको नेतृत्व गर्न दिनुहोस्,” उनले भने ।

जनतालाई चाहिएका बेला पनि सरकार नभेटिएको भन्दै उनले प्रदेश–१ का मन्त्रीहरुका लागि कार्यालय र आवास बनाइए पनि सबै मन्त्री काठमाडौंमै व्यस्त हुने गरेको बताए । उनले भने, “मन्त्रीहरु काठमाडौं जान व्यस्त हुनुहुन्छ । सरकार कहाँ छ ? मुख्यमन्त्रीज्यूलाई पनि गाली गर्नु हुन्न, मधुमास मनाउन पाउन'पर्छ । जनता मर्दै जाने, सरकार लास गन्दै जाने गर्दै छ ।”

मुख्यमन्त्री राईले सांसद र जनतालाई ठगेको उनको आरोप छ । कोरोनाको उपचारका लागि छुट्ट्याएको ५० करोड रकम कहाँ गयो भन्दै उनले निजी अस्पतालमा संक्रमितले चर्को मूल्य चुकाउनुपर्ने अवस्था रहेको जिकिर गरे। 
सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसकेको भन्दै जनताले पाउने तथा महसुस गर्ने गरी बजेटको किताब बोकेर आउन उनले सुझाव दिए । 

प्रदेशसभामा बुधबारदेखि विनियोजन विधेयक, २०७८ का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप