बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वैद्य माओवादीका शीर्ष नेताहरु प्रत्यक्षमा लड्ने, गजुरेलले भने– बहिष्कार गरेर जनतामा पुग्न सकिएन

बुधबार, ०१ कात्तिक २०७४, १७ : २९
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले चुनाव बहिष्कार गरेर जनतामा पुग्न नसकिने भएकाले चुनाव उपयोग गर्न लागिएको बताएका छन् । 

पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा गजुरेलले आफ्नो विचार जनतामा पुर्याउनकै लागि चुनावको उपयोग गर्न लागिएको बताए । गजुरेलले आफ्नो पार्टीका राष्ट्रिय सम्मेलनले दिएको म्याण्डेटअनुसार पार्टीका लिडरहरु नै चुनावमा होमिने बताए । तर को कहाँबाट लड्ने सबै निश्चित भइ नसकेको उनले बताए । 

प्रत्यक्षतर्फको निर्वाचनमा मोर्चामा आवद्ध शीर्ष नेताहरुलाई नै उम्मेदवार बनाउने नीतिगत निर्णय गरिएको गजुरेलले बताए । उनले बहिष्कार गर्दा पार्टी नै प्रतिबन्ध लाग्ने र जनतामाझ विचार लैजान नपाइने भएकाले निर्वाचनको उपयोग गर्दै गर्दै आफ्नो विचार जनतामाझ लैजान चाहेको पटक पटक दोहोर्याए ।

उनले आफ्नो पार्टीले चुनाव चिन्ह नपाउँदा पनि स्वतन्त्र चिन्ह लिएर स्थानीय निर्वाचनमा भाग लिएको उल्लेख गर्दै अहिले चुनाव चिन्ह ‘मुठ्ठी’ पाएको पनि जानकारी दिए । गजुरेलले आफ्नो मोर्चाको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको घोषणा पत्र केही दिन भित्र सार्वजनिक गर्ने पनि जानकारी दिए ।

अन्य दलहरुले गठबन्धन गरी चुनावी तालमेल गरिरहँदा गजुरेलले भने कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासँग तालमेल नगर्ने नीतिगत निर्णय नै भएको बताए ।

नयाँ जनवादी क्रान्तिलाई आत्मसाथ गर्ने दल तथा मोर्चासँग भने तालमेल हुन सक्ने उनले बताए । पार्टी एकता प्रक्रिया नै अघि बढाएको मोहनविक्रम नेतृत्वको मसालले कांग्रेस वा एमाले गठबन्धनसँग तालमेल गरेमा एकता प्रक्रिया अघि नबढ्ने गजुरेलले बताए । ‘जसलाई हामी प्रतिक्रियावादी भनेका छौं, त्यही पार्टीसँग तालमेल गर्ने पार्टीसँग हाम्रो पार्टी एकता हुनै सक्दैन ।’– गजुरेलले भने ।  

देशभक्त जनगणतान्त्रिक मोर्चाको ब्यानरमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समय पार्टी एकतामा आएका परि थापा मात्रै उपस्थित थिए भने पार्टीका अन्य नेताहरु कार्यक्रममा देखिएनन् । दुई दिनअघि पार्टी अध्यक्ष वैद्यले पत्रकार सम्मेलन गरी आफ्नो पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चालाई चुनावमा सघाउने बताएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप