बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाकै बीच औषधिजन्य वस्तु मात्र साढे ६ अर्ब रुपैयाँ बराबरको भित्रियो

अन्य दैनिक उपभोग्य वस्तुको के छ अवस्था ?
मङ्गलबार, २५ जेठ २०७८, १४ : ००
मङ्गलबार, २५ जेठ २०७८

गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका बीच झण्डै साढे ६ अर्ब रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । सोही तथ्याङ्कलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको रिपोर्ट अनुसार गत वैशाख १६ गतेदेखि जेठ २४ गतेसम्म कुल ६ अर्ब ४५ करोड २२ लाख ५८ हजार रुपैयाँ बराबरको औषधिजन्य पदार्थ आयात भएको हो ।

जसमध्ये ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको तयारी औषधि र बाँकी एक अर्ब ५० करोड रुपैयाँ बराबरको कच्चा औषधिजन्य पदार्थको आयात भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, अन्य दैनिक उपभोग्य वस्तु, खाद्यान्न दाल, चामल, नून, तेल, फलफूल तरकारी, दुग्धजन्य पदार्थसँगै अत्यावश्यकीय पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासको समेत सो समयमा उल्लेख्य रुपमा आयात भएको मन्त्रालयको भनाइ छ ।

कुन वस्तु कति आयात भए ?

मन्त्रालयका अनुसार अध्यावधिक समयमा मात्र भारतबाट कुल २ लाख ६८ हजार ४०५ मेट्रिक टन खाद्यान्न आयात भएको छ । यस्तो आयात निषेधाज्ञाको सुरुवाती १५ दिन अर्थात् जेठ १६ गतेदेखि ३१ गतेसम्म १ लाख ४१ हजार ५५ मेट्रिक टन खाद्यान्न आयात भएकोमा जेठको पहिलो हप्ता ४८ हजार ५३७ मेट्रिक टन, दोस्रो हप्ता ३४ हजार ३७८ मेट्रिक टन र तेस्रो हप्ता ३७ हजार ६५० मेट्रिक टन आयात भएको वाणिज्य आपूर्ति सचिव अर्जुन प्रसाद पोखरेलले जानकारी दिए ।

त्यस्तै, सो अवधिमा २९ हजार ८४५ मेट्रिक टन गेडागुडी, ४६ हजार १४५ मेट्रिक टन तरकारी, ३१ हजार ४०४ मेट्रिक टन फलफूल र २२७ दशमलव ०३८ मेट्रिक टन दुग्धजन्य पदार्थ समेत आयात भएको पोखरेलको भनाई छ ।

यता, पेट्रोलियम पदार्थ तर्फ भने, अध्यावधिक समयमा कुल ४६ हजार ९७८ मेट्रिक टन खाना पकाउने एलपी ग्यास र १ लाख ३२ हजार ४०८ किलोलिटर डिजेल र ४२ हजार ६६२ किलोलिटर पेट्रोल आयात भएको छ ।

के छ मौज्दात (स्टक) को अवस्था ?

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हाल सरकारी निकायको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग भएको खाद्यान्नको मौज्दात तथ्याङ्क अनुसार कुल २ लाख ६९ हजार ९५ मेट्रिक टन खाद्यान्न मौज्दात रहेको छ ।

जसमध्ये, १ लाख ९ हजार १६९ दशमलव ५३ मेट्रिक टन चामल (२४ दुर्गम जिल्लासहित सुगम जिल्लाहरुको तथ्याङ्क), १ लाख ४७ हजार ८४७ दशमलव ०४ मेट्रक टन धान, १२ हजार ७९ दशमलव ०८ मेट्रिक टन गहुँ मौज्दात रहेको छ ।

यसबाहेक सरकारले तत्काल बोलपत्रको माध्यमबाट ५० हजार मेट्रिक टन चामल समेत खरिद गरिरहेको मन्त्रालयले जनाएको छ ।

नुन–चिनी

मन्त्रालयका अनुसार हाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग आयोडिनयुक्त नून १ लाख ५३ हजार ९६४ दशमलव ७३ मेट्रिक टन मौज्दात रहेको छ । यसले आयात ठप्प भएको अवस्थामा समेत झण्डै १० महिनाको बजार माग धान्न पुग्ने मन्त्रालयको भनाई छ । यद्यपि, निषेधाज्ञामा समेत नुनको आयात नरोकिने मन्त्रालयले जनाएको छ ।

यता चिनीको मौज्दात भने साल्टसँग जम्मा ६९९ मेट्रिक टन मात्र रहेको छ । बाँकी निजी क्षेत्रसँग २१ ह्जार ५७ मेट्रिक टन चिनी मौज्दात रहेकाले बजारमा चिनीको खासै समस्या नपर्ने मन्त्रालयको भनाई छ ।

पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यास

नेपाल आयल निगम लिमिटेडका अनुसार निषेधाज्ञाको समयमा समेत पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको आयातमा कुनै अवरोध आएको छैन । निरन्तर आपूर्ति भइरहेका छन् । यो समयमा निगमको मोतिहारी–अमललेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट समेत डिजेल नियमित रुपमा आयात भइरहेको छ ।

मन्त्रालयका अनुसार हाल निगमसँग ४७ हजार ३८५ किलोलिटर पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन) मौज्दात रहेको छ ।

गत जेठ १ गतेदेखि २३ गतेसम्म पेट्रोल १९ हजार ३३२ किलोलिटर, डिजेल ९० हजार ४७९ किलोलिटर, मट्टीतेल १ हजार २९२ किलोलिटर र हवाई इन्धन १५२ किलोलिटर आयात भएको निगमले जनाएको छ । सो अवधिमा १५ हजार ६२४ मेट्रिक टन खाना पकाउने एलपी ग्यास समेत आयात भएको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप